पार्टी फेरिरहने मंगलप्रसाद फेरि एमालेमै !

एमालेले उच्च महत्व दिएर भित्र्याएको मंगलप्रसाद को हुन् ?

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार कपिलवस्तुको कृष्णनगर पुगेर नेता मंगलप्रसाद गुप्तालाई पार्टी प्रवेश गराए । तत्कालीन समयमा जिल्ला पञ्चायत सदस्य गुप्ता २०४७ सालमा एमाले प्रवेश गरेका थिए । तर, उनले तुरुन्तै पार्टी परिवर्तन गरेर २०४८ सालमा कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने ।

उनले ०५६ सालमा पनि पुनः कांग्रेसकै तर्फबाट टिकट पाएका थिए । ०४८ सालमा पनि पराजित भएका उनले पुनः हार ब्यहोरे । उनले पार्टी परिवर्तन गरेर बारम्बार उम्मेदवार बनेपनि सफलता हात पारेनन् । उनी पार्टी परिवर्तन गरिरहने नेतामा पर्ने तमलोपामा उनीसँग काम गरेका एक नेता बताउँछन् । ‘उहाँको खास राजनीतिक चरित्र भनेको पार्टी परिवर्तन गरिरहने हो । एमालेमा कति रहनुहुन्छ, हेरौँ न । उहाँ नेपालका सबै दलमा प्रवेश गरिसक्नुभयो ।’

गुप्ताले १२औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य बन्ने प्रयास गरेका थिए, तर त्यहाँ पनि असफल भए । कांग्रेसको राजनीतिमा सफल हुन नसकेपछि मानवअधिकारको क्षेत्रतिर हाम फालेका गुप्ता महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टीमा पनि पुगे ।

गुप्ता त्यहीँबाट ०७० सालको चुनावमा उम्मेदवार बनेपनि पनिः पराजित भए । पार्टी फेरेर ०७४ सालको चुनावमा गुप्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उम्मेदवार बने तर, सफलता प्राप्त गरेनन् । त्यसबेला उनी कांग्रेसका अभिषेकप्रताप शाहसँग पराजित भएका थिए ।

कपिलवस्तुको कृष्णनगरमा बसेर राजनीति गरेका गुप्ताका धेरै समर्थक छन् । यसैले उनले प्रवेश गर्दा पश्चिम कपिलवस्तुतिर संगठन राम्रो बन्ने एमालेको विश्वास छ । एमाले नेता विष्णु पन्थीकाअनुसार मंगलबार मंगलप्रसादसँग झन्डै ५ हजार कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् ।

यसरी मंगलप्रसाद दोस्रो पटक एमालेमा आइपुगेका छन् । एमालेले महत्त्व दिएर भित्र्याएको उनको राजनीति कसरी अगाडि बढ्छ, त्यो हेर्न बाँकी छ । त्यसो त एमालेले संगठनलाई थप सुदृढ बनाउने भन्दै ‘प्रवेश अभियान’ नै चलाउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *