माओवादी दोस्रो तहका नेताहरू : चुनाव लड्न डर, आशीर्वादकै भर ?
काठमाडौँ । संसदीय उपस्थितिको आधारमा तेस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन संघारमै आइपुगेको छ । बिनातामझाम सम्मेलन सम्पन्न गर्ने भनेको माओवादी अहिले आन्तरिक तयारीमा जुटेको छ ।
एमालेसँगको एकता टुटेपछि पहिलोपटक सम्मेलन गर्न लागेको माओवादीका नेताहरूले आसन्न सम्मेलनबाट स्पष्ट नीतिका साथ अगाडि बढ्ने दाबी गरेका छन् । हुन पनि फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले टुक्र्याइदिएपछि माओवादी लठाबज्र नै भएको थियाे । सांगठनिक स्वरूप मात्र बिग्रेको होइन, विचार र नीतिका हिसाबले पनि माओवादी ‘स्खलित’ भइरहेको विश्लेषण भइरहेको छ ।
त्यसो त पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार माओवादी अन्य पार्टीहरूभन्दा बढी प्रगतिशील र समाजवादी रहेको दाबी गर्दै आएका छन् । फरक धरातलबाट आएको माओवादीले समाजवादी विरासत बोकेको उनको बारम्बारको दाबी हुन्छ । प्रचण्डको यो दाबीले आसन्न सम्मेलनमा कति गति लिन्छ ? त्यो हेर्न बाँकी छ । यद्यपि आसन्न सम्मेलन प्रचण्डले भन्ने गरेकै सांगठनिक र राजनीतिक आवश्यकताका लागि भएको नेता राम कार्की बताउँछन् । ‘यो सम्मेलन नै विचार, नीति र संगठनमा स्पष्टताका लागि हो । माओवादी अब अझ स्पष्ट नीति, विचार र संगठन लिएर अगाडि बढ्छ’ कार्कीले मकालुखबरसँग भनेका छन् ।
समाजवादी क्रान्ति, परिवर्तन र रूपान्तरणको चर्को नारा लगाउने माओवादीले अब लिने नीति र अवलम्बन गर्ने विचारका बारेमा आसन्न सम्मेलनमा देखिएला, तर यसमा पार्टीमा नचुक्ने नेता देव गुरुङ बताउँछन् । आसन्न सम्मेलनदेखि माओवादी हरेक हिसाबले चुस्त हुने उनको ठोकुवा छ, भन्छन्— ‘बिग्रेका र बिग्रन लागेका कुराहरूलाई सपार्नेगरी सम्मेलनले काम गर्नेछ । पार्टीलाई सुदृढ ढङ्गले कसरी अगाडि बढाउने, कसरी मजबुत बन्ने भन्ने नै सम्मेलनका प्रमुख सवालहरू हुन्, प्रश्नहरू हुन् । यसमा पार्टी चुक्दैन, आन्तरिक छलफल तीव्र भइरहेको छ ।’
माओवादी नेताहरूले विचार, सिद्धान्त, नीति, विधान, अनुशासन, समाजवाद र क्रान्तिका कुरा आफूहरूको पहिलो प्राथमिकतामा रहेको औंल्याइरहेका पनि उनीहरूको कर्के नजर भने पदीय जिम्मेवारीमै देखिन्छ । भलै उनीहरूले एकाधबाहेक ‘मलाई यही पद चाहिन्छ’ भनेर मुख फोरिहालेका छैनन् । तर, सबै नेताहरूले पदीय जिम्मेवारीबारे गच्छेअनुसारको ‘लबिइङ्ग’ गरिरहेका छन् ।
एक नेताकाअनुसार महासचिवमा नअटेका नेताहरूकाे व्यवस्थापन उपाध्यक्ष पदमा हुनेछ ।
०७४ फागुन ७ अगाडि फर्किनसकेको माओवादीको गत साउन ३१ गते बसेको केन्द्रीय कमिटी बैठकले विधानलाई केही संशोधन गर्दै सांगठनिक स्वरूप परिवर्तन गरेको छ । हुन त संशोधित यो विधान पनि अन्तिम हुन नसक्ने नेताहरू संकेत गर्छन् । यसैलाई अन्तिम मान्दा माओवादीमा ५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ । माओवादीमा अहिले खासगरी पदाधिकारी र पदाधिकारीमा पनि सीमित पदका लागि नेताहरूले भित्रभित्रै मरिहत्ते गरिरहेका छन् ।
यसर्थ, सम्मेलन नजिकिँदै गर्दा स्वाभाविक रूपमा पदका आकांक्षीहरू बढेका छन् । नेताहरूले खासगरी उपाध्यक्ष र महासचिवका लागि प्रचण्डसँग ‘लबिइङ्ग’ थालेका छन् । आकांक्षीहरू बढ्ने आकलनअनुसार नै माओवादीले साउनमा संशोधित विधान अन्तिम हुन नसक्ने संकेत गरेको छ । विधानको दफा ११ को ‘ङ’ मा शर्त राखिएको छ— ‘(एकभन्दा बढी उपाध्यक्षहरू रहेको अवस्थामा…) । यसरी हेर्दा माओवादीले नेताहरूको व्यवस्थापनका लागि मात्रै भएपनि उपाध्यक्ष, उपमहासचिवलगायका पद संख्या बढाउन सक्नेछ ।
पदाधिकारीकाबारेमा अध्ययन गरेर निर्णय गर्न नेता देव गुरुङको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले माओवादीमा कति सदस्यीय पदाधिकारी रहने, पदाधिकारीमा को को रहनेलगायतका विषयमा अन्तिम टुङ्गो लगाउने छ । यसबारे जिज्ञासा राख्दा नेता गुरुङ भन्छन्, ‘पार्टीमा छलफल हुँदैछ, यसै हुन्छ भन्ने टुङ्गो लागेको छैन ।’ जे होस्, नेता गुरुङले पनि पदाधिकारीको संख्या नथप्ने भनेनन् ।
साउनमा बसेको केन्द्रीय कमिटीले अनुमोदन गरेको विधानलाई नै अन्तिम मान्ने हो भने माओवादीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी जम्मा ५ जनाको पदाधिकारी टोली बन्नेछ । माओवादीका एक नेताले भने, ‘दुई कार्यकारी पद अध्यक्ष महासचिवबाहेकका पदहरूमा संख्या बढ्न सक्छ । कार्यकारी पदमा बाहेक अन्यमा त्यसो गर्न सकिन्छ ।’
अध्यक्षमा प्रचण्ड नै दोहोरिने पक्का भएसँगै प्रायः नेताहरूले ताकेको पद हो— महासचिव । यसका लागि केही नेताहरूले प्रचण्डसँग ‘लबिइङ्ग’ गरिरहेका छन् । महासचिवका आकांक्षीहरूमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, कृष्णबहादुर महरा, हरिबोल गजुरेललगायत छन् । तर उनीहरु चुनावबाट चुनिने भन्दा पनि अध्यक्ष प्रचण्डकै आशिर्वादबाट महासचिव बन्न चाहन्छन् । यी नेताहरूले प्रचण्डसँगको भेटलाई बाक्ल्याएका पनि छन् । चुनावबाट चुनिन सम्भवतः अध्यक्ष प्रचण्ड नै पनि मञ्जुर हुँदैनन् ।
महासचिवको दाबी गरेका तर, ठाउँ नपाएका नेताहरूलाई व्यवस्थापन गर्ने पदको रूपमा उपाध्यक्षलाई नै हेरिन्छ । एक नेताकाअनुसार उपाध्यक्षको संख्या ३ सम्म पुग्न सक्नेछ ।
महासचिवमा धेरै सम्भावना भएका नेताका रूपमा शर्मालाई हेरिएको छ । त्यसो त महराको सम्भावना पनि कम नरहेको प्रचण्ड निकट नेताहरु बताउँछन् । शर्माले केही दिनअगाडि सार्वजनिक रुपमै ‘प्रचण्डपथ छोड्नु माओवादीको ठूलो गल्ती भयो’ भनेका थिए । उनले पार्टीभित्र महत्त्वपूर्ण मानिने संगठन विभागको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।
हाल उपचारका क्रममा चीनमा रहेका नेता वर्षमान पुन पनि महासचिवका स्वाभाविक दाबेदार भएको चर्चा माओवादी वृत्तमा छ । प्रचण्डको विश्वास पात्रका रूपमा रहेका उनलाई स्वाभाविक रूपमा महासचिवका दाबेदारका रूपमा हेरिएको हो । माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘अनन्त कमरेडको स्वास्थ्यस्थितिले पनि दिएन । अब सम्मेलन आइसक्यो, उहाँ यहाँ हुनुहुन्न समस्या भयो । स्वास्थ्य अवस्था सामान्य हुँदा त उहाँ स्वाभाविक रूपमा महासचिवमा दाबी गर्न सक्ने नेता हो । अब अहिलेकै अवस्थामा चाहिँ यही हो भन्ने भएन । पार्टीमा त्यसको बारेमा कुरा भएको थाहा छैन ।’
पार्टीको तर्फबाट सरकारमा सामेल भएर महत्त्वपूर्ण मन्त्रालयहरूका काममा कौशलता देखाएका उनलाई प्रचण्डले च्याप्दै आएका छन् । उनलाई अहिले पार्टीले अर्थ तथा योजना विभागको प्रमुख बनाएको छ ।
हाल ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी नेता पम्फा भूसालले पनि महासचिवकै दाबी गरिरहेकी छन् । प्रचण्डपछि माओवादीको नेतृत्वमा आफ्नो स्वाभाविक हस्तक्षेप रहने उद्घोष गरिसकेकी भुसालले प्रचण्डलाई भेटेर बातचीतसमेत गरिरहेकी छन् ।
उनले सार्वजनिक रूपमा ‘म महासचिवको दाबी गर्छु’ नभने पनि प्रचण्डलाई भेटर ‘लबिइङ्ग’ गरिरहेकी छन् । ०७४ भन्दा अघिसम्म वैद्य पक्षमा रहेकी उनले त्यसयता भने प्रचण्डलाई दह्रो साथ दिँदै आएकी छन् । माओवादीले लिएको २० प्रतिशत महिला र युवाको नीति उनको लागि सकारात्मक हुनसक्छ । प्रचण्ड पार्टीका सबै कमिटीहरूमा कमसेकम २० प्रतिशतभन्दा बढी महिला र युवाले ओगटून् भन्ठान्ने उनी निकटका नेताहरु बताउँछन् ।
यसअघि नै पार्टीका कोषाध्यक्ष बनिसकेका केन्द्रीय सदस्य हरिबोल गजुरेलको दाबी पनि महासचिवमा हुने देखिन्छ । उनले भने निर्णय गरिनसकेको बताए । ‘निर्णय गरिसकेको छैन,’ उनले मकालुखबरसँग भने, ‘पार्टीलाई रूपान्तरण गर्दै अगाडि जाने हो । पद भनेको त्यसपछिका कुराहरू हुन् ।’
नेताहरूकाअनुसार महासचिवका उल्लिखित ४ अकांक्षीहरूमा कुरा नमिलेको खण्डमा मात्रै कृष्णबहादुर महरासम्म आइपुग्ने छ । उनी एमालेसँग एकता गर्नुभन्दा अगाडि पनि पार्टीमा महासचिव नै थिए ।
त्यसपछि झन्डै दुईतिहाइको सरकारको सभामुख बनेको महरा यौनशोषणको आरोपमा निलम्बित भए । उनले पछिल्लो समय राजनीतिक सक्रियता बढाएका छन् । उनी सभामुख हुँदाको आरोपलाई पखालेर पुनः स्थापित हुन चाहन्छन् । एक स्थायी कमिटी सदस्यले भने, ‘दोस्रो तहका नेताहरूबाट छान्न नसकिएको खण्डमा उहाँ (महरा) नै सही पात्र हुनुहुन्छ भन्ने पार्टीको ठम्याइँ हो । किनकि उहाँ पहिले पनि महासचिव बन्नुभएकै हो ।’
000
उपाध्यक्षमा भने आकांक्षीहरू त्यति धेरै दखिएका छैनन् । नेताहरूकाअनुसार महासचिवमा नअटेका नेताहरू उपाध्यक्षमा आउने छन् । माओवादी पदाधिकारीको संख्या ८ देखि १२ को बीचमा हुनेछ ।
अहिलेसम्म उपाध्यक्षमा मातृकाप्रसाद यादव, गणेश साहलगायतका नेताहरू खुलेका छन् । यसबाहेक महाचिवका आकांक्षीमध्ये एकजना बाहेक उपाध्यक्षमा अटाउन सक्नेछन् ।
अहिले दोस्रो वरीयतामा रहेका नेता नारायणकाजी श्रेष्ठका लागि भने वरिष्ठ पद सिर्जना हुनेसक्ने एक नेताले बताए । वरिष्ठ पद सिर्जना भयो भने त्यो श्रेष्ठकै लागि हुने ती नेताको भनाइ छ । ‘त्यो पद सिर्जना भयो भने त्यो उहाँकै लागि मात्रै हुनेछ,’ ती नेताले भने, ‘यसो हुँदा यसमा अनावश्यक विवाद हुँदैन ।’ श्रेष्ठ ०६५ सालमा तत्कालीन माओवादी र नेकपा एकताकेन्द्र मशालबीच एकता हुँदा उपाध्यक्षकै भूमिकामा थिए ।
यसबाहेक उपहासचिव र सचिव पदमा भने नेताहरूको व्यवस्थापन हुनेछ । साउनको केन्द्रीय कमिटीले अनुमोदन गरेको विधानअनुसार एक उपहासचिव र एक सचिव हो । यसमा फेरबदल गरेर नेताहरूको व्यवस्थापन गर्ने माओवादीले जनाएको छ ।
माओवादीमा अध्यक्षबाहेकका पदाधिकारीहरूको अधिकार के र कति ?
—उपाध्यक्ष
माओवादी केन्द्रको उपाध्यक्षले अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्यहरू गर्ने, अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने, अध्यक्षले प्रत्यायोजन गरेका अन्य अधिकारहरूको प्रयोग गरी कार्य गर्ने व्यवस्था विधानमा उल्लेख छ ।
यस्तैगरी अध्यक्षका काममा सहयोग गर्ने र आवश्यक परामर्श दिने, एकभन्दा बढी उपाध्यक्ष रहेको अवस्थामा उपाध्यक्षहरुबीचको कार्यविभाजन अनुरूपका कार्यहरू गर्ने, केन्द्रीय समिति, पोलिटब्यूराे तथा कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने अधिकार पनि उपाध्यक्षलाई विधानले दिएको छ ।
—महासचिव
महासचिव अध्यक्षपछिको कार्यकारी पद हो । विधानअनुसार महासचिवले अध्यक्षको निर्देशनमा राष्ट्रिय परिषद्, केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकका कार्यसूची तयार गर्ने र बैठक बोलाउने व्यवस्था विधानमा उल्लेख छ ।
यस्तै, अध्यक्षको निर्देशनमा पार्टीका नीति एवम् निर्णयको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी केन्द्रीय समिति, पोलिटब्यूराे, स्थायी समिति र केन्द्रीय कार्यालयको बैठकसमक्ष प्रस्तुत गर्ने, केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयको तर्फबाट राष्ट्रिय महाधिवेशन र राष्ट्रिय परिषद्को बैठकमा केन्द्रीय समितिको तर्फबाट संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने अधिकार विधानले महासचिवलाई दिइएको छ ।
माओवादी केन्द्रको विधानमा महासचिवले केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयका निर्णयहरू कार्यान्वयन गर्न अध्यक्षलाई सहयोग गर्ने, पार्टीको प्रशासकीय व्यवस्थापनको नेतृत्व र निर्देशन दिने तथा केन्द्रीय समिति, पोलिटब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने व्यवस्था छ ।
—उपमहासचिव
माओवादी केन्द्रका उपमहासचिवलाई महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने सम्पूर्ण कार्य गर्ने अधिकार विधानले दिएको छ । त्यस अतिरिक्त महासचिवले तोकेका वा अधिकार प्रत्यायोजन गरेका अन्य कार्यहरू गर्ने, महासचिवले गर्ने कार्यहरूमा सहयोग गर्ने र आवश्यक परामर्श दिने, एकभन्दा बढी उपमहासचिव भएमा उपमहासचिवहरुबीच कार्यविभाजन अनुरूपका कार्यहरू गर्ने जिम्मेवारी पनि विधानले उपमहासचिवलाई दिएको छ ।
यस्तै, उपमहासचिवले केन्द्रीय समिति, पोलिब्यूरो, स्थायी समिति र केन्द्रीय कार्यालयले तोकेका अन्य कार्यहरू गर्ने व्यवस्था पनि विधानमा उल्लेख छ ।
—सचिव
नेकपा माओवादी केन्द्रका सचिवलाई महासचिव र उपमहासचिवको अनुपस्थितिमा महासचिव र उपमहासचिवले गर्ने सम्पूर्ण कार्य गर्ने अधिकार विधानले दिएको छ ।
यस्तै, महासचिव र उपमहासचिवले प्रत्यायोजन गरेका अन्य अधिकारहरूको प्रयोग गरी कार्य गर्ने, महासचिव र उपमहासचिवको कार्यमा सहयोग गर्ने र आवश्यक परामर्श दिने जिम्मेवारी पनि विधानले सचिवलाई दिएको छ । विधानमा एकभन्दा बढी सचिवको व्यवस्था भएमा सचिवहरूको बीचमा कार्यविभाजन भएअनुरूका कार्य गर्ने उल्लेख छ ।