भक्तपुरमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
दाँतमा समस्या भएका १९ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ५३ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको जेनेरल मेनेजर दाहालले बताए । केएमसीले अहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको अभियान नै चलाएको छ ।
विभिन्न जिल्लामा पुगेर शिविर सञ्चालन गरी बिरामीहरूको निःशुल्क उपचार गरिँदै आएको छ । डा. सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखि नै यो अभियान थालिएको हो । निःशुल्क शिविरले ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूलाई फाइदा पुग्ने भएकाले शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसी अध्यक्ष डा।शर्मा बताउँछन् ।