साझा कार्यक्रम नआउँदा मन्त्रालयमा अन्यौल, सरकारको दायित्वअनुसार स्रोत अभाव

विराटनगर । प्रदेश १ को गठबन्धन सरकार बनेको झण्डै २ महिना हुँदै गर्दा धेरै मन्त्रालयका कामहरू ओझेलमा परेका छन् । साझा कार्यक्रम नआउँदासम्म कसरी अघि बढ्ने भन्ने विषयले पनि मन्त्रालयका गतिविधिहरू अघि बढ्न नसकेको हो ।

साझा कार्यक्रम नआउँदासम्म कसरी अघि बढ्ने भन्नेबारेमा मन्त्रालयगत रुपमा आन्तरिक केही कामहरूको सुरुवात भए पनि विकास निर्माणका कामहरूले पनि गति लिन सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय पनि त्यहीमध्येको एक हो । मन्त्री हुँदैगर्दा देखि नेपाली कांग्रेस पार्टी महाधिवेशनका कारण कामले व्यस्त भएका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले मन्त्रालयको धेरै आन्तरिक काम बुझ्न बाँकी रहेको बताए । उनले केही महत्वपूर्ण कामको सुरुवात गरेको बताएका छन् ।

साझा कार्यक्रम आउनुपूर्व नै ईलाम, धनकुटा र विराटनगरमा रहेका यातायात व्यवस्था कार्यालयको सम्पर्क कार्यालयबाट सवारी चालक अनुमतिपत्र (लाईसेन्स) दिने प्रक्रिया सुरु भएको बताए । यी ३ जिल्लामा अहिले पनि लाइसेन्सका लागि ट्रायल तथा राजस्व तिर्ने व्यवस्था नभएकाले यी तीनै जिल्लाबाट लाइसेन्स दिने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

मन्त्री भएलगत्तै यातायात कार्यालय उदयपुरबाट ट्रायल लिने र लाइसेन्स दिने काम सुरु भएको उनको दाबी छ । ‘धेरै कामहरू साझा कार्यक्रम आएपछि अघि बढ्नेछ,’ उनले भने, ‘गठबन्धनभित्रका दलहरूको तर्फबाट साझा कार्यक्रम बनाउने जिम्मेवारी दिइएको छ । कार्यदलले साझा कार्यक्रम दिएपछि काम गर्न सहज हुन्छ ।’

यसअघिको सरकारले नीति र विधिभन्दा बाहिर गएर पहुँचको भरमा केही कार्यक्रमहरू बाँडिएको बताएका मन्त्री कार्कीले त्यसलाई सिस्टममा लगेर काम गर्न केही कार्यक्रम हेरफेर हुने सम्भावना रहेको बताए । ‘जुन दलको सरकार आए पनि सरकार भनेको सरकार नै हो, केही नीति र विधिभन्दा बाहिरका कार्यक्रमहरूलाई संशोधन गर्न सकिन्छ,’ मन्त्री कार्कीले भने, ‘नयाँ योजना नखोज्ने, अलपत्र परेका र सम्पन्न हुन बाँकी योजनालाई पूरा गर्नुपर्छ ।’

प्रदेश १ सरकारले स्रोतको सुनिश्चितता नभएका थुप्रै दायित्व रहेको जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले दायित्व लिएको तर स्रोतको सुनिश्चितता नभएको करिब ४० अर्बको योजना रहेको जनाएको छ । चालु आर्थिक वर्षमा करिब साँढे १२ अर्बको मात्र स्रोत सुनिश्चित रहेकाले सरकारको दायित्वअनुसारको स्रोतको अभाव रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले बताए ।

यस मन्त्रालयअन्तर्गतको ४० प्रतिशतभन्दा बढी योजनाहरू बजेट छुट्टिएर पनि कार्यान्वयनमा जानसक्ने अवस्था नभएको मन्त्रालय स्रोतको दाबी छ । दायित्वअनुसारको स्रोतको व्यवस्थापनका लागि मन्त्रालयले साना योजना कटौती गर्ने, नयाँ योजना नखोज्ने, बजेट अभावले रोकिएका योजनाहरूको खोजी गर्ने र स्रोत व्यवस्थापन गर्नेबारेमा काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्री कार्कीले बताए ।

नयाँ योजनामात्र ल्याएर हुँदैन‚ अपूरा योजनालाई पूरा गर्ने दायित्व पनि सरकारकै हो,’ मन्त्री कार्कीले भने, ‘बजेट अभावले रोकिएका योजनाहरूलाई पूरा गरेर सरकारले यो गर्‍यो भनेर देखिने गरी काम हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *