कामना सेवा फुटसल कप २०२१ को उपाधी सिद्धार्थ बैंकलाई

काठमाडौँ । कामना सेवा विकास बैंकले आयोजना गरेको ‘कामना सेवा फुटसलकप २०२१’ प्रतियोगिताको उपाधी सिद्धार्थ बैंकले प्राप्त गरेको छ । ‘स्वस्थ शरीर, स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ उक्त प्रतियोगिता पुस ९ र १० गते आयोजना गरिएको थियो ।

हाँडीगाउँ स्थित धन्यन्तरी फुटसल मैदानमा शनिबार भएको फाइनल खेलमा माछापुच्छ्रे्रलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेल निर्धारित समयमा दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा भएको थियो । निर्धारित समयमा सिद्धार्थको तर्फबाट भाष्कर देवकोटा र राजु श्रेष्ठले गोल गरेका थिए ।

माछापुच्छ्र्रेको तर्फबाट अभय राना र सञ्जय राना मगरले गोल गरेका थिए । टाइब्रेकरमा सिद्धार्थ बैंक दुई एकले विजयी बन्यो । प्रतियोगितामा माछापुच्छ्रे्का निकेश केसी उत्कृष्ट गोलकिपर ठहरिए भने सिद्धार्थका शान्तिराम कार्की सर्वाधिक गोलकर्ता र सिद्धार्थकै भाष्कर देवकोटा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा टिमलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, बैंकका सञ्चालक विश्वेश्वर सुवेदी, नेपाल पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराई, बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल लगायतले मेडल, ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कामना सेवा विकास बैंकले आयोजना गरेको प्रतियोगिता खेलपाटीको व्यवस्थापनमा भएको थियो । प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाको फुटसल कमिटीले सहकार्य गरेको थियो । उक्त फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीसमेत गरी २४ वटा टिम सहभागी भएका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *