प्रदेश १ : माओवादी पदाधिकारी मनोनयनमा समस्या, सहमति नहुँदा निर्वाचनमा जाने तयारी

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन भएको १० दिन बितिसक्दा पनि नेतृत्वका लागि जुट्न सकेको छैन । गतमंसिर २५ र २६ गते मोरङको सुन्दर हरैँचामा भएको पहिलो प्रदेश अधिवेशनले २७१ जना प्रदेश सदस्य सर्वसम्मत चयन गरेको थियो ।

विधानमा भएको व्यवस्थाअनुसार २५९ जना प्रदेश सदस्य अधिवेशनबाट आउनुपर्नेमा नेताहरूको दबाबमा थप १२ जनालाई पनि सदस्य बनाइएको थियो । मनोनित गर्नुपर्ने २६ जनामध्येबाट १२ जना त्यही अधिवेशनबाट सदस्यमा मनोनित गरेपछि सुरु भएको विवाद नेतृत्व चयनमा आउँदासम्म देखिएको छ ।

सर्वसम्मतका लागि बनाइएको कार्यदलले कुनै पनि निर्णय गर्न नसकेपछि फेरि सहमतिको पहल भएको नेकपा मओवादी केन्द्रका नेताहरू बताउँछन् ।

सहमति जुटाउनका लागि मंगलबार पदाधिकारीका आकांक्षीलाई बैठकमा बोलाइएको भए पनि आकांक्षीको संख्या धरै भएपछि सहमति जुट्न नसकेको हो । प्रदेशको अध्यक्षमा ६ जनाले अझै दाबी छाडेका छैनन् । सदस्यहरूले निर्वाचन प्रक्रिया सुरु गर्न दबाब दिए पनि सहमतिको नाममा नेताहरू लागेपछि आज बस्ने भनिएको प्रदेश कमिटीको बैठक अझै सुरु हुन सकेको छैन ।

माओवादी स्रोतका अनुसार बाग्मती प्रदेशमा पदाधिकारी चयन निर्वाचनबाट गरेपछि प्रदेश १ मा पनि बाटो खुलेकाले निर्वाचनमा जानुपर्ने चर्को आवाज उठेको छ । प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक आज बोलाइएको र त्यही बैठकबाट पदाधिकारी चयन गर्ने भनिएको थियो ।

पदाधिकारी चयनका लागि नेताहरूका बिचमा सहमतिको प्रयास भइरहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सचिवका आकांक्षी गणेश उप्रेतीले बताए ।

यसअघि पुस दुई गते बसेको प्रदेश समितिको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सह-ईन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी थिए ।

उक्त समितिको सोमबार बसेको बैठकमा पनि कुनै सहमति जुटेन । सहमति नजुटेपछि माओवादीभित्रैबाट अब चुनावी प्रक्रियामा जानेबारेमा तयारी भइरहेको माओवादी केन्द्र पार्टी सचिवालयले जनाएको छ । निर्वाचन प्रक्रियामा जाँदा यसअघि मनोनित भएका २७१ जनाबाट १२ जनाले मतदान गर्न नपाउने भएकाले यो विषय पनि विवादको विषय बनेको माओवादी निकट स्रोत बताउँछ ।

‘२५९ जनामात्र प्रदेश अधिवेशनबाट आउनुपर्नेमा २७१ जना ल्याइयो‚’ माओवादी स्रोतले भन्यो‚ ‘त्यो विषय चुनावमा जाँदा पेचिलो हुने भएपछि सहमतिको रटान लगाएको देखिन्छ ।’ यस्तो अवस्था आउनुमा निर्वाचन समिति बलियो नभएको र दलका नेताले जे भन्यो त्यही हुँदाको अवस्था रहेको सदस्यहरूको भनाइ छ ।

को को अध्यक्षका दाबेदार ?
खोटाङका ध्रुव बुढाथोकी, देवान चाम्लिङ पृथ्वी अध्यक्षका आकांक्षी हुन् । देवान भने ध्रुब बुढाथोकी अध्यक्ष बन्दा आफू छाड्न तयार भएको बताउँदै आएका छन् तर अरु अध्यक्षको रुपमा आए दाबी नछाड्ने अडान गर्नेमध्येका हुन् । दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ मिक्सो छन् ।

यी सबै उम्मेदवार केन्द्रीय नेताको ईशारामा आफ्नो इच्छा व्यक्त गर्दै आएका छन् । देख्दा गुट नभएको जस्तो देखिएको नेकपा माओवादी केन्द्रभित्र पनि अध्यक्ष पुष्पकमल दाहाल र जनार्दन शर्माको फरक फरक गुट देखिएको छ । अध्यक्षका आकांक्षीहरूमध्ये नेम्वाङ जनार्दन शर्माको ईशारामा उम्मेदवारी दाबी गर्नेमध्येका नेता भएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।

मेन्याङ्बो र चाम्लिङ प्रचण्ड लाइनबाट उम्मेदवार भएका नेता हुन् । बुढाथोकी र साम्पाङ गुटमा नदेखिएको बताइन्छ । पदाधिकारी चयनका लागि सहमति नभई निर्वाचन प्रक्रियामा जाने हुँदा प्यानल नबनाई जान केन्द्रको दबाब रहेकोले बिनाप्यानल उम्मेदवारी दर्ता गर्नेबारेमा पनि छलफल भइरहेको नेताहरूको भनाइ छ ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दीरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवको दाबी छ । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् ।

अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकाले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ । सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्काले दाबी गरेका छन् । प्रतिस्पर्धामा जाँदा उप्रेती, कडरिया र खड्कामात्र हुने दाबी माओवादी स्रोतको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *