सेन्ट्रल जोन भलिबल : नेपालको रोमाञ्चक जित


काठमाडौँ । बंगलादेशमा सुरु भएको एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले श्रीलंकालाई हराउँदै विजयी सुरुवात गरेको छ । साविक विजेता नेपालले २ सेटले पछि परेको अवस्था उल्टाउँदै खेल ३-२ ले आफ्नो पक्षमा पारेको हो ।
ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा सुरुवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीनवटै सेट आफ्नो पक्षमा पार्यो ।
पहिलो सेट १९-२५ र दोस्रो सेट २१-२५ ले हारेको नेपालले तेस्रो सेटमा २५-१५ को जित निकाल्यो । चौथो सेटमा नेपाल २५-१९ ले विजयी भएपछि खेल फाइनल सेटसम्म पुगेको थियो । अन्तिम तथा फाइनल सेट नेपालले १५-१३ ले आफ्नो पक्षमा पार्यो ।
रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल सेटमा एक समय नेपालले १३-९ को अग्रता बनाए पनि खेल पुनः १३-१३ को अवस्थामा पुगेको थियो । त्यसपछि भने नेपालले लगातार अंक हासिल गर्दै जित निकाल्यो । अब नेपालले २४ डिसेम्बरमा माल्दिभ्ससँग खेल्नेछ ।
