प्रदेश १ को न्यूनतम साझा कार्यक्रम तयार, कार्यदलले मुख्य मन्त्रीलाई बुझायो कार्यक्रमको खाका

विराटनगर । प्रदेश १ सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्न बनेको कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाको संयोजकत्वमा बनेको समितिले सरकारलाई साझा कार्यक्रमको खाका बुझाएको हो ।

बुधबार प्रदेश १ का मुख्य मन्त्री कार्यालयमा बसेको कार्यदलको बैठकले न्युनतम साझा कार्यक्रमको खाका तयार पारेर मुख्य मन्त्री राजेन्द्रकुमार राईलाई बुझाइएको कार्यदलका संयोजक थापाले जानकारी दिए । साझा कार्यक्रममा अल्पकालीन र दीर्घकालीन रुपमा योजनाहरू बनाईएका छन् । तत्कालीन रुपमा कोभिड लक्षित साझा कार्यक्रम आएको संयोजक थापाले बताए ।

२० पेज लामो साझा कार्यक्रमले दीर्घकालीन रुपमा प्रदेशलाई बलियो बनाउने तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने विषय साझा कार्यक्रममा समावेश भएको छ । प्रदेश १ प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा पर्यटनलाई केन्द्रमा राखेर प्रदेशलाई आर्थिक रुपमा बलियो बनाई आत्मनिर्भर बनाउने दीर्घकालीन सोच साझा कार्यक्रमले लिएको थापाले बताए ।

‘नागरिकका ईच्छा र चाहनालाई आधार बनाएर साझा कार्यक्रम बनाइएको छ,’ उनले भने, ‘समष्टीगत रुपमा यसलाई वस्तुपरक रुपमा महत्वकांक्षी बनाइएको छैन, प्रदेशको धरातलीय यथार्थता, साधन र स्रोतको आधारमा प्रदेशको जनताको भावनालई आत्मसात् गर्नेगरी साझा कार्यक्रम बनेको छ ।’

प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमका लागि पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो । प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजक रहेको कार्यदलमा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य राजन राई, नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य धीरेन्द्र शर्मा, जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य रामचन्द्र लिम्बुसहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङ्ग सदस्य रहेको कार्यदल बनाएको थियो ।

कार्यदलको सदस्य सचिवमा डा. पूर्ण लोक्सोमलाई राखिएको थियो । उक्त मस्यौदा कार्यदलका तर्फबाट प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाएसँगै मन्त्री परिषद्को बैठकबाट प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै अघि बढ्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *