२३ वर्षको खेलाडी जीवन अन्त्य गर्दै हरभजन (भिडिओसहित)

काठमाडौँ । भारतका दिग्गज अफ स्पिनर हरभजन सिंहले क्रिकेट खेलाडीबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१६ देखि नै राष्ट्रिय टीम बाहिरै रहेका उनले क्रिकेटका कुनै पनि फर्म्याटमा नखेल्ने घोषणा गरेका हुन् । ट्विटरमा यसबारे जानकारी दिएका हरभजनले एउटा भिडिओ पनि सार्वजनिक गरेका छन् ।

भारतीय राष्ट्रिय टिमको निलो रङको ब्लेजर लगाएका हरभजनले अमृतसरदेखि भारतीय राष्ट्रिय टिमसम्मको यात्रा अविस्मरणीय रहेको बताएका छन् । उनले टेस्ट क्रिकेटमा ह्याट्रिक लिने भारतको पहिलो बलर बन्न पाउनु आफ्ना लागि बिर्सनै नसक्ने क्षण रहेको भन्दै खेलुन्जेल आफ्नो टीम सँधै पहिलो स्थानमा रहोस् भनेर मेहनत गरेको बताएका छन् ।
केही वर्षअघि नै सन्न्यास लिन चाहे पनि बल्ल समय आएको बताएका उनले राष्ट्रिय टिमकै जर्सीमा सन्न्यास लिने चाहना पूरा नभएकोमा दुःख व्यक्त गरेका छन् ।

अहिलेसम्मको सफलताका लागि आफ्ना बाआमा र गुरुलाई धन्यवाद दिएका उनले रक्षाबन्धनमा उपस्थित हुन नसक्दा बहिनीहरू तथा अरुबेला समय दिन नसकेको भनेर पत्नी गीताले चित्त दुखाउने गरेको स्मरण गर्दै अब त्यस्तो अवस्था कहिल्यै आउन नदिने वाचा पनि गरेका छन् ।

आफ्ना दुई सन्तानका साथ पर्याप्त समय बिताउने र उनीहरू ठूलो भएपछि आफ्ना पिताले क्रिकेटमा के के गर्थे भन्ने थाहा पाउने उनको विश्वास छ ।

भिडिओ सन्देशमा सिंहले भनेका छन्, ‘जीवनमा एउटा समय आउँछ, जब तपाईँले कठिन निर्णय लिएर अघि बढ्नुपर्ने हुन्छ । मैले यो घोषणा केही वर्षअघि नै गर्न लागेको हो । तर, तपाईँहरूलाई भन्नका लागि सही समयको प्रतीक्षामा थिएँ । आज म सबै प्रकारका क्रिकेटबाट अवकाश लिएको घोषणा गर्छु ।’

भारतीय राष्ट्रिय टिमबाट सिंह लामो समयदेखि बाहिर रहे पनि आईपीएल टिम कोलकात्ता नाइट राइडर्ससँग आवद्ध रहेकाले सन्न्यासको घोषणा भने गरेका थिएनन् ।

४१ वर्षका हरभजन सिंह अब आईपीएलको कुनै टिममा ‘सपोर्ट स्टाफ’का रुपमा रहनसक्ने जनाइएको छ ।

उनको करियरचित्र
पञ्जावका हरभजनले आफ्नो पहिलो टेस्ट क्रिकेट सन् १९९८ मा अस्ट्रेलियासँग र आफ्नो अन्तिम टेस्ट सन् २०१५ मा श्रीलंकासँग खेलेका थिए । ‘भज्जी’ नामबाट परिचित उनले आफ्नो पहिलो एकदिवसीय भने न्युजिल्यान्डसँग सन् १९९८ मा खेलेका थिए । उनले आफ्नो अन्तिम एकदिवसीय खेल २०१५ मा दक्षिण अफ्रिकासँग खेले ।

भज्जीले भारतका लागि १०३ टेस्ट खेल्दै ४१७ र २३६ एकदिवसीयमा २६९ विकेट लिए । उनले भारतका लागि २८ टी–ट्वेन्टीमा २५ विकेट लिए ।

हरभजनले २०१६ को एसियाकपमा यूएईसँग टी-ट्वेन्टी अन्तरराष्ट्रियमा आफ्नो अन्तिम अन्तरराष्ट्रिय खेल खेलेका थिए । यो खेल नै उनको अन्तरराष्ट्रिय करिअरको अन्तिम खेल बन्न पुग्यो ।

आईपीएलमा पनि भज्जी सक्रिय रहे । आईपीएलमा उनले १६३ खेलमा १५० विकेट लिएका छन् । उनले आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स तथा कोलकाता नाइटराइडर्सबाट खेले । भज्जी आईपीएलको गत सिजनमा कोलकाता नाइट राइडर्समा आवद्ध थिए । यद्यपि उनले आईपीएल २०२१ को दोस्रो फेजमा एउटा खेलमा पनि अवसर पाएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *