बुद्ध एयरको पहिलो सर्त हाे– सुरक्षित यात्रा
हवाई जहाजको सम्बन्ध प्राविधिक विषयसँग बढी हुन्छ । हवाई जहाजसँग सम्बन्धित यस्ता धेरै प्राविधिक पक्षहरु छन्, जसबारे थाहा पाउनु हवाई यात्रु तथा आम सर्वसाधारणका लागि अती आवश्यक छ । किनभने विमानका सबै प्राविधिक पक्ष सुरक्षासँग जोडिएको हुन्छ । यसबारे जानकारी लिन पनि र दिन पनि जरुरी छ । त्यसो हुँदा यससँग सम्बन्धित मूख्य विषयबारे चर्चा गरौँ ।
हवाई यात्रा सुरक्षित गर्न के के कुरामा ध्यान दिनुपर्छ ?
हवाई जहाजबारे जिज्ञासा राख्नेहरुले जहाजमा कसरी सामान लोड गरिन्छ भन्ने थाहा पाउनुपर्छ । विमानमा सामान लोड गर्दा धेरै नै ध्यान पु¥याउनुपर्छ । विमान दुर्घटना हुन नदिन ‘लोड पेनाल्टी’ बारे पुरै ज्ञान हुनु आवश्यक हुन्छ । विमान उड्ने बेलामा वातावरणीय प्यारामिटर र विमानस्थलको ‘रन वे’ को विशेषताले उडान कसरी प्रभावित हुन्छ भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ । यही कुरा विमानले कति लोड लिएर उड्ने भन्ने विषयसँग पनि सम्बन्धित हुन्छ ।
एयरक्राफ्टमा तौल राख्दा सबैभन्दा पहिले विमानको बोक्ने क्षमता कति हो त्यसबारे प्रष्ट हुनुपर्छ । किनभने त्यसमा सामान र यात्रुको तौल मात्र हुँदैन । विमान, इन्धन, कार्गोको तौल सबै एकैसाथ जोडिएर आउँछ । कति तौल लोड गर्ने भन्ने निर्धारण गर्न धावन मार्ग अर्थात् ‘रन वे’ को लम्बाईलाई पनि आधार मान्नुपर्ने हुन्छ । लामो ‘रन वे’ मा धेरै तौल लिएर उड्ने क्षमता हुन्छ । ‘रन वे’ को ‘लोकेसन’ अर्थात् त्यो ‘रन वे’ कुन र कस्तो भौगोलिक अवस्थामा छ भन्ने कुराले पनि विमानले बोक्न सक्ने तौल (लोड)लाई प्रभाव पार्छ । जस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समुद्री सतहबाट ४ हजार ३ सय ८६ फिट माथि छ । फेरि विराटनगर विमानस्थल ३ सय फिट मात्रै माथि छ । पोखरा विमानस्थल २ हजार २३ फिट माथि छ ।
यसरी एयरपोर्ट भएको स्थानको उचाईको आधारमा पनि एयरक्राफ्टले बोक्ने तौललाई निर्धारण गर्छ । त्यस्तै एयरपोर्ट भएको ठाउँको स्थानीय तापक्रमले पनि विमानले बोक्ने तौलमा फरक पर्छ । तापक्रम बढ्दै जाँदा एयरक्राफ्टले ‘टेक अफ’ गर्ने क्षमता घट्दै जान्छ । तापक्रमलाई नै आधार मानेर यात्रु र कार्गो बोक्नुपर्ने हुन्छ । त्यसपछि ‘रन वे’ को झुकावले पनि विमानले कति तौल बोक्ने भन्ने कुरा निर्धारण गर्छ । त्यसमा झुकावको तलतिरको दिशाबाट ‘टेक अफ’ गर्दा अलि बढी तौल बोक्न सक्छ । तर, माथिल्लो दिशाबाट ‘टेक अफ’ गर्दा कम तौल लिएर मात्र उड्न सक्छ ।
अर्को प्रभाव पार्ने तत्व भनेका हावाको गति हो । यदी विमान ‘टेक अफ’ गर्न लागेको दिशाबाट नै हावा आइरहेको छ भने विमानले ‘टेक अफ’ गर्ने क्षमता बढ्छ । तर, विपरीत दिशाबाट हावा आइरहेको छ भने ‘टेक अफ’ को क्षमता स्वतः घट्छ । यसले हावा कुन दिशाबाट आएको छ भन्ने जाँच गरी विमानले बोक्ने तौल निर्धारण गर्न सकिन्छ । त्यसैले, विमान ‘टेक अफ’ गर्ने बेलामा यी सबै प्यारामिटरबारे विचार गर्नुपर्ने हुन्छ ।
तापक्रमम, चाप, एयरपोर्टको झुकाव, हावा बहने गती सबैको जाँच गरिसकेपछि मात्र आजको यो फ्लाईटमा यति यात्रु र यति तौल बोक्न सकिन्छ भनेर निर्धारण गर्न सकिन्छ । ७२ सिट क्षमताको विमानमा पनि यी सबै तत्वहरुलाई जाँच गर्दा क्षमताभन्दा कम यात्रु बोक्नुपर्ने अवस्था आउन सक्छ । यसबाहेक एयरक्राफ्टको उडान गर्ने बेलामा कतिपय नियमहरु पालना गर्नुपर्ने हुन्छ । सुरुमा त ‘टेक अफ’ दूरी राख्नुपर्ने हुन्छ । ‘रन वे’को सुरुवात टेक अफ बिन्दुदेखि ‘भी टू’ (रन वेको अन्तिम बिन्दु) सम्मको ३५ फिटको दूरीलाई ‘टेक अफ’ दूरी भनिन्छ । त्यो दूरीपछि फ्लाइटका ५ चरण पूरा गर्नुपर्छ । त्यसमा प्रत्येक चरणमा जहाजको केही ‘क्लाइम्ब ग्रेडियन्ट’(उड्ने ढाँचा) कायम गर्नुपर्ने हुन्छ । यसमा कति तौल बोकेर विमान उड्दा कति समयभित्र कुन उचाइमा पुगिसक्नु पर्ने भनेर निर्धारण गरिएको हुन्छ । त्यसमा प्रत्येक चरणमा तोकिएको नै ‘क्लाइम्ब ग्रेडियन्ट’ कायम गर्नु अनिवार्य हुन्छ ।
कतिवटा इन्जिन भएको विमान हो त्यहीअनुसार ‘क्लाइम्ब ग्रेडियन्ट’ पनि फरक हुन जान्छ । बुद्ध एयरका जहाजहरु दुईवटा इन्जिन भएको हुनाले दोस्रो चरणमा कम्तीमा पनि २ दशलव ४ प्रतिशत ‘क्लाइम्ब ग्रेडियन्ट’ कायम गर्नैपर्छ । यो अनिवार्य हो । त्यो कायम गर्न पनि तापक्रम, चाप, हावाको गती, विमानस्थलको झुकाव सबै मिलेको हुनुपर्छ । यदि मिलेन भने ‘क्लाइम्ब ग्रेडियन्ट’ कायम गर्न सकिँदैन । त्यसकारण यदी तौलको कारणले समस्या आएमा पहिला कार्गो लोड गर्ने र त्यसपछि आवश्यकताअनुसार यात्रु संख्या घटाउनुपर्ने हुन्छ । यो सुरक्षाको दृष्टिकोणले सबैभन्दा कडाइका साथ मान्नैपर्ने नियम हो । यो ग्रेडियन्ट कायम गर्नुको मुख्य उद्देश्य भनेको दुई वटा इन्जिन भए पनि विमान टेकअफ गर्ने बेला यदि एउटा इन्जिनले काम गरेन भने जुन बलले विमान उड्नुपर्ने थियो त्यो आधा हुन्छ । त्यो बेलामा पनि तोकिएको ग्रेडियन्ट कायम गरेमा एउटा इन्जिनले पनि विमान सुरक्षित तरिकाले टेकअफ र अवतरण गर्न सकिन्छ । त्यसकारण दुईवटा इन्जिन भएको विमानमा पनि बुद्ध एयरले एउटा इन्जिन भएको विमानको क्षमताको मात्र तौल राखेर उडान भर्ने गरेको छ । त्यसो हुँदा उडान सुरक्षा कायम गर्न यात्रु वा कार्गो जे हटाउनु परे पनि हटाउनुपर्छ । हामीले हटाउने गरेका छौँ । किनभने हाम्रा लागि सबैभन्दा ठूलो कुरा भनेको सुरक्षा हो ।
यदी धेरै लोड राखिएको छ र बीचमा एउटा इन्जिन फेल भयो भने इन्धन घटाउने, बिचमै ल्याण्ड गर्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यस्तै तेस्रो चरणमा कम्तीमा पनि १ दशमलव ५ प्रतिशत ग्रेडियन्ट कायम गर्नैपर्छ । तर कहिलेकाहीँ विमानस्थलको नजिकै अग्ला र ठूला भौतिक संरचनाहरु भएका हुन्छन् । त्यसको माथि ३५ फिटसम्म कुनै बाधा हुनु हुँदैन । यो पालना गर्नैपर्ने नियम हो । त्यसका लागि नेपालको प्रत्येक एयरपोर्टको अवस्थाबारे थाहा पाउनुपर्छ । उदाहरणका लागि राजबिराज विमानस्थलको सेरोफेरोमा ठूला ठूला चिम्नीहरु छन् । यी सूचनाहरु एयरक्राफ्ट र चालकदलका सबै सदस्यलाई थाहा हुनुपर्छ । पोखराबाट उडान गर्दा त्यहा रामघाट भन्ने एउटा ठाउँ छ त्यसलाई विचार गर्नुपर्ने हुन्छ । त्यहाँको रन वे ०४ बाट टेकअप गर्दा धेरै तौल घटाउनुपर्ने हुन्छ । किनभने हाम्रो विमानस्थलको अवस्थाले गर्दा पालना गर्नैपर्ने नियममा समेत सुरक्षालाई प्राथमिकतामा राखेर आफैँ परिमार्जन गर्नुपर्ने हुनसक्छ । उडानको समयमा पालना गर्नैपर्ने ‘प्याटर्न’ हुन्छ । त्यहीअनुसार उडान गर्दा सुरक्षित त हुन्छ तर यी सबै कुरा ‘एरोनेटिकल इनफरमेसन पब्लिकेसन म्यानुअल’(एआईपी) मा समावेश गरिएको हुँदैन । त्यसरी समावेश नगरेको अथवा गरेर पनि थाहा नभएको अवस्था छ भने दुर्घटना हुन सक्छ ।
यी सबै सूचना ‘एआईपी’मा नभएको हुनाले बुद्ध एयरले आफ्नै ‘अपरेसन इन्जिनियर’ भन्ने डिभिजन बनाएको छ । उक्त डिभिजनमा काम गर्ने ४ जना इन्जिनियर तथा क्याप्टेनको समूहले ‘फ्लाइट ट्रयाक’ अर्थात् उडानको बाटोमा कस्ता कस्ता बाधाहरु पर्न सक्छन् भनेर पहिले नै अध्ययन गरेर जान्छौँ । यदी त्यस्ता बाधाहरु छन् र पनि न्यूनतम ग्रेडियन्ट कायम गर्नैपर्छ भन्ने कुरालाई ध्यानमा राखेर कति उचाईमा बाधा छन् भन्ने पत्ता लगाएर यात्रु र विमानमा तौल घटाउने काम गर्छाैं ।
हामीले पोखराको उडान गर्दा रन वेको ०२२ बाट ‘टेक अफ’ गर्छाैँ । त्यताबाट ‘टेक अफ’ गर्दा पनि बाधाको उचाईहरु छन् । तर, ती सबै कुरा म्यानुअलमा उल्लेख गरिएको छैन । हामीले आफैँ अध्ययन गरेर ‘टेक अफ’ गर्दा ३५ फिटको दूरी अनिवार्य हुन्छ तर पोखरामा १५ फिट थपेर ५० फिट दूरी राखेर उडाउने गरेका छौँ । किनभने त्यहाँ बाधा हुने पहाड धेरै छन् । त्यसो हुँदा ५० फिट दूरी राखियो भने अझ बढी सुरक्षित हुन्छ । यो नियममा नभए पनि सुरक्षालाई ध्यानमा राखेर बुद्ध एयरले बनाएको नियम हो । रन वेको दायाँबायाँ पनि कम्तीमा एक हजार फिटसम्म क्लियर हुनुपर्छ । तर त्यस्तो अवस्था छैन ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा उडान भर्न धेरै गाह्रो छ । त्यहाँ विमानस्थलको दायाँबाया पहाडहरु छन् । त्यहाँको समेत पूरै सूचना म्यानुअलमा दिइएको छैन । नदिए पनि हामीले भौतिक संरचनाको आधारमा अध्ययन गरेर सूचनाहरु संकलन गर्ने गरेका छाैँ । त्यती मात्र नभई हामीले पाइलटलाई प्रत्यक्ष सम्पर्कमा राख्ने र ‘एयर वे’ मा कानुन मिचे तुरुन्त सूचना पाउन सकिने सफ्टवेयर बनाएका छौँ । जसले गर्दा हामीले लापरवाही गरेमा पाइलटलाई कारवाही गर्न सक्छौँ ।
बुद्ध एयरका जहाज पुराना भए भन्ने जुन तर्क हुने गरेको छ त्यसबारेमा पनि म स्पष्ट पार्न चाहन्छु । यसमा बुझ्नुपर्ने कुरा के छ भने प्रत्येक जहाजको सय घण्टाको उडानपछि एउटा पार्ट परिवर्तन गर्नुपर्छ भन्ने नियम हुन्छ । यो नियम कार्यान्वयन गर्नु अनिवार्य छ । सय घण्टाको उडानभित्र त्यो बिग्रिए पनि नबिग्रिए पनि त्यो परिवर्तन गर्नैपर्ने हुन्छ । सबै मर्मतसम्बन्धी गाइडेन्सलाई फलो गर्नैपर्ने हुन्छ । त्यसबाहेक पनि मेसिनरी सामानमा कहिलेकाहीँ केही खराबी आयो भने त्यो तुरुन्तै उडान नै रद्द गरेर पनि बनाउनुपर्छ र हामीले बनाउने गरेका छौँ ।
विमान पुरानो भए पनि त्यसभित्रको सिस्टम र इञ्जिन कस्तो छ भन्ने कुराले अर्थ राख्छ । हामी सुरक्षाको कुरामा कहिल्यै पनि सम्झौता गर्दैनौँ । विमानले उडान भर्ने बेलामा जहिल्यै ‘वेट एण्ड ब्यालेन्स’ लाई ध्यान दिनुपर्छ । यो भनेको तौललाई सन्तुलन गर्नु हो । जहाजको अगाडीको भागमा पनि धेरै तौल हुनु हुँदैन र पछाडिको भागमा पनि धेरै तौल हुनु हुँदैन । यदी तौल स्टेबल भएन भने विमान नियन्त्रणमा हुँदैन । यो तौल सन्तुलनमा छ कि छैन हेर्न पनि हामीले एउटा सफ्टवेयर डेभलप गरेका छौँ । त्यसैले ‘अनब्यालेन्स डिपार्टचर’ कहिल्यै पनि हुँदैन । यी सबै कुरालाई ध्यानमा राखेर उडाउँदा विमान दुर्घटनाको सम्भावना कम हुन्छ । (बुद्ध एयरका योजना सञ्चालन विभाग प्रमुख, इन्जिनियर श्रेष्ठसँगकाे कुराकानीमा आधारित)