सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार तेस्रो जित


काठमाडौँ । एभिसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले लगातार तेस्रो जित निकालेको छ । आयोजक बंगलादेशलाई सहज रूपमा पराजित गर्ने क्रममा नेपालले सोझो सेटमा जित निकाल्यो ।
शनिबार ढाकामा भएको खेलमा २५-५, २५-१५ र २५-१७ को सेटमा जित हासिल गर्यो । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा जित निकालेको थियो । लगातार तीन जितसहित नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
महिलातर्फ आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल २९ डिसेम्बरमा हुनेछ ।
