राम कार्की भन्छन्ः

‘राजनीति छाेडेर विकास गराैँ भन्नू टाउकाे छाेडेर हिँडाैँ भन्नूजस्तै हाे’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता राम कार्कीले राजनीतिबिना विकास सम्भव नरहेको बताएका छन् । पार्टीको जारी ८औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भन्दा छुट्टै दस्ताबेज जारी गरेका कार्कीले ‘राजनीति बढी भयो, अब विकास गर्नुपर्छ‘ भन्नु ‘घरमै टाउको छोडेर खुट्टाले छिटोछिटो हिँड्छु’ भन्नूजस्तै भएको दृष्टान्त सुनाएका हुन् ।

नेपालमा सबैतिर राजनीतिलाई छोडेर विकासतिर लाग्नुपर्ने बहस शुरू भएको उल्लेख गर्दै कार्कीले भनेका छन्, ‘टाउकोबिना हिँड्न सकिँदैन । टाउकै बोकेर चाँडो हिँड्न राम्रो हुन्छ ।’ प्रचण्डको दस्ताबेज पढेर आफूले अर्को दस्ताबेज तयार नपारेको स्पष्ट पार्दै कार्कीले भने, ‘मलाई जे लाग्यो त्यो नै लेखेको हुँ । नेता/कार्यकर्ताहरूले पढून् भनेर लेखेको हुँ । यो अध्यक्ष कमरेडलाई चुनौती दिनेगरी लेलिएको होइन ।’

आफ्नो दस्ताबेजलाई पार्टीले सम्पतिको रूपमा ग्रहण गर्नुपर्ने उनको माग छ । ‘मसँग जबाफहरू केही छैन । मसँग खालि प्रश्नहरू छन्, त्यो प्रश्नहरूलाई सवालको रूपमा मैले दस्ताबेजमा राखेको छु,’ कार्कीले भने, ‘नेपाललाई नयाँ बाटो, नयाँ विचार, नयाँ ज्ञान चाहिएको छ । आफूसँग भएको चिजलाई मैले कार्यकर्ताहरूसमक्ष ल्याएको हुँ । यसमा केही पूर्वाग्रह छैन ।’

नेपालमा ज्ञानको परम्परा नभएको उनको ठम्याइँ छ । गौतम बुद्धको उदाहरण दिँदै उनले भने, ‘बुद्ध, किरात, काठमाडौँ, खस तपाईं जेको भन्नूस्, यो ज्ञान बाँड्ने वा निरन्तरता दिने परम्परा एकदमै कम छ । बुद्धको जे-जति प्रचार भएको थियो, त्यो पनि निर्ममतापूर्वक रोकियो । यी विषयहरू पीएचडीको विषय बन्नूपर्थ्यो । आज हाम्रो चेतना कमजोर बनेको छ । त्यसैले अब ज्ञान बढी भयो भन्ने होइन, थप्ने हो र रणनीति तयार पार्ने हो ।’

नेपालको संघीयता सही तरिकाले नचलेको कार्कीको दाबी छ । ‘संघीयता भनेको चौतारामा बसेर, चौरमा बसेर पाटीपौवामा बसेर छलफल गर्न सकियोस्, सरोकारको विषय आफ्नो नेताहरूलाई सुनाउन सकियोस् भन्ने हो,’ उनले भने, ‘तर, हाम्रो चाहिँ मेयरको ८० लाखको गाडी हुन्छ, उपमेयरको ७० लाखको गाडी हुन्छ । उनीहरू आ–आफ्नै गाडी लिएर पास्नी, न्वारनतिर जान्छन् । त्यो भनेको नेपालले सक्ने विषय हो ? त्यसैले मैले भनेको हो हाम्रो संघीयता ‘बुख्याँचा’ जस्तो भयो भनेर । यसलाई सुधार्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *