प्रतिनिधिसभा बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍न लागेको हो ।

बैठकमा पेस गर्ने कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकका लागि सम्भावित चार कार्यसूची तय गरिएको छ ।

संसद् सचिवालयका अनुसार सम्भावित कार्यसूचीमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्र प्रसाद बडुले ‘यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछ । यस्तै सांसद प्रेम सुवालले उक्त दुवै अध्यादेश ‘अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने । तर नेकपा एमालेले भने निरन्तर प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ ।

यसैबीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भने आजको बैठकको सम्भावित कार्यसूचीमा छैन । संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले चल्न दिनेमा शंका छ । एमालेले दोस्रो पटक संसद् पुनर्स्थापना भययता हरेक बैठकमा अवरोध गर्दै आएको छ ।

आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदहरूलाई निष्कासन नगरेसम्म संसदको अवरोध जारी राख्ने एमालेको अडान छ । तर, सभामुख सापकोटा भने नेपाललगायतका सांसदहरूलाई कारबाहीको सूचना टाँस्न तयार छैनन् ।

पूर्व एमाले सांसद भएपनि हाल उनीहरूले नयाँ पार्टी एकीकृत समाजवादी गठन गरिसकेका छन् । सोही पार्टीको समर्थनमा बहुमत जुटाएर कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *