प्रचण्डको निष्कर्ष- ‘अहिल्यै समाजवादी क्रान्ति सम्भव छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल ‘समाजवादी क्रान्ति’ सम्भव नहुने निष्कर्ष निकालेका छन् । यस विषयकाे प्रवेश प्रचण्डले आठौं महाधिवेशनमा प्रस्तुत गर्ने आफ्नो दस्ताबेजमा प्रवेश गराएका छन् । एक स्थायी कमिटी सदस्यले मकालुखबरसँग भने, ‘उहाँको दस्ताबेजमा तत्काल समाजवादी क्रान्ति सम्भव नहुनेतर्फ संकेत गरिएको छ ।’

प्रचण्डको उक्त दस्ताबेजप्रति ऐक्यबद्धता जनाउँदै ती नेताले नेताले भने, ‘अध्यक्ष कमरेडको कुरा मनासिब नै हो । किनकि तत्कालको अवस्था यस्तै छ, जटिल छ ।  नेपालमा प्रतिगमन अझै बाँकी छ भनेर हामीले भनिरहेका छौँ । यस्तो अवस्थामा तत्काल समाजवादी क्रान्ति सम्भव छैन भन्नू ठिकै हो । यद्यपि समाजवाद भनेकाे हाम्राे पार्टीकाे बटमलाइन नै हाे ।’

अहिलेको राष्ट्र समाजवादउन्मुख रहेको माओवादी नेताहरूले बताउँदै आएका छन् । त्यही नीतिअन्तर्गत माओवादी केन्द्रले समाजवादलाई आफ्नो रणनीतिक लक्ष बनाएको, तर यसलाई तत्कालीन कार्यनीति बनाउने परिस्थिति नरहेको प्रचण्डको निष्कर्ष छ । प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘हाम्रो अहिलेको नीति भनेको समाजवाद लागू गर्ने होइन नेपालमा । माओवादी पार्टीले समाजवाद भन्दै गर्दा हतारिएर परिस्थिति परिपक्व नभइकन समाजवाद लागू गर्ने, समाजवादी क्रान्तिको कुरा गरेको हो कि भन्ने भ्रम चाहिँ नरहोस् ।’

प्रचण्डले नेपालको आजकाे अवस्था तत्काल समाजवाद लागू गर्न नसकिने तर, यसलाई तत्कालीन कार्यनीतिअन्तर्गत भने राख्नुपर्ने बताएका छन् । ‘आजको परिस्थितिमा तत्काल समाजवाद लागू हुने स्थिति छैन,’ प्रचण्डले भनेका छन्, ‘तत्काल समाजवादी क्रान्ति अगाडि बढ्ने स्थिति पनि छैन । अहिले रणनीतिचाहिँ हाम्रो समाजवाद नै हो । यसको आधार तयार पार्ने कुरा हाम्रो संविधानले पनि दिएको छ । तर, राष्ट्रिय अन्तरराष्ट्रिय परिस्थिति, हाम्रो विकासको अवस्थामा समाजवादी कार्यक्रम अहिले नै लागू गर्न सक्ने परिस्थिति छैन ।’

अहिले अवस्था समाजवादउन्मुख रहेकाे प्रचण्डकाे निष्कर्ष छ । ‘अहिले हामी व्यवहारमा जाने तत्कालको कार्यनीति भनेको समाजवादउन्मुख स्वतन्त्र, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने कुरा हो,’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *