माओवादी केन्द्रमा बहस : प्रचण्डपथ किन ?
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादवले पार्टीको ८औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दे ‘प्रचण्डपथ’को बहस छेडे, भने— ‘माओवादी जनयुद्धले स्थापित गरेको विचार प्रचण्डपथ हो । यसलाई विचार गर्नुको साटो हामीले छाडिदियौँ क्रान्ति रनभुल्लमा पर्याे ।’ हुनलाई माओवादीको महाधिवेशनबाट विभिन्न पदमा आकांक्षा देखाइरहेकाहरू प्रचण्डको देवत्वकरण गर्न लागिपरेका छन् । जहाँ मञ्च पायो उनीहरू प्रचण्डको विकल्प नभएको मात्र होइन, अहिले नै नेतृत्व छोड्छु भन्नु ‘क्रान्तिबाट भाग्नु हुने’ भन्न पनि पछि पर्दैनन् ।
नेता यादवको मात्र कुरा होइन, माओवादीभित्र प्रचण्डपथको चर्चा केही समयदेखि बढेको छ । जारी महाधिवेशनमा ‘प्रचण्डपथ’ बारे थप बहस गर्ने नेताहरूले बताएका छन् । शान्ति प्रक्रियामा आएपछि छोडेको प्रचण्डपथमाथि अहिले फेरि बहस किन ? भन्ने प्रश्नमा माओवादी केन्द्रका नेताहरूका आ-आफ्नै तर्क छन् । प्रचण्डपथ छोडेर अर्को विचारकाे बाटो तय नर्गदा वैचारिक अकर्मन्यता भएकाले पुनः प्रचण्डपथमाथिको बहस गर्नुपरेको बताउँछन् पार्टीको संगठन विभाग प्रमुख जनार्दन शर्मा । ‘प्रचण्डपथको आह्वानमा मान्छे जुर्मुराएर आए, राजतन्त्रलाई धुलो चटाए’ उनी भन्छन्, ‘प्रचण्डपथ छोड्दा अर्को यो है बाटो भनेर तय गर्नुपर्थ्याे । त्यसो नगर्दा वैचारिक अकर्मन्यता भयो, जसका कारण पार्टीमा क्षयीकरण भयो । पार्टी फुट्यो अन्तरविरोध बढ्यो । विविध समस्या आए ।’
सशस्त्र विद्रोहबाट खुला राजनीतिमा आइसकेपछि माओवादीले गरेका मुख्य गल्तीमध्ये एउटा प्रचण्डपथ त्याग्नु रहेको उनको भनाइ छ। विद्रोहयताका २५ वर्ष प्रचण्डले अगाडि सारेका विचारहरूमा देश चलेको उल्लेख गर्दै नेता शर्मा थप्छन्, ‘शान्ति प्रक्रियाको मिसन, संविधान निर्माणको सिमन, राज्य पुनर्संरचना, समावेशी समानुपातिक प्रतिनिधित्वसहित नयाँ लोकतन्त्रको अवधारण पनि हामीले ल्याएका हौं ।’ पुनः प्रचण्डपथबारे बहस गर्नुपको अर्थ पार्टीलाई अगाडि बढाउने नयाँ बिचार खोजिएको रुपमा बुझ्नुपर्ने उनको तर्क छ । ‘अहिले फेरि प्रचण्डपथ भन्नुपर्छ भनेको पनि होइन, नयाँ विचार चाहियो भनेको हो’ शर्माले भनेका छन् ।
सशस्त्र विद्रोह चलिरहेकै बेला ०५७ साल माघ २६ गतेदेखि फागुन १ गतेसम्म भारतको भटिन्डा, पञ्जावमा भएको तत्कालीन माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथ पारित गरेको थियो । मार्क्सवाद-लेनिनवाद–माओवाद र प्रचण्डपथ पारित गरेको माओवादीले सोहीअनुसार वैचारिक राजनीतिक, सांगठनिक र फौजी कामकारबाही सञ्चालन गर्याे ।
०६३ सालमा शान्ति प्रक्रियमा आएपछि पनि माओवादीले प्रचण्डपथ छोडेको थिएन । ०६४ साल चैतमा पहिलो संविधानसभा चुनावमा भाग लिँदासम्म माओवादीले प्रचण्डपथ छाडेको थिएन । ०६५ साल मंसिर ६ देखि ११ गतेसम्म भक्तपुरको खरीपाटीमा सम्पन्न राष्ट्रिय भेलाले पनि पार्टीभित्रको असहमतिकाबीच प्रचण्डपथलाई निरन्तरता दिएको थियो ।
तर, ०६५ पुस ३० गते नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग पर्टी एकता भएर एकता अधिवेशन भयो । जहाँ प्रचण्डले तत्कालका लागि प्रचण्डपथलाई स्थगित गर्ने प्रस्ताव राखे । र त्यो प्रस्ताव पारित भयो । त्यसयता माओवादीले प्रचण्डपथ नभनेर मार्क्सवाद–लेनिनवाद–माओवाद र विचारधारालाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्दै आएको छ । परिस्कृत गरेर ब्यूँताउने प्रस्ताव पार्टी एकता आदि प्रक्रियाले स्थगन गरेको प्रचण्डपथबारे अब समीक्षा, विश्लेषण र संश्लेषण गर्ने ठाउँमा आइपुगेको बताउँछिन् माओवादीका स्थायी कमिटी सदस्य पम्फा भुसाल । प्रचण्डपथबारे उनको थप व्याख्या छ— ‘हिजो स्थगन गरेको ठाउँमा फर्किएर मात्र पुगिन्न, अगाडि जानुपर्छ । त्यो यता विकसित भएको परिस्थितिबाट विचारलाई परिस्कृत गरेर जानुपर्छ ।’
प्रचण्डपथ भनेको ध्रुवसत्य कुराका रूपमा नभएर नेपालको विशिष्ट विचारका रुपमा विकास भएको बताउँछन् अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल । तर, विभिन्न पक्षसँग एकता गर्नुपर्ने परिस्थिति र शान्ति प्रक्रियामा आएपछिका राजनीतिक मुद्दाहरूलाई पनि समेटेर लैजानुपर्ने अवस्थाका कारण प्रचण्डपथ स्थगित गर्नुपरेको उनको तर्क छ । ‘हामीले प्रचण्डपथको विचारलाई अगाडि बढाउने, तर अरुले लिएको विचारलाई समेट्नुपर्ने भएकाले प्रचण्डकै प्रस्तावमा त्यसलाई स्थगन गरिएको हो । र एकता गर्दै जाँदा एमालेसँग एकता गर्ने स्थितिसम्म पनि पुग्याैँ’ पौडेलले स्मरण गरे । नेता पौडेल थप्छन्, ‘प्रचण्डपथ स्थगन गरेर बढाइएको एकताले गलत कि ठीक गर्याे भन्नेमा विश्वविद्यालयकै रूपमा शिक्षा दियो । विभिन्न एकताले शिक्षा दियो, त्यो एकीकरणसँगै जनयुद्धकै माओवादीहरू पनि विभाजित हुनु र टुटफुट हुनुले फरक प्रकारको शिक्षा दिएको छ ।’
तर, माओवादीले जतिबेला प्रचण्डपथ अङ्गिकार गरेको थियो त्यसबेला प्रचण्डपथको विरोध गर्ने र प्रचण्डपथको ठूला कुरा गर्नेहरुका पनि अनुभव आफूहरूले सङ्गालिसकेकाे उनको भनाइ छ । ‘हिजो प्रचण्डपथका ठूला कुरा गर्ने साथीहरू पनि छोडेर जानुभयो । विचारधारा नै भन्ने साथीहरू अन्तै पुग्नुभयो । प्रचण्डपथको संश्लेषण गरेर प्रस्तावकै रूपमा रहनुभएका साथीहरू पनि हुनुहुन्न । प्रचण्डपथ बढी भयो भन्ने साथीहरू फेरि यही हुनुहुन्छ, यी अनुभव हुन्,’ पौडेलले भनेका छन् ।
माओवादी केन्द्रका नेताहरूकाअनुसार तत्कालीन राज्यसत्तालाई झस्काउन, तत्कालीन राज्यसत्तालाई ढलाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विशेष जिम्मेवारी नेतृत्वमा रहनेगरी ल्याइएको तत्कालीक कार्यनीति हो प्रचण्डपथ । अर्का एक नेताले प्रचण्डपथको व्याख्या गर्दै भने, ‘फलाम काट्ने फलामले हो भन्छन् नि हो त्यस्तै हो प्रचण्डपथ । तत्कालीन राजासँग मुकाबिला गर्न पार्टीमा जिम्मेवारीप्राप्त अर्को राजाजस्तै बलवान् मान्छे चाहिन्थ्यो त्यसैको रूप हो प्रचण्डपथ ।’
ती नेताकाअनुसार प्रचण्डपथ तत्कालीन राज्यसत्ता ढलाउने र जनताको राज्यसत्ता स्थापनाका खातिर प्रचण्डपथ ल्याइएको भएपनि शान्ति प्रक्रियापछि पार्टीले नै विशेष जिम्मेवारी दिएर बनाएको शक्तिशाली प्रचण्ड निरन्तर शक्तिमा रहे । राजतन्त्र ढलेपनि पार्टी सत्तामा भने प्रचण्ड नै हावी भइरहे । परिणामत: त जनयुद्धमा सँगै रहेका नेताहरू शान्ति प्रक्रियापछि छिन्नभिन्न रहे । हुन त प्रचण्डपथलाई अगाडि बढाउँदा नै डा.बाबुराम भट्टराई, मोहन वैद्यलगायतले फरक मत राखेका थिए । ती फरकमतलाई बहुमतले लत्याउँदै अगाडि बढेको प्रचण्डपथ लामो समय टिकिरहन सकेन । र बाबुराम र वैद्य पनि अहिले पार्टीमा छैनन् । र फेरि प्रचण्डपथमाथि बहस सुरु भएको छ । यसलाई परिस्कृत गरेर अगाडि ल्याउनुपर्छ भन्ने माओवादी केन्द्रका नताहरु प्रचण्डपथलाई मौलिक विचारकाे रूपमा समेत व्याख्या गर्ने गर्दछन् ।
अर्कातिर पार्टी एकताको बहस पनि चलाउँदै गरेको माओवादीभित्र प्रचण्डपथलाई फेरि बहसमा लैजानुपर्ने विषयले कतिकाे महत्व पाउँछ र जारी महाधिवेशनमा यसबारे के र कस्तो बहस हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ ।