ग्लोबल आइएमईद्वारा १७५ वटा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकका अनुसार सातै प्रदेशका गाँउदेखि शहरसम्म डिजिटल बैंकिङ्ग साक्षारता कार्यक्रमहरु आयोजना गर्ने लक्षसहित सुरुभएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गरिसकेको जनाएको छ ।
बैंकले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, वागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदुरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ । उक्त अभियान आगामि हप्ता कर्णाली र काठमाडौँ उपत्यकामा थप कार्यक्रम सञ्चालन गरी समापन गरिने छ ।
यस्ता साक्षारता कार्यक्रम आयोजना गरी बैंकले बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरु देशव्यापी अभीयानको रुपमा चलाएको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ ।
आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरुलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरुको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।