कांग्रेस कति नयाँ कति पुरानो ?

काठमाडौँ । पटक पटक सार्दै आएको महाधिवेशन सम्पन्न गरेकाले होइन, महाधिवेशनबाट आएको नयाँ अनुहारहरूका कारण अहिले नेपाली कांग्रेस चर्चामा छ । मोटामोटी मत परिणाम आइसक्दा कांग्रेसीहरू हौसिएका र अन्य दलहरू धेरथोर हच्किएका छन् । वर्षौँदेखि नेतृत्वमा पुस्तान्तरणको बहस गर्दै आएकाहरूका अनुहार केही उज्याला देखिन्छन् । रोचक त के छ भने‚ सभापतिमा शेरबहादुर देउवा दोहोरिनुभन्दा बढी चर्चा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा चुनिनुले पाएको छ । उसो त पदाधिकारीमा यी दुईमात्र होइन‚ उपसभापति सहमहामन्त्री र केन्द्रीय सदस्यमा समेत ‘फ्रेस अनुहार’ले अर्थपूर्ण मत पाएका छन् ।

उधुमै खुसी हुनुपर्ने अवस्था हो त ?
तर विधानतः सभापति नै हाबी हुने संरचना अनि सभापतिकै बहुमत रहेको टिम आएकाले त्यस्तो उधुमै उत्साही हुनुपर्ने परिणाम भने होइन । अपितु, कांग्रेसमा पुस्तान्तरणको बहस अब व्यवहारतः कार्यान्वयनमा अगाडि बढेको भने सत्य हो । केन्द्रीय कार्यसमितिमा देउवा बहुमतमै भए पनि कांग्रेसको ‘परफर्मेन्स’ यसअघिकै जस्तो बोधो नहुने आशा गर्ने ठाउँहरू देखिन्छन् । सभापतिमा देउवा नै दोहोरिए पनि अरू मुख्य पदमा नयाँ पुस्ताका नेताहरू आएका छन् । देउवा पक्षबाट नै जित्नेहरू पनि केहीबाहेक नयाँ छन् । भलै, नयाँ हुनुमात्र परिवर्तनको एकमात्र सूचक भने होइन । उनीहरूको सोच र शैलीमा नयाँपन आउँछ कि आउँदैन भन्ने कुरा मुख्य हो ।

यो पनि : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

सभापतिको सहयोगी पद मानिने उपसभापतिमै पुराना राजनीतिक खेलाडी विजयकुमार गच्छदार पराजित भएका छन् । उनलाई धनराज गुरुङले दुई मतले पराजित गरे । गुरुङ यसअघि केन्द्रीय सदस्यमात्र थिए । कांग्रेसमा सभापतिपछिको कार्यकारी पद महामन्त्रीमा नयाँ, ‘युवा’ र सर्वाधिक चर्चामा रहेका नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

कांग्रेसको महाधिवेशनले देउवाको नेतृत्व अझै आवश्यक रहेको कुरा अनुमोदन गर्‍यो भने अर्कोतिर देउवाको नेतृत्व हटाउनैपर्ने पक्षमा रहेका गगनलाई महामन्त्रीमा सर्वाधिक मत दिए । महामन्त्रीमै देउवाले अझै केही समय कुर्न आग्रह गर्दै टिममा नपारेका विश्वप्रकाशलाई पनि विजयी गराए र देउवाले योग्य ठानेका दुई नेतालाई कम मत दिए ।

सहमहामन्त्रीमा निर्वाचित भएका भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र उमाकान्त चौधरी पदाधिकारीमा पहिलोपटक पाइला टेक्दैछन् ।

खुला केन्द्रीय सदस्यका ३५ जनामध्ये १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । महिला नौ, प्रत्येक प्रदेशबाट तीन-तीन गरी २१, मधेसी र दलित नौ-नौ, आदिवासी जनजातिबाट १५, खस आर्यबाट १३, थारु चार, मुस्लिम तीन र पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक तथा अपाङ्गता भएकाबाट एक-एक गरी १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिनेछन् । यीबाहेक सभापतिले ३३ जना मनोनीत गर्न पाउनेछन् । निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिले कोषाध्यक्ष मनोनयन गर्नेछन् ।

थप …अनि कांग्रेस ‘समाजवादी’ भयो

यसरी हेर्दा कांग्रेस पूरै नयाँ भएको त छैन तर अर्थपूर्ण परिवर्तन भने भएको छ । कांग्रेस सुधारका लागि पैरवी गर्दै आएका लेखक तथा विश्लेषक शंकर तिवारी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने अभियान अहिलेलाई साकार नभए पनि महत्त्वपूर्ण परिवर्तन भएको र यसको प्रभाव पार्टीभित्र तत्कालै देखिने ठान्छन् । ‘अब सभापति देउवालाई पहिलेजस्तो तरिकाले काम गर्ने छुट छैन । किनभने सभापति पछिको महत्त्वपूर्ण पदमा गगन र विश्वप्रकाश छन् । उनीहरूमाथि आम मतदाताको जुन भरोसा छ‚ त्यसमा उनीहरूले न्याय गर्नुपर्नेछ ।’ महामन्त्रीबाहेक पनि पदाधिकारी र केन्द्रीय सदस्यहरूले अब पहिले जस्तो ‘गुट’मा बढी ध्यान नदिने अनुमान तिवारीको छ । अब पार्टीभित्र नयाँ खालको घर्षण हुने उनको बुझाइ छ ।

कांग्रेसमा विधानतः सभापति बलियो हुने कुरा स्पष्ट छ । यतिमात्र होइन‚ देउवा पक्ष केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमतमा छ । केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म मनोनीत गरेर आफ्नो पकड अझ बलियो बनाउने देउवाको रणनीतिमा ४० प्रतिशत मत ल्याएको शेखर कोइराला समूहले भाग माग्ला र नमाग्ला भन्ने कुतूहलको विषय छ । भलै, कोइराला पक्षले भागबन्डाको राजनीति नगर्ने कुरा सार्वजनिक रूपमै बताएको भने छ ।

यो पनि : कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

कांग्रेसका महाधिवेशन प्रतिनिधिले एकातिर नेतृत्वलाई कायमै राख्ने र अरू पदमा भने नयाँलाई मौका दिने नीति लिएको देखिन्छ‚ यसले कांग्रेस पार्टी परम्परागत अवस्थाबाट मुक्त हुन नसकेको नै देखाउँछ । तर सँगै, पदाधिकारी र केन्द्रीय कार्यसमितिका नयाँ अनुहारको भूमिकाले नयाँपनको आशा भने जगाएको छ नै । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस बुढाहरूको पार्टी हो भन्ने न्यारेटिभ परिवर्तनतिर अगाडि बढेको निष्कर्ष निकाल्छन् । उनी भन्छन्, ‘कांग्रेस न नयाँ‚ न पुरानो‚’ उनी भन्छन्, ‘नयाँ र पुरानो दुवै अनुहार आएकाले कांग्रेस बुढाहरूको पार्टी हो भन्ने न्यारेटिभचाहिँ परिवर्तनतिर अगाडि बढेको छ ।’

देउवाको भूमिका मुख्य
आइतबार भएको शीर्ष नेताको बैठकमा कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा सहभागी भए । यो आफैँमा महत्त्वपूर्ण र नयाँ थियो । उपसभापति र महामन्त्रीमा निर्वाचित खड्का र थापालाई देउवाले बैठकमा आमन्त्रण गरेका थिए । परिवर्तनको सानो एक उदाहरण यो पनि हुँदो हो ।

मूलतः १४औँ महाधिवेशनपछि कांग्रेस कति नयाँ बन्छ ? भन्ने विषय मूलतः सभापति देउवामा नै निर्भर रहन्छ । सत्य के हो भने देउवा कांग्रेसमा कुनै वैचारिक बहस गरेर वा नयाँ उचाइमा पार्टीलाई पुर्‍याउँछु भन्ने आकर्षक नारा दिएर दोहोरिएका होइनन् । ‘नेता व्यवस्थापन’मा उनको कला, सरकार र पार्टीको सत्ताको प्रभावलगायतका धेरै कुरा यसका फ्याक्टर हुन् ।

यो पनि : बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

अरू त अरू देउवालाई हटाउनुको विकल्पै छैन भन्ने उद्घोष गर्दै सभापतिमा उम्मेदवार बनेका प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई र कोइराला विरासत नै त्याग्नका लागि डा. शशांकलाई मनाउन सक्नु उनको ‘खुबी’ अवश्य हो । त्यसअघि उनले आफू निकटका आकाङ्क्षी धेरै जनालाई थुमथुम्याएर उनले महामन्त्रीमा भागबन्डासहित कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा मनाइसकेका थिए ।

विश्लेषक तिवारी यो देउवाको क्षमता भएको मान्छन् । तर‚ अब पनि बहुमत वा यति प्रतिशत भन्ने भागबन्डामा कांग्रेस नअल्झिने विश्वास उनको छ । ‘पुरानो गुट पनि अब रहेन, नयाँ बन्यो, अर्कातिर सभापति पनि पहिलो चरणबाटै बहुमत पाएर दोहोरिनु भएको होइन भनेपछि पहिलेको जस्तो पेलेरै जाने वा भागबन्डामै अल्झिने सम्भावना म अब देख्दिनँ‚’ तिवारी भन्छन् ।

नेपालको संविधानले निर्वाचन मार्फत दलहरूलाई नै राज्य सञ्चालनको प्रमुख भूमिकामा राखेको छ । तर‚ त्यस ठाउँमा पुग्न वैचारिक सुझबुझ र ऐक्यबद्धताभन्दा लेनदेनमा बाँधिएका सभापति देउवाले कांग्रेसलाई कति नयाँपन दिन सक्छन् ? त्यो समयक्रममा देखिने नै छ ।

ठूलो पार्टीको आन्तरिक राजनीतिमा नेतृत्वका आकांक्षीलाई मिलाएर अगाडि बढ्नु अन्यथा होइन । तर, नेतृत्वका प्रत्याशीले विचारमा लेनदेन गरे कि पदमा भन्नेले भने अर्थ राख्छ नै । सभापतिमा असफल भइसकेका भनेर पटक पटक सार्वजनिक अभिव्यक्ति दिएका सिंह र निधिले विचारकै आधारमा देउवालाई साथ दिए भन्न सकिने आधार कमैमात्र छ । तर‚ उनीहरू अब कांग्रेसमा कुन स्थान र सामर्थ्यमा हुन्छन् यसै भन्न सकिँदैन ।

यो पनि : गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

उनीहरूसँगको सहकार्य र सहमतिलाई सभापति देउवाले कसरी पालना गर्लान् ? प्रश्न यो पनि महत्त्वपूर्ण छ । अर्कातिर, आगामी निर्वाचनमा टिकट वितरणमा पुराना नेताहरूको प्रभाव सभापति देउवामाथि कस्तो रहन्छ ? यी विषयले कांग्रेस कति नयाँ भयो ? कति पुरानै रह्यो ? कांग्रेसको यात्रा कता जाँदैछ ? भन्ने विषयहरूले थप पर्गेल्नेछ ।

अर्थात्, कांग्रेसको आन्तरिक राजनीति र कांग्रेसले अबका तीनै चरणका चुनावका लागि तय गर्ने रणनीतिमा कांग्रेसको भविष्य भर पर्नेछ । महाधिवेशनको चुनाव ताका नेता गगन थापाले भनेका थिए अब हामी देखिने, सुनिने, बुझिने र भरोसा गरिने कांग्रेस बनाउनेछौँ । यो कति बन्यो/बनेन भन्ने परीक्षण सबैभन्दा पहिले स्थानीय सरकारको चुनावमा हुनेछ ।

कांग्रेसको परिवर्तनमा पूर्णबहादुर, धनराज, गगन, विश्वप्रकाशहरूको भूमिका, सहकार्य वा आलोचना कस्तो हुने हो भन्ने विषय पनि महत्त्वपूर्ण हुनेछ नै । अर्कातिर कार्यकारी पदमा नरहेरै नेता शेखर कोइराला पक्षको भूमिकाले कांग्रेस कति नयाँ कति पुरानो भन्ने निर्क्योल गर्नेछ । गुरुङ, थापा, शर्मा, पाण्डे लगायत नेताहरूलाई अब नेतृत्वको आलोचनामात्र गरेर पुग्ने छैन कि उनीहरू नै नेतृत्वमा पुगिसकेका छन् ।

भारतका लागि पूर्व राजदूत रहेका नीलाम्बर आचार्यको टिप्पणी यसका लागि सटिक हुन सक्छ । उनी भन्छन्‚ ‘नयाँ अनुहार पनि प्रभावशाली पदमा आएका छन् । उनीहरूले नयाँपन दिन सकेमा कांग्रेस नयाँ हुन्छ‚ नभए कांग्रेस पुरानै रहन्छ‚’ उनी भन्छन्, ‘किनभने देउवा परीक्षण भइसकेका नेता हुन् । उनीबाट ठूलो आशा राख्न सकिन्न ।’

सम्बन्धित समाचार
-यी हुन् कांग्रेसका आठ सभापति
-कांग्रेसको जरोकिलो अर्थात् तराई-मधेस
-शिखरतिर शेखर !
-गच्छदारलाई रोकेर अघि बढेका धनराज 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *