माओवादी : बरु पार्टीको नाम फेरिन्छ, फेरिँदैन नेतृत्व
बाँकी पदमा हट्ला त ‘टीके प्रथा’
काठमाडौँ । ‘विचार र योजनासहित आउनुस् । राम्रो भयो, पार्टीले पास गर्याे भने उत्तराधिकारी घोषणा गरेर हिँड्छु । तर, यसो हेर्छु अँह… ! लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने, त्यो भन्दिनँ ।’ असोज १४ गते एक सार्वजनिक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेका थिए ।
राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दाको प्रचण्डको यो भनाइको अन्तर्य हो कि— प्रचण्ड अझै नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् । ३० वर्षयता माओवादीको नेतृत्वमा ‘रजगज’ गर्दै आएका प्रचण्ड नै फेरि अध्यक्ष चुनिने निश्चित नै छ । ०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड ०५१ सालमा माओवादी केन्द्र बनेसँगै अध्यक्षमै रहँदै आएका छन् । अहिले त उनलाई नेतृत्वमा टक्कर दिने ‘ह्याउ’ भएको नेता नै कोही नभएको टिप्पणी माओवादी वृत्तमा हुने गरेको छ ।
अहिले माओवादी पुनः राष्ट्रिय सम्मेलनको संघारमा छ । तर, यो सम्मेलनले पनि विगतका सम्मेलनले जस्तै नेतृत्वमा प्रचण्डलाई अनुमोदन गर्ने निश्चित छ । उनीसँगै काम गरेका कतिपय नेताहरू पार्टीमा वा बाहिर आफूसँग सिङ्गाैरी खेल्नेकाे प्रचण्डले ‘सिङ भाँचिदिने’ गरेको बताउँछन् । पूर्वमाओवादी ‘लीगेसी’ बोकेका एक नेता भन्छन्— ‘उहाँ (प्रचण्ड) ले नेतृत्वमा आफूसँग जुध्नेको सिङ भाँचिदिनुभएकै छ आजसम्म । उहाँ आफैँ नेतृत्वमा रहनुहुन्छ सधैँ ।’
हुन पनि माओवादीको विगत हेर्दा यो सत्य सावित हुन्छ । मोहन वैद्यदेखि डा. बाबुराम भट्टराईहरूको बहिर्गमनले यो तथ्यलाई अझ बलियो बनाउँछ । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आन्तरिक संघर्ष गरेका वैद्यदेखि भट्टराईहरूले अन्ततः पार्टी नै परित्याग गर्न बाध्य भए । उनीहरू नै बाहिरिएपछि संगठनमा आफ्नो ‘मनमौजी’ अझ दह्रो भएको ठानेका प्रचण्ड निरन्तर नेतृत्वमा छन् ।
उसो त माओवादीमा प्रचण्डलाई आन्तरिक रूपमा टक्कर दिने नेता नै नभएको विश्लेषण सही भएको माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेल बताउँछन् । ‘त्यसैकारण अहिले पनि केन्द्रीय नेतृत्वमा परिवर्तन हुँदैन,’ पोखरेलले हाकाहाकी भनेका छन् । कम्युनिष्ट पार्टीको नेतृत्वमा हस्तक्षेप वा दाबी गर्न पहिले विचार र सिद्धान्तको प्रतिपादक हुनुपर्ने पोखरेल बताउँछन् । त्यो विश्वव्यापी मान्यता रहेको औंल्याउँदै उनी थप्छन्, ‘माओवादीको सन्दर्भमा यो देखिँदैन । त्यसैले पनि नेतृत्व परिवर्तन हुँदैन ।’
माओवादीको नाम पटक-पटक फेरियो, तर नेतृत्वमा प्रचण्ड कायमै छन् । यसअघिका सम्मेलनहरू केन्द्रीय नेतृत्वमा प्रचण्डलाई नै अनुमोदन गरेर सकिएका हुन् । माओवादी खुला राजनीतिमा आएपछि पहिलो सम्मेलन ०६९ माघ २० गतेदेखि २६ गतेसम्म हेटौंडामा गरेको थियो, त्यसले प्रचण्डलाई नै अनुमोदन गरेको थियो भने ०७१ बैशाख १८ गतेदेखि २३ गतेसम्म विराटनगरमा भएकाे दोस्रो सम्मेलनले पनि साेही काम गरेकाे थियाे ।
माओवादीको ‘कमाण्ड’ प्रचण्डलाई नै किन सधैँ ?
नेता राम कार्की कम्युनिष्ट पार्टीमा नेताको प्रश्न नीतिको प्रश्नपछि मात्रै आउनुपर्ने बताउँछन् । आसन्न सम्मेलनले यही सन्देश दिन चाहेको जिकिर गर्दै उनी भन्छन्, ‘कम्युनिष्ट पार्टी नेताप्रधान होइन, नीतिप्रधान हुनुपर्छ ।’
माओवादी नेतृत्वमा एउटै नेता दोहोरिरहनुलाई आफूहरूकै गल्तीको रूपमा अर्थ्याउँछन् नेता कार्की । माओवादी खुला राजनीतिमा आएपछि नेतृत्वसम्बन्धी अवधारणालाई विकसित तुल्याउनुपर्नेमा त्यसमा माओवादी चुकेको विश्लेषण उनको छ । ‘माओवादी जतिबेला खुला राजनीतिमा आएको थियो, त्यतिबेला नै नेतृत्वसम्बन्धी अवधारणालाई विकसित तुल्याउनुपर्ने थियो । त्यसमा माओवादी चुक्यो, त्यसपछि माओवादीसँगै बाँकी नै त्यही एकजना प्रचण्ड रहनुभयो । यसकारण पनि नेतृत्वमा एउटै नेता रहनुपर्ने भयो ।’
कम्युनिष्ट पार्टीमा नेताको विचारमा सहमत नभइ विद्रोह गरेर नयाँ नेतृत्व आउने नेता कार्कीको भनाइ छ । चीन, क्यूबालगायतका देशहरूको उदाहरण दिँदै उनले थपे, ‘कम्युनिष्ट पार्टीमा नेतृत्वको विचारमा सहमत भएर कोही उत्तराधिकारी हुँदैनन् । कम्युनिष्ट पार्टीमा नेतृत्व पुस्तान्तण र हस्तान्तरणमा फरक विचार, फरक शैली लिएर आउनुपर्छ ।’
एउटै विचार र सिद्धान्त सधैँका लागि चिरिञ्जीवी नहुने बताउँदै उनी भन्छन्, ‘पार्टी भनेको एउटा विचार समूह हो । यो समूहको लागि सधैँ एउटै विचारधारा वा एउटै सिद्धान्त पनि ठिक हुँदैन । त्यो समयानूकूल बदलिँदै जानुपर्छ ।’ माओवादी अहिले त्यसकै खोजीमा रहेको उनको भनाइ छ ।
नेता कार्की सामूहिक नेतृत्व निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । व्यक्तिकेन्द्रित नेतृत्व हुँदा भने दीर्घकालीन समस्या निम्तिने उनी ठहर्याउँछन्, भन्छन्— ‘यो सम्मेलनपछि हामी सामूहिक नेतृत्वमा जान्छौँ । यो भनेको पार्टीका लागि दीर्घकालीन राम्रो हुन्छ ।’
बाँकी पदमा हट्ला त ‘टीके प्रथा’
माओवादी आफूलाई लोकतन्त्रको हिमायती पार्टी भन्छ । तर, त्यही लोकतन्त्रको सुन्दर पक्ष मानिने निर्वाचन (आन्तरिक) लाई भने त्यति मान्दैन । माओवादीले सर्वसम्मतिको नाममा मतदाता (प्रतिनिधि) हरूको मताधिकार भने हनन् गरेको र अन्य आकांक्षीहरूको भावनामा ठेस पुर्याएकाे आराेप माओवादीले बेलाबेला खेप्दै आएको विषय हो ।
माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) को अध्यक्ष होस् वा वाईसीएलकाे अध्यक्ष प्रचण्डले नै छान्दै आएका छन् । काठमाडौँमा प्रतिनिधिहरूले आफ्नो नेतृत्व आफैँ छान्न पाउनुपर्ने माग गरिरहँदा खुमलटारबाट प्रचण्डले पञ्चा सिंहलाई अखिल क्रान्तिकारको अध्यक्ष घोषणा गरिसकेका थिए । यत्तिसम्म कि, माओवादी समर्थित पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षसमेत प्रचण्ड आफैँले छाने ।
अहिले भइरहेको पार्टीको प्रादेशिक सम्मेलनहरूमा समेत प्रचण्डले हस्तक्षेप गरेको प्रदेशस्थित नेताहरूको गुनासो छ । तर, यसपटक बागमती प्रदेशमा भने प्रचण्डले हस्तक्षेप गर्न सकेनन् । चुनाव नै भयो र पदाधिकारीहरु निर्वाचित भए । निर्वाचनमार्फत प्रदेशकी उपाध्यक्ष बनेकी रुपा महर्जनले भनिन्— ‘हामी पार्टीभित्रको टीके प्रथा तोड्न सफल भयौँ ।’ हुन पनि माओवादीको इतिहासमा आन्तरिक नेतृत्वका लागि निर्वाचन भएको यो सम्भवतः पहिलोपटक हो ।
वर्ष ०७८ मा महाधिवेशन गरेका सबै दलहरूले चुनावी प्रक्रियामार्फत नेतृत्व छाने । एमाले, कांग्रेस र राप्रपासमेत निर्वाचनमार्फत नै नेतृत्व छानेको उदाहरणका बीच माओवादीलाई केही दबाब बढेको विश्लेषकहरु बताउँछन् ।
यस्तो दबाबका बीच अध्यक्षमा प्रचण्ड नै दोहोरिने निश्चित भएपनि उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिवहरूमा निर्वाचन हुने सम्भावना रहेको नेताहरू बताउँछन् । नेता देव गुरुङ भन्छन्, ‘अध्यक्षबाहेकका पदहरूमा निर्वाचन हुने सम्भावना बढी छ ।’