प्रचण्डको दस्ताबेजकाे सार- ठूलो जनाधारबाट शान्तिपूर्ण क्रान्ति, प्रचण्डपथकाे ‘च्याप्टर क्लाेज’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको पहिलो दिनको बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । काठमाडौँको प्रज्ञा भवनमा जारी बन्दसत्रमा प्रचण्डले सवा २ घन्टा लगाएर आफैँले तयार गरेको प्रतिवेदन वाचन गरेका हुन् ।

प्रचण्डले आफ्नो प्रतिवेदनलाई ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ नाम दिएका छन् । उनले प्रतिवेदनमा ७ वटा उपशिर्षकहरू राखेर व्याख्या गरेका छन् । भूमिका/विषय प्रवेश, संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पूँजीवादीमाथिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति–कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू र पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखा गरी प्रचण्डले आफ्नो प्रतिवेदनमा ७ उपशिर्षकहरू राखेका छन् ।

पार्टीको वैचारिक विकास र समाजवादी क्रान्तिसँगै प्रविधिसँग जोडिएको समाजवादलाई मुख्यगरी छलफल र बसहको विषय बनाएका प्रचण्डले शान्तिपूर्ण क्रान्तिलाई आजको आवश्यकताका रूपमा चित्रण गरेका छन् । एमालेसँगको एकता भङ्ग भएपछि चुस्त तरिकाले अगाडि बढ्न जमर्को गरिरहेको माओवादीले महाधिवेशनलाई ‘पार्टीको सांगठनिक र वैचारिक विकासको सुदृढिकरण’ भनेको छ ।

प्रचण्डले प्रस्तुत गरेको दस्ताबेजमा निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुनेलगायतका विषयहरू समेटिएका छन् । जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गई व्यापक जनाधार खडा गरी शान्ति पूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने विषय दस्ताबेजमा छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले भनेका छन्, ‘शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधीनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ भन्ने नै अध्यक्ष कमरेडको दस्ताबेजको सार हो । तपाईंहरूले फेरि कस्ताे क्रान्ति भन्नुहाेला नि, क्रान्ति शान्तिपूर्ण पनि सम्भव छ । हामीले यसैकाे तयारी गर्नुपर्ने अध्यक्ष कमरेडकाे दस्ताबेजकाे मूल सार हाे ।’

यसैगरी प्रचण्डले दस्ताबेजमार्फत ‘प्रचण्डपथ’ काे पुन:स्थापना असम्भव रहेकाे औंल्याएका छन् । ‘छलफल नगरी प्रचण्डपथ स्थगन गर्नु गलत भयो, तर अब प्रचण्ड पथ पुनःस्थापना सम्भव छैन । यो एक सन्दर्भ सामाग्री मात्रै हुन सक्छ,’ प्रचण्डकाे विश्लेषण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *