एमालेको विरोधका बिच संसद्‌द्वारा तेजाव तथा अन्य घातक रासायनिक पदार्थसम्बन्धी अध्यादेश पारित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच बुधबार पनि प्रतिनिधिसभाले विभिन्न अध्यादेश पारित गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका सांसदले वेल घेराउ र नाराबाजी गरेका थिए । एमालेको विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसद्‌मा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताए ।

उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह गरेका थिए । उनले संसदीय व्यवस्था सिद्धान्तमात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैँ नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसदलाई पुनः ध्यानाकर्षण गराए ।

सभामुख सापकोटाले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्‌मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराएका थिए ।

तर‚ एमालेका सांसदहरूले विरोध कायमै राखेपछि सभामुख सापकोटाले कार्यसूचीलाई अघि बढाएका थिए । बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते आइतबार बोलाइएको छ । गतसाउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकोमा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *