माओवादी महाधिवेशन : आज प्रतिवेदनमाथिको निष्कर्ष सुनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको निष्कर्ष सुनाइँदै छ । राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा आज मध्यान्न १२ बजेसम्मका लागि समय थप गरिएको छ ।

अधिकांश समूहले मंगलबार नै वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले आज मध्यान्न १२ बजेभित्र छलफल सक्ने नेता हरिबोल गजुरेलले बताए । समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्ताबेजमाथि समर्थन जनाउँदै सुझाव दिएका छन् । ती सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरूले आज १२ बजेपछि महाधिवेशन स्थल प्रज्ञा भवनमा निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

छलफलको निष्कर्ष सुनाउन प्रत्येक समूहका समन्वयकर्तालाई १५ मिनेटको समय दिइने माओवादीले बताएको छ । मंगलबार भएको समूहगत छलफलको अध्यक्ष प्रचण्डले स्थलगत अनुगमनसमेत गरेका थिए । प्रचण्डको प्रतिवेदनमाथिको छलफलका क्रममा महाधिवेशनका सहभागी १७ सय प्रतिनिधिले विगतमा भएको कमजोरीको आत्म समीक्षासहित भावी रणनीतिको विषयमा छलफल गरेका हुन् ।

सोमबार प्रचण्डले प्रस्तुत गरेको ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्ताबेज र स्थायी कमिटी सदस्य देव गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार दिनभर समूहगत छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *