चलचित्र समीक्षा : पुष्पा
काठमाडौँ । चलचित्र ‘पुष्पा – द राइज पार्ट-१’ प्रदर्शनमा आएको छ । बहुमूल्य चन्दनलाई सामुद्रिक मार्गबाट चीन तस्करी गरिन्छ । उक्त चन्दन अन्य देशमा लगी भायोलिन बनाएको दृश्यसँगै चलचित्र सुरु हुन्छ । त्यस लगत्तै कथा फ्ल्यास ब्याकमा जान्छ ।
भारतको आन्ध्र प्रदेशका पहाडबाट ठूलो मात्रामा चन्दनको काठ काटेर तस्करीका लागि चेन्नई पठाइएको देखाइन्छ । यो अवैध व्यापारमा काठ काट्ने मजदुरदेखि व्यापारी, बिचौलियासँगै सरकार-प्रशासन पनि संलग्न छन् ।
पुष्पराज (अल्लु अर्जुन) यस अवैध व्यवसायमा मजदुरको रूपमा देखिन्छ । उसले तीन दाजुभाइ भएको रेड्डी परिवारलाई भेट्छ । जुन परिवारका एक जनाले शासन चलाउँछ, अर्कोले मोजमस्ती गर्छ भने तेस्रोले व्यापारको रेखदेख गर्छ । पुष्पराज बिस्तारै रेड्डी परिवारसँग सङ्गत बढाउँदै आफ्नो विचार र कामले प्रभावित पारेर चार प्रतिशत सेयर होल्डर बन्छ ।
कथा अगाडि बढ्दै जाँदा, उसले डरलाग्दो कोन्डा गिरोहलाई भेट्छ र त्यसपछि एमएलएस समूहको सङ्गतमा पर्छ । यो अवैध व्यवसायमा पुष्पराज अगाडि बढ्दै जाँदा उसले धेरै समस्या र कठिनाइको सामना भने गरिरहनुपर्छ । अर्कोतर्फ, ऊ एक मजदुरकी छोरीसँग प्रेममा परेको छ । यो दुई फरक बाटामा उसले भोगेका कठिनाइ थाहा पाउन चलचित्र हेर्नु पर्ने हुन्छ ।
झन्डै ३ घण्टा लामो चलचित्रमा एक्सनसँगै प्रेम‚ रोमान्स र सरल र सटीक संवादहरू छन् । अल्लु अर्जुनदेखि रश्मिका मन्डन्ना र अन्य कलाकारले आफ्नो अभिनय कौशल देखाएका छन् । सबैले आफ्नो चरित्रलाई पर्दामा राम्रोसँग प्रस्तुत गरेका छन् ।
अर्जुनले जसरी एउटा काँधमाथि उठाउने शैली, बढी ल्यांग्वेज र दाह्री घुमाउने शैलीलाई फिल्मभर कायम राखेका छन्, जुन प्रशंसनीय पनि छ । त्यस्तै रश्मिका मन्डन्ना आफ्नो प्रस्तुति र नृत्यबाट मनोरञ्जन दिन सफल छिन् । रेड्डी ब्रदर्सको अभिनय होस् वा पुलिस अफिसर भंवर सिंह शेखावतको भूमिका निर्वाह गरेका फहद फासिलको अभिनय कौशल राम्रो छ ।
धमाकेदार संवादले भरिपूर्ण चलचित्र भन्न सकिन्छ ‘पुष्पा’लाई । चलचित्रमा पुष्पराजको, ‘पुष्पा नाम सुनकर फ्लावर समझा है क्या ? फ्लावर नहीँ, फायर है ।’ जस्ता संवादलाई दर्शकले मन पराएका छन् । लोकेसनको कुरा गर्दा जङ्गल, सडक, समुद्र आदिको स्थान कथाअनुसार नै देखाइएको छ । संगीत पनि राम्रो छ तर गुनगुनाउन मिल्ने कुनै गीत छैनन् । दैनिक भाष्करबाट