प्याब्सन मोरङको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित

विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध निर्वाचित भएकी छन् । प्याब्सन मोरङको १५औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पहिलोपटक महिला नेतृत्व पुगेको हो ।

२०४७ सालमा प्याब्सन स्थापना भएयता महिला अध्यक्षमा कोहि पनि निर्विरोध निर्वाचित भएको थिएन । यसअघि कार्यवाहक भएर सावित्री पराजुलीले अध्यक्षको काम चलाएकी थिइन् । निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुन् ।

विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलकी प्रिन्सिपल सुब्बाले निजी विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधैँ क्रियाशील भएर लागिपर्ने बताएकी छन् ।

शनिबार सम्पन्न भएको प्याब्सनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल निर्वाचित भएका छन् । अध्यक्षमा सुब्बा र वरिष्ठ उपाध्यक्षमा सुवाल निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदाधिकारीको चार पदमा निर्वाचन भएको छ । दुई जना उपाध्यक्षको पदमा तीन जनाले उम्मेदवारी दिएका थिए ।

उपाध्यक्षमा भक्तराज सुब्बाले १ सय ७ मत र सुरेन्द्र सुवेदीले १ सय ३१ मत ल्याएर विजयी भए । इन्द्र राई ९८ मत ल्याएर उपाध्यक्षमा पराजित भए । सचिवमा जगतबहादुर बस्नेत ९९ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी देवी सिटौलाले ७९ मत ल्याए भने कोषध्यक्षमा विष्णु डंगोलले १ सय ३ मत ल्याएर निर्वाचित भए । त्यस्तै उनका प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ६८ मत ल्याए । सह-सचिवमा मनोज रेग्मी र विकर्ण कार्की निर्विरोध भए । सह-कोषाध्यक्षमा गोलाप्रथाबाट भुपाल बस्नेत निर्वाचत भएका छन् ।

खुल्ला सदस्यहरूमा रुद्र थापा, दिपकप्रसाद घिमिरे, कमलप्रसाद तिम्सिना र मणिराज भट्टराई निर्विरोध भएका छन् । प्याब्सनमा पालिका तर्फबाट पनि १/१ जना सदस्य चयन हुने गर्दछ । पालिकातर्फको लेटाङबाट भोलानाथ पाण्डे, सुनवर्सीदेखि कसराज राजवंशी, उर्लाबारीदेखि रियन्द्रबहादुर थापा, मिक्लाजुङदेखि अमित खड्का निर्विरोध भए । यस्तै पथरी शनिश्चिरेदेखि राजु तिम्सिना, रतुवामाइदेखि छविलाल बास्कोटा, रंगेलीदेखि जीवन खनाल, विराटनगरदेखि सीएम श्रेष्ठ, कटहरीदेखि सिताराम विक निर्विरोध सदस्यमा निर्वाचित भएका छन् ।

बेलबारी र सुन्दरहरैचाबाट सदस्य छनौटमा निर्वाचन भयो । बेलबारीका तेजबहादुर खत्रीले १ सय २२ मत ल्याएर निर्वाचत भए । सुन्दरहरैचाका अर्जुन ढाकालले १३२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी गणेशप्रसाद दाहालले ४७ मत मात्र पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *