विरोधका बिच संसद्‌मा दुई अध्यादेश स्वीकृत

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभाको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ ।

बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ लाई बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि बैठक सुरू हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी गर्दै रोस्ट्रम घेराउ गरेका थिए ।

एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए । एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्‌मा अवरोध गर्दै आएको छ ।

एमाले सांसदहरूले बैठकमा विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुन नसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।

उनले जनताका विषयहरूलाई सदनमा राख्न अनुरोध गरे पनि एमालेका सांसदहरूले विरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।

त्यसलगत्तै दुवै अध्यादेशलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त दुवै अध्यादेशलाई पारित गर्नुपूर्व बैठकले नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दिएको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक यही पुस ७ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *