उज्वेकिस्तानले तय गर्यो नेपालसँगको फाइनल भेट


काठमाडौँ । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा नेपाल र उज्वेकिस्तान खेल्ने भएका छन् । सोमबार भएको रोमाञ्चक खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा पाखा लगाउँदै नेपालसँगको उपाधि भेट पक्का गरेको हो ।
सुरुवाती दुई सेट २६-२४, २५-१८ ले जितेर बलियो बनेको उज्वेकिस्तान विरुद्ध श्रीलंकाले त्यसपछिका तेस्रो र चौथो सेटमा जित निकाल्दै खेल २-२ को अवस्थामा ल्याएको थियो। श्रीलंकाले २५-२० र २५-१९ ले जित्दै खेल पाँचौँ तथा निर्णायक सेटमा धकेलेको थियो। जहाँ उज्वेकिस्तानले १५-१२ ले खेल आफ्नो पक्षमा पार्दे फाइनलमा स्थान बनायो।
नेपाल भने आइतबार नै उज्वेकिस्तानलाई पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको छ । नेपालले समूहको अन्तिम खेलमा केहिबेरपछि किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। नेपाल प्रतियोगितामा अपराजित रहेकाले किर्गिस्तानलाई हराउँदै शतप्रतिशत नतिजा निकाल्ने ध्याउन्नमा छ।
