मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबसाइडको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।

डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न र पठाउन मोबाइल क्यास, रकम जम्मा गर्न मोबाइल भौचर लगायतका सुविधा समेत थप गरेको बैंकले जनाएको छ ।

साथै, बैंकले समान रूपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको पनि स्तरोन्नति पनि गरेको जनाएको छ ।

एमभौचरको प्रयोग गरी मोबाइलबाटै डिपोजिट भौचर भर्न सकिने, एमक्यासको माध्यमबाट प्रयोगकर्ताले एसएमएसमा कोड पठाएर तुरुन्तै नगद भुक्तानी दिन/लिन सकिने, मोबाइलबाटै बैंकका कर्मचारीसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, क्युआर कोडको माध्यमबाट नगद निकाल्न सकिने तथा अन्य धेरै नयाँ विशेषताहरू रहेको बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले जानकारी दिए ।

मेगा स्मार्ट बैंकिङ्ग मोबाइल एपको स्तरोन्नति भएसँगै बैंकका ग्राहकले बैंकका सेवाहरू सम्बन्धी जानकारी, आफ्नो खाताको विस्तृत विवरण, मुद्दती खाता खोल्न, कार्ड आवेदन गर्न, रकमान्तर गर्न, क्युआर कोड मार्फत भुक्तानी गर्न, अनलाइन रकम भुक्तानी गर्नका साथै डिजिटल बैंकिङ सम्बन्धी समस्या परेमा उजुरी दिन सक्ने जस्ता सेवाहरूको लाभ मोबाइल बैंकिङ्ग एप र वेबको माध्यमबाट उठाउन सक्ने बैंकले जनाएको छ ।

त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरूले आफै रजिष्टर गरी अनलाइन बाट नै खाता खोल्न पाउनुका साथै बैंकले प्रदान गरिरहेका डिजिटल सेवाहरूको प्रयोग गर्न र जानकारी पाउन सक्नेछन् ।

पुराना प्रयोगकर्ताहरूले मेगा स्मार्ट बैंकिङ एपलाई अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरूले एप स्टोर वा प्ले स्टोरबाट मेगा स्मार्ट बैंकिङ एपलाई डाउनलोड गरी नयाँ सेवाहरूको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *