प्रचण्डकाे राजनीतिक दस्ताबेज:

‘आफ्नै दलमा गुटबन्दी माैलाउँदा परिवर्तनकाे रक्षामा प्रभावशाली भूमिका खेल्न सकिएन’

कम्युनिष्ट आन्दाेलनमा देखिएकाे समस्याकाे कारण वैचारिक अस्पष्टता हाे

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्याहरूको चुरो कारण विचारको विकास र स्पष्टताको अभाव भएकाे बताएका छन् । आज बिहान बसेकाे केन्द्रीय समितिकाे बैठकमा पेस गर्न तयार पारेकाे दस्ताबेजमा प्रचण्डले यस्ताे बताएका हुन् ।

विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय आयामबाट पनि हेर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूकाे प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।’

यस्तै प्रचण्डले आफ्नै पार्टीमा देखिएकाे समस्याका कारण साेचेजस्तै विकास, परिवर्तन र परिमार्जनमा भूमिका खेल्न नसकेकाे बताएका छन् । ‘केही वर्षदेखि स्वयम् हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन एवम् गुटवादी अराजकताका साथै शान्ति सम्झौता पछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनाैँ,’ प्रचण्डले भनेका छन्, ‘यसको परिणाम दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाए, पाइरहेका छन्  ।

यस्ताे छ प्रचण्डकाे दस्ताबेजकाे सारा‌ंश:—

आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनाैतीपूर्ण छ । जनताको लामो सशस्त्र एवम् शान्तिपूर्ण र बलिदानपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धिहरूमाथि प्रतिगामी हमला बढेर गएको छ । समावेशी र समानुपातिक चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्टाउन निरङ्कुश तत्वहरूले टाउकाे उठाइरहेका छन् । विभिन्न नाम र रूपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढदो छ । देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गदै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेको छ ।

निश्चय नै उपरोक्त प्रकारको प्रतिगामी र निरङ्कुश प्रवृत्ति र तत्वहरूका विरुद्ध संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा पनि नयाँ प्रकारको धुव्रीकरण र मोर्चाबन्दी अगाडि बढ्दै छ । नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको तथ्य प्रतिगमनविरोधी आन्दोलनमा व्यापक जनसहभागिताले स्पष्ट गरेको पनि छ ।

वाम–लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तत्कालीन र कार्यनीतिक रूपमा देश-विदेशी र प्रतिक्रियावादीहरूकाे प्रतिक्रान्तिकारी षड्यन्त्रको योजना असफल भएको छ । तर, रणनीतिक रूपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न्न भने रोकिएको छैन । वस्तुत: यो स्थिती भनेको नेपाली समाजमा विद्यमान वर्गसंर्घषकै राजनीतिक अभिव्यक्ति हो । हिजो जनयुद्ध र जनआन्दोलनबाट पराजित सामान्ती तत्वहरू, दलाल नोकरशाही र तिनका पृष्ठपोषक राजनीतिक दलहरू एकातिर एवम् मजदुर, किसान, राष्ट्रिय पूँजीपति वर्गसम्म र पहिचान पक्षधर राजनीतिक शक्ति, जाति क्षेत्र, लिङ्ग, समुदाय, देशभक्त बुद्धिजीवीसम्म अर्कोतिर धुव्रीकृत बनेर संर्घष चलिरहेको तथ्य सजिल्यै देख्न सकिन्छ ।

यो ऐतिहासिक रूपले अनिवार्य संर्घषका लागि, विजयका लागि अन्ततः वाम लोकतान्त्रिक शक्तिहरूले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफनो राजनीतक मुद्दालाई दृढताका साथ जनसमुदायमा सथापित गर्नु र आफनो आचरणलाई जनहितअनुकूल बनाउन अझ जोड लगाउन आवश्यक छ ।

यस सन्दर्भमा अझ स्पष्ट हुन जरुरी छ कि— महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवम् संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणालीसहितको धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख वाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ । तर केही वर्षदेखि स्वयम् हाम्रो पार्टीमा देखा परेको वैचारिक राजनीतिक अस्पष्टता, संगठनात्मक विभाजन एवम् गुटवादी अराजकताका साथै शान्ति सम्झौता पछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरी समेतका कारण हामीले परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न सकेनाैँ । यसको परिणाम दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूले टाउको उठाउने अवसर पाए, पाइरहेका छन् ।

यसको विषयमा हाम्रो पार्टीले गम्भीरताका साथ समीक्षा गर्दै सही विचार, राजनीतक कार्यदिशाको विकास गर्नुको साथै तदनुकूल संगठनात्मक संरचना एवम् कार्यशैलीको विकासमा जोड लगाउनु सर्वाधिक ध्यान दिनुपर्छ । आज राष्ट्रिय राजनीतिदेखि कम्युनिष्ट आन्दोलन र हाम्रो पार्टीमा समेत देखा परेका समस्याहरूकाे प्रमुख र चुरो कारण विचारको विकास र स्पष्टताको अभाव नै हो भन्ने तथ्यलाई आत्मसाथ गर्नुपर्छ । विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई हामीले राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय आयामबाट पनि हेर्नुपर्छ ।

वित्तीय पूँजीवादका रूपमा व्यक्त भइरहेकाे विश्वभूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभाव र आजको उत्पादक शक्ति र उत्पादनको वस्तुवादी आकलन गरेर तथा हाम्रो आफ्नै आर्थिक, राजनीतिक, सामाजिक विकासको ठोस अवस्थाको ठोस विश्लेषण र संश्लेषण गरेर मात्र विचारको विकास र स्पष्टता हासिल गर्न सकिन्छ ।

वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा उभिएर सही विचारधारात्मक राजनीतिक कार्यदिशाका आधारमा क्रान्तिकारी पार्टी र क्रान्तिकारी रुपान्तरणको ठोस आधार प्रस्तुत गर्ने चुनाैती आज हाम्रो अगाडि छ । एक्काइशौं शताब्दीमा विश्वकै पछिल्लो क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ताको हैसियतले [हामीजस्ताे एक्काइशौं शताब्दीको आन्दोलन कसैले पनि गरेको छैन] जनतामा रहेको कम्युनिष्ट आन्दोलनप्रतिको भरोसाको दृष्टिले तथा विभिन्न अन्तर्राष्टिय शक्तिकेन्द्रहरूकाे अन्तरविरोधको केन्द्रीकरणको विशेष स्थितिसमेतका कारण क्रान्तिकारी विचार, आन्दोलन, अवसर र चुनाैती दुवै हाम्रो अगाडि छन् ।

विगतको निर्मम आत्मसमीक्षा, वर्तमानको वस्तुवादी विश्लेषणका आधारमा समाजवादी क्रान्तिको भविष्यकाे स्पष्ट रूपरेखा खिच्नुछ । हाम्रो यो आठौं राष्टिय महाधिवेशनले आफ्नो मुख्य ध्यान विचार संश्लेषणको त्यही ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा दिनेछ । महान जनयुद्ध, ऐतहासिक जनआन्दोलनका अमर शहीदहरूप्रति हार्दिक श्रद्धान्जली व्यक्त गदै बेपत्ता एवम् घाइते योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गदै र उहाँहरूका परिवारजनप्रति उच्च सम्मान गदै यो आठौं राष्ट्रिय महाधिवेशन ती शहीदहरूका सपना पूरा गर्न निरन्तर क्रान्तिमा अगाडि बढ्ने प्रतिज्ञा गर्दछ ।

मलाई लागेको छ— यो निर्माण गर्न मेहनत परेकै छ । तर पनि पूर्ण छ भन्ने छैन । किनभने जुन चापको बीचमा अध्ययन गर्ने र लेखन कार्य गर्ने काम चापमा गर्नुपर्‍याे । त्यसले पक्कै पनि अझ बढी परिमार्जनको आवश्यकता छ नै । मलाई यो महाधिवशेनमा हुने बहसले त्यसलाई परिर्मान गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *