प्रचण्डले खुबै मन पराएको सीपी मैनालीको सम्बोधनमा के छ ?
काठमाडौँ । आइतबार (आज) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा भवनमा सम्पन्न गर्याे । अन्तिम प्रहरमा आएर पहिलो राष्ट्रिय सम्मेलनलाई ८औं राष्ट्रिय महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको उद्घाटनसत्रअन्तर्गतको समारोहमा प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाहीसम्म उपस्थित थिए ।
समग्रतामा ‘माओवादी मञ्च’ सौहार्दपूर्ण थियो । शुभकामना व्यक्त गर्न समारोहमा उपस्थित भएका नेताहरूले तिक्तापूर्ण बचन बोलेनन् । प्रचण्डले समारोह विसर्जन गर्दै खुसी मान्दै भने— ‘मलाई बडो खुसी लाग्यो । आज नेताहरूले बडो कदरतापूर्वक बोल्नुभयो । हाम्रो पार्टीप्रति सद्भाव देखाउनुभयो । यो खुब मन पर्याे ।’
समारोहका बीच नेकपा (मालो) का महासचिव सीपी मैनालीले पनि सम्बोधन गरे । त्यसो त प्रचण्ड र मैनालीबीच त्यति सौहार्दपूर्ण सम्बन्ध छैन । उनीहरूबीच विभिन्न मञ्चहरूमा राजनीतिक घोचपेच परिरहन्छ । यद्यपि आफ्नै मञ्चमा भने प्रचण्ड मैनालीसँग खुसी भए । आत्मलोचना गरिरहेका प्रचण्डले माओवादीलाई प्रश्नैप्रश्न गरिएको मैनालीको सम्बोधन खुबै रुचाए । एक हिसाबले भन्ने हाे भने प्रचण्ड मैनालीकाे सम्बाेधनकाे ‘फ्यान’ नै भए ।
आफ्नो सम्बोधन सकेर ‘पोडियम’बाट आफूले आसनग्रहण गरेको स्थान सोझिएका मैनालीलाई प्रचण्डले रोकेर भने— ‘सीपीजी तपाईंको सम्बोधनको कपी मलाई पनि उपलब्ध गराउनुहोला । बडो मार्मिक लाग्यो ।’ कार्यक्रमको अन्तिममा दिने जबाफ दिँदै मैनाली आफ्नै स्थानमा गएर बसे । यसपछि सभाध्यक्षको हैसियतले प्रचण्डले कार्यक्रमको विसर्जन गरेपछि मैनालीले प्रचण्ड भएको ठाउँमै गएर हात मिलाउँदै सम्बोधनको कपी उपलब्ध गराए ।
यस्तो छ मैनालीको सम्बोधनः—
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहको अतिथिदीर्घामा उभिएर म देशभक्त परिवर्तनवादी पार्टी नेकपा माले र आफ्नै तर्फबाट समेत यस महाधिवेशनको सफलताको कामना गर्दछु । यस पार्टीमा समर्पित नेता तथा कार्यकर्ताहरुको सार्वजनिक भएको चाहानाअनुसार महाधिवेशनले गर्ने फैसला र त्यसले लिने कार्यदिशाले यस पार्टीलाई नवजीवन प्रदान गर्न सकोस् भन्ने कामनासमेत गर्दछु ।
कमरेडहरू एवम् मित्रहरू, मैले सुन्ने गरेको छु— तपाईंहरूले पनि अवश्य सुन्नुभएको हुनुपर्छ कि, हिजोआज जताततै जनताले भन्ने गर्छन्, हामीले पटकपटक व्यवस्था बदल्यौं, तर हाम्रो अवस्था बदलिएन । मैले यसलाई जनताको हामीप्रतिको हामी जो समय समयमा व्यवस्था परिवर्तनको वाहक बन्यौं, हामीप्रति उनीहरूकाे यस असन्तुष्टिका रूपमा र जनताका जबाफतलबका रूपम मैले बुझेको छु, लिएको छु । किन यस्तो गर्याैँ ? किन यस्तो भयो भनी आक्रोशित नजरका साथ निर्देश जनताले झम्टिरहेको जस्तो मैले मानेको छु ।
मलाई कहिले लाग्छ, इतिहासले विगतका हाम्रा आन्दोलनहरूलाई नेपाली जनताको स्वतन्त्र तथा इमान्दार राष्ट्रिय जनवादी आमूल परिवर्तनका निम्ति प्रयोगशालामा मात्र दर्ता गरिदिने त होइन ? नेपाली इतिहासको १० बर्षे कालखण्डबाट गुज्रँदै एउटा विश्व चर्चित आन्दोलनबाट आएको यस पार्टीको महाधिवेशनले जनताका यस्ता असन्तोष तथा जबाफतलब इतिहासका सम्भावित फैसलालाई अवश्य सम्बोधन गर्नेछ, यसो भनेर मैले किन आशा नगरौं ?
आयोजक नेतागण, उत्सुक सहभागीहरू तथा मित्रहरू मैले ठूल्ठूला प्रश्न आयोजक नेतागणका अगाडि उभिएको देखिरहेको छु । तीनका सही जबाफ समीक्षाबाट तथ्यबाट सत्य खोज्ने माध्यमबाट ननिकाल्ने हो भने देशमा एकखाले अन्योल कायमै रहनेछ ।
हाम्रो आफ्नै जनवादी जनक्रान्ति सम्पादन गर्ने बाटो कुन हो ? जति राजनीतिक आन्दोलन गरेपनि र जनताका अधिकार जति बढाएजस्तो लागे पनि किन हामीलाई झन्झन्, आन्तरिक गोलमाल र बाह्य चक्रव्यूहमा फसिरहेको अनुभव भइरहेको छ ? के साँच्चै हामी हाम्रा अन्तर्राष्ट्रिय गुरुहरूका यस्ता शिक्षा र अनुभवहरूलाई नेपालको वस्तुस्थिति र विशेषताअनुरूप सटिक ढंगले लागु गरिरहेका छौं ?
एउटा लक्ष्य प्राप्तिका निम्ति शुरू गरिएको एउटा आन्दोलन, जसका निम्ति राष्ट्र र जनताले अकुत बलिदान गरेका छन्, अर्कै वस्तु लिएर दिशा मोड्न पुगेको छ, तब नमेटिने गरी जिज्ञासाहरू उठेका छन् किन ? किन त्यो तात्कालिक लक्ष्य प्राप्त भएन ? त्यो घोषित लक्ष्यलाई कसले अपहरण गर्याे ? अथवा के त्यो लक्ष्य लिनु नै समय सापेक्ष थिएन ? समयले जबाफ खोजिरहेको छ । जिम्मेवार राजनीतिक पार्टीले आफूतिर उभिएका यस्ता प्रश्नबाट मुख मोडिरहन सक्छ र ? सक्दैन भनी म किन आशा नगरौँ ?
मार्क्सवाद उत्पीडित जनता र उत्पीडित राष्ट्रहरूकाे पक्षधर सर्वाहारा वर्गीय विज्ञानसम्मत सिद्धान्त हो भनी विश्वभर ख्यातिप्राप्त छ । विश्वमा उत्पीडक शासकहरूद्वारा सञ्चालित राष्ट्रहरू पनि छन् । यस्ता शासकहरूबाट सञ्चालित राष्ट्रको परोक्ष संलग्नतामा सञ्चालित आन्दोलनले उत्पीडित राष्ट्रलाई स्वतन्त्रतालाई मुक्ति दिन सक्दैन भन्ने मार्क्सवादी मान्यताविपरीत आचरण गर्ने राजनीतिक शक्तिले कसरी आफूलाई २४ क्यारेट मार्क्सवादी हुँ भन्ने दाबीलाई प्रमाणित गरिरहन सक्छ ? यस्तो आरोपलाई जिम्मेवार आयोजक मित्र नेतागणहरूले पार्टीको यस आठौं राष्ट्रिय महाधिवेशनमार्फत सम्बोधन गर्नुहुनेछ भन्ने मैले किन आशा नगर्ने ?
कुनै पनि यूनिर्सल सिद्धान्तलाई कुनै पनि देश विशेषमा त्यसका वस्तुस्थिति र त्यसका विशेषताअनुरूपअनुकूल हुनेगरी मात्र लागू गर्न सकिन्छ । यो कुरा मार्क्सवाद र नेपालबारे पनि लागू हुन्छ । नेपालमा मार्क्सवादलाई नेपाली जनताको राष्ट्रिय जनवाद र त्यसको जनवादी सत्ताप्राप्तिका निम्तिको आन्दोलनमा संगठित ढंगले एकाकार गर्न खोजिएको ७२ वर्ष पुगिसकेको छ । तर, पनि यस प्रयत्नमा कहीँ कतै ठूल्ठूला भ्वाङहरू भइरहेको प्रतीत भइरहेको छ ।
हाम्रो आफ्नै जनवादी जनक्रान्ति सम्पादन गर्ने बाटो कुन हो ? जति राजनीतिक आन्दोलन गरेपनि र जनताका अधिकार जति बढाएजस्तो लागे पनि किन हामीलाई झन्झन्, आन्तरिक गोलमाल र बाह्य चक्रव्यूहमा फसिरहेको अनुभव भइरहेको छ ? के साँच्चै हामी हाम्रा अन्तर्राष्ट्रिय गुरुहरूका यस्ता शिक्षा र अनुभवहरूलाई नेपालको वस्तुस्थिति र विशेषताअनुरूप सटिक ढंगले लागु गरिरहेका छौं ? आफूलाई विशिष्ट आन्दोलनबाट खारिएका साहसी नवप्रर्वतनकारी नेता भएको महशुस गर्ने आयोजक नेता मित्रहरूबाट यसै महाधिवेशनमा पनि उपरोक्त प्रश्नहरूलाई सम्बोधन गर्ने प्रयत्न हुनेछ भनी मैले किन आशा नगर्ने ?
अन्त्यमा, नेपाली कम्युनिष्ट आन्दोलनका विविध पक्षका विवरण प्रस्तुत गर्नुभन्दा पनि माथि उल्लेखित प्रश्नहरूकाे सही जबाफ खोज्नपट्टि लाग्नु नै आजको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ । यस्ता प्रश्नहरूकाे जबाफ खोज्दै नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताका साथ सम्पन्न होस् भन्ने पुनः कामना गर्न चाहान्छु ।