प्रचण्डले आफैँलाई सोध्नुपर्ने प्रश्न- किन टाढिए समकालीन नेताहरू ?
काठमाडौँ । साता दिनअघि मकालुखबरसँगको कुराकानीका क्रममा माओवादी नेता राम कार्की ‘पार्थ’ ले भने— ‘माओवादीसँग प्रचण्डबाहेक बाँकी केही छैन ।’ सिद्धान्त, विचार, जनसेनादेखि हतियारसम्म माओवादीले गुमाइसकेको उल्लेख गर्दै उनले थपेका थिए— ‘त्यही पनि प्रचण्ड आफैँ प्रश्नहरूको कठघरामा हुनुहुन्छ ।’
नेता कार्कीले भनेझैँ यतिबेला प्रचण्डका वरिपरि थुप्रै ‘यक्ष’ प्रश्नहरू घुमिरहेका छन्, पार्टीलाई सुदृढिकरण गरेर अगाडि जाने हो भने प्रचण्डले ती प्रश्नहरूको सामना जरुर गुर्नपर्छ । टड्काराे रूपमा प्रचण्डले आफैँलाई सोध्नुपर्ने प्रधान प्रश्न हाे— ‘पार्टी जीवनको यो समयसम्म आइपुग्दा पार्टी स्थापनादेखि सशस्त्र विद्रोह निष्कर्ष पुर्याउने र त्यसपछि पनि केही समय मसँगै रहेका समकालीन नेताहरू किन मसँगै रहिरहन सकेनन् ?’
हुन त प्रचण्डले जारी ८औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्ताबेजमार्फत थुप्रै विषय र प्रसङ्गहरूमा आत्मालोचना गरेका छन् । संविधान निर्माण, विद्रोह स्थगन, सेना समायोजनदेखि कतिपय पार्टीगत निर्णयहरूमा आफूबाट ‘ब्लन्डर’ भएको उनको भाव देखिन्छ । तर, अहिले आत्मालोचना गर्न ढिलो भइसकेको उनीसँगै काम गरेको नेताहरू बताउँछन् । अहिले एमालेमा रहेका नेता मणि थापा भन्छन्, ‘प्रचण्ड कमरेडले आत्मालोचना त गर्नुभयो, तर ढिलोगरी गर्नुभयो । जत्तिबेला उहाँले आत्मालोचना गर्नुपर्थ्यो, त्यत्तिबेला गर्नुभएन । अब आत्मालोचना गर्ने चरण नै गुज्रियो ।’
प्रचण्डलाई सांगठनिक र राजनीतिक रूपमा चुनौती दिने नेताहरू पार्टीमा कोही छैनन्, फलतः जारी ८औं राष्ट्रिय महाधिवेशनपछि पनि नेतृत्वका रूपमा उनी नै दोहोरिँदैछन् । राजनीतिक विश्लेषकहरूले पार्टीमा आफूलाई चुनौती दिनेगरी नेतृत्वपङ्ति तयार गर्न नसक्नु प्रचण्डकै गल्ती भएको विश्लेषण गर्छन् । राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘यो उहाँकै गल्ती हो । पृष्ठभूमिमा माओवादीमा सबैबाट सबैखाले कमजोरीहरू भए ।’
यसले प्रचण्डलाई सीमित वर्षका लागि ‘शक्तिकेन्द्रमा रहिरहन’ सघाएपनि पार्टीको भावी जीवनमा राजनीतिक र वैचारिक रूपमा नोक्सानी हुने निश्चितप्रायः छ । हुन पनि प्रचण्डले ३०—३० वर्षसम्म आफ्नो उत्तराधिकारी तयार गर्न सकेनन् । आन्तरिक प्रतिस्पर्धाबाट चुनौती र विकल्प खडा गर्न सक्ने खालको सक्षम र सबल नेतृत्वपङ्ति निर्माण गर्नु नसक्नु स्वयम् उनकै कमजोरी भएको विश्लेषण आमवृत्तमा हुने गरेको छ ।
अर्को त प्रचण्डले आफूसँग नेतृत्वका लागि आफूसँग सिंगौरी खेल्न खोज्नेहरूको सिङ भाँचिदिने गरेको नेताहरू बताउँछन् । एक पूर्वमाओवादी नेता भन्छन्, ‘उहाँ (प्रचण्ड) को दाउ भनेकै आफैँ सधैँ सर्वोच्च बन्ने हुन्थ्यो र हुन्छ । नेतृत्वमा आफूसँग भिड्नेहरूको उहाँले सिङ भाँचेरै छाडेका छन् । यसकारण पनि उहाँसँग जनयुद्धका समकालीन नेताहरू एकाधबाहेक छैनन् ।’
हुन पनि जनयुद्धमा सँगै सहकार्य गरेका समकालीन नेताहरू प्रचण्डसँग छैनन् । प्रचण्डसँग राजनीतिक असहमति देखाउँदै ०६९ सालमा मोहन वैद्य ‘किरण’ ले पार्टी विभाजनको विजारोपण गरे । त्यतिबेला पार्टीका दोस्रो तहका नेताहरू नेत्रविक्रम चन्द, देव गुरुङ, पम्फा भुसाललगायत वैद्यसँगै लागे । राजनीतिक परिघटना र कालखण्डले उनीहरूलाई प्रचण्डसँगै जोडेपनि मूल नेतृत्व वैद्य माओवादीमा नफर्किनुले प्रचण्ड कमजोर त बनेका छन् नै राजनीतिक रूपमा समेत विचलनताको बाटोमा गएको भान हुने नेताहरूले बताउँदै आएका छन् ।
त्यसो त यसको पुष्टि घटनाक्रमहरूले पनि गर्दै आएका छन् । प्रचण्डले भदौ २७ गते माओलाई स्मरण गर्दै भने– ‘१/२ वर्षपछि त पार्टीमा म एक्लै पो हुने हो कि भनेर मनमा लाग्न थालेको छ ।’ तर, पटकपटक पार्टी विघटन गर्ने धम्की दिने गरेका प्रचण्डले पहिले आफैँलाई सुधार्न जरुरी रहेको सशस्त्र विद्रोहमा सहभागी अर्का नेता बताउँछन् । ‘उहाँले प्रतिकात्मक रूपमा पार्टी नै विघटन गर्ने धम्की दिँदै आउनुभएको छ । यो धम्कीसँग को डराउने खोइ ? उहाँ आफैँ पहिलो सुध्रिनुपर्छ,’ उनले भनेका छन् ।
वैद्यले पार्टी छोडेपछि ०६४ सालमा पहिलो शक्ति बनेको माओवादी ०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा तेस्रो शक्तिमा सीमित बन्यो । यसको कारण पार्टीको मुख्य नेताहरूको बहिर्गमन नै हो भनेर भन्न ‘आइतबार’ कुर्नु पदैन ।
जनयुद्ध स्थगन, संविधान निर्माण, विद्रोही भावनाको परित्याग, नेतृत्वपङ्ति बनावटलगायतका विषयमा प्रचण्डसँगै लामो समयदेखि संघर्ष गरिरहेका तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईले पनि २०७२ असोज ९ गते पार्टी छाडे । दुई उपाध्यक्षहरूले पार्टी छाडेपछि प्रचण्ड ‘वान् मेन आर्मी’ जस्तै भए ।
माओवादी मुख्य नेताहरूको बहिर्गमनको कारण भने प्रचण्डको एकात्मक निर्णय प्रक्रिया र एकोहोरो शैली नै भएको नेताहरू बताउँछन् । ती नेता थप्छन्, ‘उहाँ (प्रचण्ड) अहिले धेरै सुध्रिनुभयो, त्यतिबेला (जनयुद्धताका) उहाँ आलाकाँचा भन्दा पनि त्यो पनि होइन, त्यत्रो ‘जनयुद्ध’को सुप्रीमो । तर निर्णय चाहिँ आफैँ गर्नुहुन्थ्यो । कहीँ न कहीँ यसले पनि पार्टीलाई आज क्षति भएको हो ।’
हुँदाहुँदा पछि ‘जनयुद्ध’मा ठूलो योगदान गरेर दुईपटकसम्म मन्त्री बनेका नेता गोपाल किराँतीलगायतका नेताहरूले पनि पार्टी छाडे । पार्टीमा एमालेसँग एकता नहुनुपर्ने माग राख्दै आएका किराँतीले प्रचण्डलाई ‘चोर’ को संज्ञा दिँदै पार्टी त्यागे । यसरी माओवादी छिन्नभिन्न भयो, थुप्रै नेताहरूले माओवादी त्यागे । यी विभाजनहरूले माओवादीलाई जनयुद्धकालीन एजेन्डाबाट विमुख गराएको एमालेमा नेता मणि थापा बताउँछन् ।
प्रचण्डले पछिल्लो समय ‘फुटेर नहुने, नजुटे कम्युनिष्ट आन्दोलन स्थगित हुने’ बताउँदै पूर्वमाओवादीहरूको ध्रुवीकरण हुनुपर्ने बताउँदै आएका छन् । तर, त्यो सम्भव नभएको माओवादीबाहिर रहेका नेताहरू बताउँछन् ।
जारी ८ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा समेत माओवादीबाट छुटेका नेताहरू आएनन् । निम्तो पठाइए पनि डा. बाबुराम भट्टराई, मोहन वैद्य, विप्लवलगायतका प्रमुख नेताहरू आएनन् । यसले पनि पूर्वमाओवादी ध्रुवीकरण सम्भव छैन भनेर उनीहरूले प्रचण्डलाई ‘सबक’ दिएको विश्लेषण हुन थालेको छ । ‘पूर्वमाओवादी ध्रुवीकरण सजिलो छैन,’ नेता थापा भन्छन्, ‘त्यहाँ प्रचण्ड नै बाधक बन्नुहुन्छ ।’
घटनाक्रमहरूले प्रचण्ड सुध्रिएको नदेखिएको र प्रचण्डमा पहिलेकै राजनीतिक प्रवृत्ति हाबी भएकोले त्यो सम्भव नदेखिने उनको भनाइ छ । ‘उहाँले एउटा गन्तव्यका लागि कार्यकर्ता तयार गर्ने र अर्कै गन्तव्यमा पठाउनेसम्म गर्नुभयो,’ थापाले भने, ‘उहाँले प्रतिस्पर्धा गर्न चाहने नेताहरूलाई अगाडि पर्नै दिनुहुन्न । यसरी पार्टीको जीवन कसरी माथि जान्छ (?) हामीले सजिलै अनुमान गर्न सक्छौँ ।’
किन अलगिन्छन् नेताहरू ?
०७७ फागुन २८ पछि एमालेको कित्तामा उभिएर १०औं राष्ट्रिय महाधिवेशनबाट सचिव बनेका पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी प्रचण्ड नसुध्रिने नेताहरूमध्ये पर्ने आरोप लगाउँछन् । वैद्यदेखि आफूसम्मका नेताहरूले यत्तिकै नछोडेको उल्लेख गर्दै उनी भन्छन्, ‘उहाँ (प्रचण्ड) अझैसम्म सुध्रिनुभएको छैन । उहाँ बढी व्यक्तिवादी र परिवारवादी हुँदा पार्टी नै बिग्रियो ।’
प्रचण्डसँग समकालीन नेताहरू किन छाडे (?) भन्ने प्रश्नमा उनी सुनाउँछन्— ‘कारण त प्रष्टै छ नि, उहाँ सामूहिकता चाहनुहुन्न । यसैले उहाँलाई एक्लो बनायो ।’
एमालेमै रहेका नेता मणि थापा पनि यसमा सहमत देखिन्छन् । उनी भन्छन्, ‘उहाँ क्रमशः एक्लिँदै आउनुभयो । त्यो उहाँकै मनोगत प्रवृत्तिले गर्दा हो ।’ पार्टीमा एकल निर्णय सबैभन्दा घातक हुने र त्यही नीति प्रचण्डले अख्तियार गर्दै आएको उल्लेख गर्दै थापा थप्छन्, ‘एकल निर्णय, अराजनीतिक व्यवहारले न कार्यकर्ताले पत्याउँछन्, न पार्टी बन्छ । बरू यसले आफैँलाई अलग्याउँछ/सिद्ध्याउँछ ।’
अर्का पूर्वमाओवादी नेता भन्छन्, ‘प्रचण्डजीले आफैँले आफूलाई एक्ल्याउनुभयो । उहाँ दक्षिणपन्थमा गइसक्नुभयो भन्नेछ हाम्रो त ।’ माओवादी अन्य दलहरूभन्दा फरक पृष्ठभूमिबाट आएको दृष्टान्त सुनाउँदै ती नेताले भने, ‘ उहाँ दक्षिणपन्थी भाषमा फस्नुभयो । माओवादी पूरै आफ्नो एजेन्डाबाट विमुख भयो ।’
जारी महाधिवेशनमा प्रचण्डले पेस गरेको दस्ताबेजका वाक्य, वाक्यांश तथा कमा र पूर्णविराममा समेत छलफल भइरहेको छ । संविधानसभाको पहिलो चुनावमा प्राप्त गरेको त्यो अपार जनमत के र कति कारणले घट्दै गयो र पार्टी किन ‘चाउरिएको मरिच’ भयो भन्नेबारे माओवादी प्रतिनिधिले पक्कै बहस गर्लान् र कुनै निष्कर्ष निकाल्लान् नै ।