त्रिवि र चिटका कुरा !
मानिस वा अन्य कुनै पनि प्राणी उमेर बढ्दै जाँदा बुढो हुन्छ वा भनौँ सक्रियता घट्छ तर कुनै पनि संस्थाको उमेर बढ्दै जाँदा संस्था अझ प्रभावकारी हुँदै जाने, संस्थाको उद्देश्यअनुसार अझ सक्षम र प्रतिस्पर्धी हुँदै जाने, प्रणालीको विकास गर्ने, कमजोरीहरू सच्याउँदै जाने भन्ने हुन्छ । त्यसैले कुनै पनि संस्था वा कम्पनीले आफू स्थापित भएको कति भयो भनेर निकै गर्वसाथ प्रस्तुत गरेका हुन्छन् ।
अङ्ग्रेजीको शब्द सिन्स (since) यति वर्षदेखि निकै प्रचलनमा देखिन्छ । तर‚ हाम्रो देशको पुरानो, ठूलो एउटा विश्वविद्यालयको हकमा यो कुरा लागू हुन निकै कठिन भएको छ । धेरै सम्पत्ति भएको, धेरै विद्यार्थी भएको र पुरानो भएको ब्याजमै अडिएको छ त्रिवि । आन्तरिक प्रणालीहरू बिस्तारै बलिया हुनुपर्नेमा कमजोर हुँदै गएका छन् । सेवा आयोगका काण्ड, अनशन र जुस शिक्षकहरूका कथा (इमानदार र क्षमता प्रदर्शन गर्नुभएकाहरूले माफ गर्नुहोला) अझ धेरै छन् । एक-दुई पत्रपत्रिका र दुई-तीनवटा अनलाइनमा आउने त्रिविसँग सम्बन्धित समाचारमात्र हेर्ने हामीले त त्रिविलाई काण्डै काण्डको विश्वविद्यालय भन्न सक्ने भयौँ भने यसैभित्र बसेर यसको दैनिकी देख्ने र भोग्नेहरूका कथा त कति होलान् कति ? हामीले त्रिविका कथा अनुभूति गर्न सक्दैनौँ‚ त्यसैले त्यो विषय हाम्रो क्षेत्र होइन । त्रिविको परीक्षा प्रणाली (परीक्षा नियन्त्रण कार्यालय बल्खुभन्दा बाहिर) बाहिरबाट देख्न सक्ने विषय भएकाले यो आलेख मुख्यतया त्रिविको परीक्षा प्रणालीमा केन्द्रित छ ।
चिट खोसेकै कारण क्याम्पसमा शिक्षकले विद्यार्थीको कुटाइ खानुपर्ने अवस्था आयो कसरी ? शायद ती विद्यार्थीले बुझेको त्रिविका क्याम्पसमा चिट चोर्न पाइन्छ‚ कसैले केही भन्दैन भन्ने थियो कि ? उनले सधैँ यसरी चिट चोरेर यो तहसम्म आइपुगेका हुन् कि ? उनी निर्धारण गरिएको सिटमा नबसी अन्यत्र अर्को साथीको सार्ने गरी बस्न खोजेका थिए कि ?
आरआर क्याम्पसमा चिट चोर्न नपाएका विद्यार्थी नेताले शिक्षकलाई आक्रमण गरेको समाचार गतसाता निकै चर्चामा रह्यो । उच्च शिक्षामा चिट चोर्ने काम किन हुन्छ ? उच्च शिक्षामा चिट भन्ने कसरी सम्भव छ ? त्यो चिट चोर्नेमा विद्यार्थी नेता किन अगाडि हुन्छन् ? अझ आङ्गिक क्याम्पसमा यो समस्या तुलनात्मक रूपमा किन बढी हुन्छ ? चिट चोरेरै कुनै विषयको डिग्री लिनुपर्ने अवस्था किन आइपुग्छ ? आखिर चिट चोरेरै पास भइन्छ भने पढ्ने दुःख किन गर्नु ? एउटा सानो गेसपेपरमा त्रिविले परीक्षामा सोध्ने सबै प्रश्न हुन्छन् भने किन ठूला किताबका ठेली र सन्दर्भ सामग्रीमा समय बिताउनु ? यस्ता थुप्रै प्रश्न परीक्षा प्रणाली र चिटसँग जोडिएका छन् ।
चिट खोसेकै कारण क्याम्पसमा शिक्षकले विद्यार्थीको कुटाइ खानुपर्ने अवस्था आयो कसरी ? शायद ती विद्यार्थीले बुझेको त्रिविका क्याम्पसमा चिट चोर्न पाइन्छ‚ कसैले केही भन्दैन भन्ने थियो कि ? उनले सधैँ यसरी चिट चोरेर यो तहसम्म आइपुगेका हुन् कि ? उनी निर्धारण गरिएको सिटमा नबसी अन्यत्र अर्को साथीको सार्ने गरी बस्न खोजेका थिए कि ?
खोजी गर्ने विषय थुप्रै हुन सक्छन् । समाचारअनुसार उनी नेता पनि हुन् रे । यदि त्यसो हो भने कलेजले शायद विद्यार्थी नेतालाई अलग्गै बसेर परीक्षा दिने व्यवस्था मिलाएको थिएन जस्तो देखियो । कलेजमा विद्यार्थी नेताहरूले सेटिङ मिलाएर अलग्गै बसेर परीक्षा दिने प्रचलन थुप्रै ठाउँमा थियो र छ । यस्तै विद्यार्थी नेताहरूले अरूलाई नै लगाएर आफ्नो परीक्षा दिने गरेका उदाहरण पनि नभएका होइनन् । शायद यहाँ कलेजले कसैमार्फत परीक्षा दिने व्यवस्था मिलाइदिएको थिएन होला कि ? कक्षामा पनि सायद ती नेतालाई शिक्षकले चिनेनन् होला कि ? उनलाई चिट चोर्न छुट दिनुपर्ने थियो कि ? कलेजमा विभागीय प्रमुख बनाउँदा वा क्याम्पस प्रमुख बनाउँदा विद्यार्थी नेताले लगाएको गुन कलेजले तिरेन कि ? जसले गर्दा चिट खोसेको बहानामा शिक्षकले कुटिनुपर्यो । उनले कतै आफ्नो सिट भएको परीक्षा कोठामा कोही आफू अनुकूलको शिक्षकलाई निरीक्षक बनाउन खोजेका थिए कि ? यस्ता धेरै प्रश्न पनि छन्‚ जसको उत्तर यहाँ दिन सकिँदैन ?
त्रिविका संकायहरूमा कति जनालाई पढाउने वा भर्ना गर्ने भन्ने कुनै विधि, प्रक्रिया र नियम छैन । भर्ना हुने जतिलाई भर्ना गर; आउनेलाई लेक्चर सुनाऊ वा किताब पढाऊ । आधा समय तालाबन्दी र आन्दोलनमै बित्छ । भर्ना भएको पन्ध्र महिनामा जेनतेन परीक्षा तालिका आउँछ । चार घण्टे परीक्षा पाँचवटा प्रश्न । तिनै पाँच प्रश्न पनि कुनै विश्लेषण गर्नुपर्ने, उच्चस्तरको सोचाइ चाहिने, महिनौँ पढ्नुपर्ने केही छैन । बजारमा विषयअनुसारका गेस पेपर पाइन्छन् । सके एक-दुई दिन पढ्ने हो, नसके त्यही गेस पेपर लिएर जाने, आँट हुनेले भित्रै गेस पेपरबाट लेख्ने, नहुनेले शौचालयमा गएर पाना च्यातेर ल्याउने । प्रश्नको उत्तर गेस पेपरमै हुन्छ । किन पढ्ने दुःख गर्नु । अलि अलि सार्न सके पास मार्क त आइ नै हाल्छ ।
कहिले पाठभन्दा बाहिरबाट प्रश्न सोधियो भनेर परीक्षा बहिष्कार हुन्छ त कहिले कुनै अमुक प्राध्यापकले किताबबाट प्रश्न सोधेर परीक्षा रद्द हुन्छ । कहिले प्रश्नपत्र बाहिरिन्छन् र परीक्षा रद्द हुन्छ । कहिलेकाहीँ दुई वर्ष पुरानो प्रश्नपत्रमा वर्षमात्र फेरेर जस्ताको त्यस्तै पनि पठाइन्छ त कहिले सेमेस्टरमा सोधिएको प्रश्नको अङ्कभार मात्र फेरेर वार्षिक प्रणालीमा पनि सोधिन्छ (हेर्नुहोस्, तस्बिर) ।
ठूलो विश्वविद्यालय, धेरै विषय धेरै परीक्षा, धेरै विद्यार्थी, धेरै प्राध्यापक छन्, यस्ता सानातिना विकृति वा कमजोरी भइहाल्छन् भन्ने कि ? यसलाई विधि, प्रक्रिया र प्रणालीमा सुधार गरेर व्यवस्थित बनाउने होला ? मुख्य प्रश्न हो यो ।
चिटको समस्या समाधान गर्न धेरै ठूला काम गर्नुपर्दैन । हरेक वर्ष रुटिन बेसिस (जस्तै भदौमा स्नातक तहको पाठ्यक्रम परिमार्जन, कार्तिकमा स्नातकोत्तर) मा पाठ्यक्रमहरू परिमार्जन गर्ने, प्रत्येक वर्ष परीक्षाका सोधिने प्रश्नको ढाँचा परिवर्तन गर्ने, परीक्षामा तहअनुसार उच्च स्तरका विश्लेषणात्मक क्षमता र सोचाइ तथा सिर्जनात्मकता मापन गर्ने प्रश्नहरू सोध्ने । यो कामका लागि कुनै ठूलो बजेट र मेहनत चाहिँदैन‚ केवल गर्ने इच्छाशक्ति भए पुग्छ ।
यतिमात्र थालनी गरियो भने यसले चिटको आधा समस्या समाधान हुन्छ । प्राध्यापकहरूले आफैँले पाठ्यक्रम बनाउने, अनि किताब लेख्ने, त्यही किताबमा नमूना प्रश्न राख्ने र तिनै नमूना प्रश्न परीक्षामा सोध्ने र बजारमा गेस पेपर पनि लेख्नेसमेतका कामहरू रोक्न सकियो भने अर्को २० प्रतिशत समस्या समाधान हुन्छ । त्यसका लागि विश्वविद्यालयले प्राध्यापकलाई जीविकोपार्जनका लागि पुग्ने वेतनको सुविधा देओस् र यस्ता काममा लाग्नु नपर्ने बनाओस् ।
बजारमा विषयअनुसारका गेस पेपर पाइन्छन् । सके एक-दुई दिन पढ्ने हो, नसके त्यही गेस पेपर लिएर जाने, आँट हुनेले भित्रै गेस पेपरबाट लेख्ने, नहुनेले शौचालयमा गएर पाना च्यातेर ल्याउने । प्रश्नको उत्तर गेस पेपरमै हुन्छ । किन पढ्ने दुःख गर्नु । अलि अलि सार्न सके पास मार्क त आइ नै हाल्छ ।
विद्यमान परीक्षा प्रणालीमा सुधार नगरी त्रिविको चिट, चिट सार्न नदिए कुटिनुपर्ने अवस्था अन्त्य हुँदैन । प्रश्न र परीक्षा प्रणालीमा मात्र सुधार गर्दै गेस पेपरबाट हुबहु प्रश्न आउने र एउटा मात्र पाठ्यपुस्तक पढे पुग्ने अवस्था अन्त्य गर्न सकियो भने करिब करिब ८० प्रतिशत चिटको समस्या र ३० प्रतिशतभन्दा बढी गुणस्तरमा सुधार आउने आशा गर्न सकिन्छ । परीक्षाका प्रश्नहरूमा सिर्जनात्मकता, उच्च विश्लेषण क्षमता र खुला प्रश्न सोध्ने पद्धति विकास गर्न केवल प्रश्न बनाउनेलाई दिने पारिश्रमिक र समयमात्र थप भए पुग्ने देखिन्छ । थोरै पाठ्यक्रमका संरचना र परीक्षाको ढाँचामा परिवर्तन आवश्यक हुन्छ । बाँकी धेरै काम गरौँ भन्ने भावनाबाटै गर्न सकिन्छ । अन्यत्रका अभ्यासको सिको गर्न सकिन्छ । नजानेर भन्दा नगरेर बढी बिग्रेको छ । परीक्षा र मुल्याङ्कनको बारेमा पढाउने विश्वविद्यालय आफैँ परीक्षाको रोगी छ ।
थेसिसका कथा, चिटका कथा, शिक्षकका कथा, भागबण्डाका कथा, सेवा आयोगका कथा, सम्बन्धनका कथा, परीक्षा नियन्त्रण कार्यालयका कथा, बेरुजुका कथा । यी सबै कथाले त्रिवि जवान होइन‚ बुढो नै भइसकेको हो कि भन्न कर लाग्छ । तर‚ त्रिविलाई जवान बनाउने सम्भावना पनि बाँकी नै छन् । पाठ्यक्रम र परीक्षा प्रणालीमात्र सुधार गर्न सकियो भने पनि यसको थालनी हुनेछ । धेरै ठूलो भीमकाय संरचनाका संस्थाहरू हाम्रोजस्तो प्रणाली विकास हुन नसक्ने देशका लागि कति प्रभावकारी हुन्छ अलि सानो र छरितो पो बनाउन सकिन्छ कि भन्ने बहस पनि आवश्यक हो कि ? आफैँ दलको दौरा समाएर उच्च ओहोदामा पुगेपछि विश्वविद्यालयमा राजनीति भयो भनेर रोकइकराइ गर्ने पदाधिकारीबाट सुधारको आशा कति गर्न सकिएला तर पनि आस गर्न नछोडौँ । चाहना भए सुधार हुन्छ, गर्न सकिन्छ ।
परीक्षा कोठामा चिट खोस्दा कुटिनु परेपछि प्राध्यापकहरू कुन मनोबलले काम गर्ने ? कस्तो मनोबल र आत्मविश्वाससहित कक्षामा उपस्थित हुने ? त्रिविका पदाधिकारीहरूको मात्र होइन‚ समग्र देशको उच्च शिक्षाको नेतृत्व गर्ने विश्वविद्यालयका कुलपति, सहकुलपतिसमेतको चासो र चिन्ताको विषय हुनुपर्ला ।