अनुभूति

माओवादी

‘अण्डरवएर, मोजा भनेका भित्र लगाउने लुगा हुन् । जस्तो लगाए पनि हुन्छ । कसैले देख्ने हैनन् क्यारे ।’ सानैदेखि मेरो यस्तो सिद्धान्त थियो । यही सिद्धान्त त्यसदिन खुकुलो होल्डरबाट बल्ब खसेर टुटेझैँ चकनाचुर भएर टुटेको थियो ।

०६२ साल चैतको पहिलो हप्ता हाम्रो एसएलसीको परीक्षा शुरु भएको थियो । माओवादी विद्रोह चरम अवस्थामा पुगेको समय थियो त्यो । अझै भन्नुपर्दा माओवादी र सात राजनीतिक दलहरूको बिचमा बाह्रबुँदे सम्झौता भएर आन्दोलन शुरु हुन हुन लागेको बेला थियो । घरनजिकैको स्कुलमा परीक्षा केन्द्र थियो मेरो । स्कुलभरि सेना र पुलिसको ठूलो चहलपहल थियो । मानौँ त्यो विद्यालय हैन युद्ध भूमि हो । गाउँगाउँबाट आफ्नो जीवनको फलामे ढोका पार गर्न आएका ती विद्यार्थी हैनन्, माओवादी विद्रोही हुन् । ठूल्ठूला लट्ठी बोकेका प्रहरी र बन्दुक बोकेका सेनाको बीचबाट साना कलम बोकेका विद्यार्थीहरु डराई डराई परीक्षा केन्द्रभित्र पस्दै थिए ।

नजिकैको अर्को विद्यालयको विद्यार्थी म । त्यसमाथि स्कुल टपर । सबैका ध्यान मतिर थिए । चर्चा मेरै थियो । बोर्डमाचाहिँ खै कुन्नि, जिल्ला टप चाहिँ गर्छ होला । यस्तै यस्तै खानेखुशी चल्दै थियो चौरभरि । कुनै चर्चित सेलिब्रेटीझैँ भएर स्कुलको चौरमा पुगेको थिएँ म । चिनेकाहरू अघिपछि थिए मेरा । नचिनेकाहरू पनि कोही कसैबाट थाहा पाएर मेरा अघिल्तिर मुसुक्क हाँस्न र हात मिलाउन आइपुगेका थिए । उनीहरूलाई लोभ थियो, जाँचमा मेरो छेउछाउ पर्न पाए फलामे ढोका मेरो अग्लो काँधमा चढेर फुत्त नाघ्न सकिन्थ्यो कि !

स्कुलको ढोकैमा एकजना सर र एकजना मिस बसेका थिए । चिट बोकेर आउनेहरूलाई खानतलासी हुँदै थियो । सर मिस त साक्षी बसेका मात्र थिए । खानतलासी गर्ने त खासमा पुलिस थियो । उ हेर्दै डरलाग्दो खालको थियो । उनका आँखामा घृणाको रातो रङ्ग थियो । छातीभरि आतंकको राप बोकेर होला उनका आँखाबाट निन्द्रा महिनौँदेखि लापत्ता भएझैँ लाग्दथे ।

कुनै चर्चित सेलिब्रेटीझैँ भएर स्कुलको चौरमा पुगेको थिएँ म । चिनेकाहरू अघिपछि थिए मेरा । नचिनेकाहरू पनि कोही कसैबाट थाहा पाएर मेरा अघिल्तिर मुसुक्क हाँस्न र हात मिलाउन आइपुगेका थिए । उनीहरूलाई लोभ थियो, जाँचमा मेरो छेउछाउ पर्न पाए फलामे ढोका मेरो अग्लो काँधमा चढेर फुत्त नाघ्न सकिन्थ्यो कि !

लाइन लागेर भित्र पस्न लागेका केटीहरूलाई केही पर मिसले अलिअलि छामछुम गर्दै भित्र पस्न दिँदै थिइन् । केटाहरूलाई भने रातो आँखे पुलिसले हत्तु पारेर निफन्दै थियो । चिट जाबो त के हो र, त्यसरी छामछुम गर्दा त मोराले मिर्गौला र पित्त थैलीबाट पत्थरी नै निकाल्दिन्थ्यो होला ! त्यस स्कुलमा सेन्टर परेका स्कुलहरूमध्ये बोर्डिङ स्कुल हाम्रै मात्र थियो । अरू सरकारी स्कुलका साथीहरू खुल्ला सर्ट पाइन्ट अनि चप्पलमा थिए । हामी मात्र सर्ट, पाइन्ट, टाई अनि जुत्तामा थियौँ । अझ कम्मरमा पेटी बाँध्ने त ममात्र थिएँ होला ।
“पेटी खोल्”, मेरो पालो आएपछि पुलिसले हकार्‍यो ।
मैले टपक्क बाँधेको पेटी सरक्क खोलेँ ।
“सर्ट बाहिर निकाल्”, पुलिस खाउँलाझैं गरेर हेर्दै बोल्यो ।
मलाई धक लाग्यो । तैपनि त्रासको अगाडि कसको के लाग्छ र । पाइन्टमा च्यापिएको सर्ट निस्किन ढिलो गर्दै थियो, मेरो पाइन्टको हुकमा पुलिसका दह्रा हातहरू आइपुगे । ती बेतका सिम्किनाझैँ औँलाहरूले मेरो पाइन्टको हुक फुकाल्यो । त्यसपछि मेरो पाइन्ट फुत्त तल पुग्यो अनि सर्ट सपक्क माथि । एक हातमा ज्यामिति बाकस र अर्को हातमा प्रवेशपत्र र कार्डबोर्ड बोकेको मैले आफ्नै इज्जत जोगाउन सकिनँ ।

“यो फस्ट ब्वाई हो सर”, धन्न यति शब्द भए पनि म पछाडिको साथीले बोल्न सक्यो । तर निकै ढिलो भैसकेको थियो । मेरो फिलामा प्वाल परेको मैलो अण्डरवेयरको दर्शन चौरमा भेला भएका करिब छ सय विद्यार्थी र त्यही संख्याका अभिभावकले देखिसकेका थिए । मैले लाजले केही देखिनँ ।

“यस्तै जाँघमा गाइड लुकाएर चोरेपछि फस्ट ब्वाई जो पनि हुन्छ”, पुलिसले भन्यो । तर आफ्नै गोप्य अंग लुकाउन नसकेको मेरो फाटेको अण्डरवेयरले कसरी लुकाउनु गाइड ।
“जा”, पुलिसले मलाई धक्का दियो । म अलि पर पुगेर उभिएँ । हातको कार्डबोर्ड एकछिन समाइदिने पनि कोही भएन । एकछिन अघिसम्म पछिपछि लागेको साथी पनि आफ्नो सिम्बल नम्बर टाँसेको कोठा खोज्न दगुर्‍यो । मनमनै पुलिसप्रति आक्रोश उमालेर दाह्रा किटेँ । “तँ मु.. भिडन्तमा परेस् । तेरो त्यो रातो आँखामै माओवादीले ड्याम ड्याम गोली हानोस्” भनेर मनमनै प्रार्थना गर्दै बाकस र कार्डबोर्ड भुईँमा राखेर आफ्ना लुगा मिलाउन थालेँ । सबै पसिसकेपछि अन्तिममा रसिला आँखा पार्दै लुखुर लुखुर कक्षाकोठामा पसेँ ।

मलाई मेरो कोठा कुन हो भनेर खोज्नु परेन । फस्ट ब्वाई थिएँ, सिम्बल नम्बर पनि अगाडि नै थियो । अनुमान लगाएँ, रुम नम्बर एकमै हुनु पर्छ । नभन्दै रुम नम्बर एकको फस्ट बेन्चको छेउको सिट मलाई कुरेर बसिरहेको थियो । त्यहीँ गएर थपक्क बसेँ ।

एसएलसी दिनुभन्दा चार वर्षअघि स्वाभाविक रूपमै म कक्षा छ मा पड्थेँ । फर्स्ट, सेकेन्ड, थर्ड त अरू अरू नै हुन्थे किनकि उनीहरू पढ्थे मात्र । तर म भने आउट किताबहरू पढ्ने बानीले “बिगारेर” पाँचौँ छैटौँ वा सातौँ पोजिसनमा रहन्थेँ । फर्स्ट, सेकेन्ड थर्ड भइराख्ने किताबी किराहरूको भन्दा पनि घगडान प्रतिस्पर्धा त हामी चौथोदेखि सातौँ आठौँमा पर्नेहरूको थियो किनकि हामी बाहिरी किताब पड्थ्यौँ । हाजिरी जवाफमा जित्थ्यौ । नाटक देखाउन, जोक भन्न हामीलाई नै आउँथ्यो । फ्रन्ट बेन्चरहरु जवाफहरू घोक्छन् र टपर हुन्छन् । उनीहरू आफ्नै सृजनशीलतामा विश्वास गर्दैनन् । सर मिसले जे भन्यो त्यही अन्तिम सत्य मान्छन् । तर मिडल बेन्चरहरु सर मिसलाई पनि टेर्दैनन्, उनीहरूको विद्वतामा पनि शंका गर्छन् । उनीहरू आफैँ सृजनशील हुन्छन् र ठिक्क मात्र नम्बर लेराउँछन् । अनि लास्ट बेन्चरहरु सके अरूको सार्छन् नभए गर्दै गर्दैनन् । बरु उनीहरू फुटबल खेल्छन् र सबभन्दा पहिले चुरोट खान सिक्छन् ।

म मिडल बेन्चर थिएँ र मेरो प्रतिस्पर्धा सधैँ पूर्नेसँग हुन्थ्यो । पूर्नेले धेरै कुराहरू जानेको थियो । भन्थ्यो, उसका घरमा पत्रिकाहरू आउँछन् । आउट किताबहरू छन् । मेरा घरमा पनि पत्रिकाहरू आउँथे, किताबहरू थिए । पूर्नेको घरमा जनादेश पत्रिका आउँथ्यो, मेरा घरमा भने साप्ताहिक विमर्श र घटना र बिचार पत्रिकाहरू आउँथे । एकदिन पूर्नेका बा हाम्रो स्कुलमा आएका थिए । एकदम शंकास्पद तरिकाले आएका पूर्नेका बाले गोल्डस्टार जुत्ता र क्याप टोपी लगाएका थिए । मलाई उसका बाको जुत्ता र टोपी खुब मन परेको थियो । “बासँग त च्यागबारा टोपी पनि छ घरमा”, पूर्नेले भनेको थियो । पूर्नेले भनेको च्यागबारा टोपीका बारेमा आफूलाई थाहा नभए पनि केही गज्जबकै टोपी होला भनेर आफ्नो अज्ञानता उसले थाहा नपाओस् भनेर त्यतिबेला मैले अचम्म मानेर जिब्रो टोकेको अभिनय गरेको थिएँ । तर त्यो चे गुएभाराले लगाउने टोपी रहेछ भनेर थाहा पाउन मलाई निकै वर्ष लागेको थियो ।

मेरा बा, ठूल्बाहरु कांग्रेस थिए, अनि म यसै कांग्रेस भैहालें जस्तो लाग्थ्यो मलाई त । तर बा कांग्रेस हुँदैमा छोरो कांग्रेस हुँदैन भनेर पूर्नेले मलाई सम्झाएको थियो । उसको हजुरबा मर्दा पनि उसका बाले किरिया नगरेका रे, जनै पनि लगाउँदैनन् रे भनेर बताएको थियो । तर मलाई भने बाहुनको छोरो बाहुन भएर जन्मिए झैँ काग्रेसको छोरो कांग्रेस नै भएर जन्मिन्छ जस्तो लाग्थ्यो ।

 

अँ, त्यसपछि पूर्नेका बा हेडसरको अफिसमा निकैबेर बसेर के के गफ गरेर निस्किए । उनी निस्किएपछि हेडसर पुरै नर्भस भएका थिए । पूर्ने भन्थ्यो, उसका बा पार्टीमा लागेका छन् र पार्टीका मान्छेहरूसँग सामन्तीहरू डराउँछन्, कांग्रेसहरु डराउँछन् । तर म पनि कांग्रेस थिएँ, मलाई चाहिँ पूर्नेका बासँग किन डर नलागेको होला ?

“तँ कांग्रेस हैन होला । तिमीहरूको धेरै खेत छ र ?” पूर्नेले सोधेको थियो ।
मैले घरमा दुइटा भकारी छ भनेपछि उसले म कांग्रेस हुँदै हैन भनेर बाजी राखेको थियो ।
मेरा बा, ठूल्बाहरु कांग्रेस थिए, अनि म यसै कांग्रेस भैहालें जस्तो लाग्थ्यो मलाई त । तर बा कांग्रेस हुँदैमा छोरो कांग्रेस हुँदैन भनेर पूर्नेले मलाई सम्झाएको थियो । उसको हजुरबा मर्दा पनि उसका बाले किरिया नगरेका रे, जनै पनि लगाउँदैनन् रे भनेर बताएको थियो ।
तर मलाई भने बाहुनको छोरो बाहुन भएर जन्मिए झैँ काग्रेसको छोरो कांग्रेस नै भएर जन्मिन्छ जस्तो लाग्थ्यो ।

ººº

कुरा अझै एक वर्षअघि अर्थात् पाँच कक्षा पढ्दाको हो । मलाई साह्रै पिरलो पर्न थालेको थियो । कसरी भनौँ बालाई मलाई छालाको जुत्ता चाहियो भनेर । मलाई छालाको जुत्ता त ठूलामान्छेहरुले मात्र लगाउँछन् होलाजस्तो लाग्थ्यो । तर आफ्नै कक्षाको साथी भुवनले छालाको जुत्ता टल्काएर आएको देखेपछि भने मलाई लाग्यो छालाको जुत्ता ठूलामान्छेले मात्र हैन धनी मान्छेका साना छोराहरूले पनि लगाउँदा रहेछन् । मेरा बा धनी थिएनन् । त्यसैले मनभित्र रहरको बत्ती बले पनि अनुहार अँध्यारो पारेर बसेँ । बालाई जुत्ता चाहियो भनिनँ । बाकै आफ्नो जुत्ता त फाटेका हुन्थे । मेरो प्लास्टिककै जुत्ता भए पनि फाटेको त थिएन ।

चार चारजना छोराछोरीलाई त्यति महङ्गो छालाको जुत्ता किन्दिने हुती बासँग थिएन । अलिक समय टिक्ने भए पनि हो भन्नु, तीन चार महिनामै जुत्ता या त फाट्थ्यो या त साँघुरिन्थ्यो खुट्टा बढेर । त्यसैले सस्तो मस्तो प्लास्टिकका जुत्ताहरू नै हाम्रा गोडा खोज्दै आइपुग्थे । प्लास्टिकका जुत्ताहरूमध्ये सर्वाधिक चर्चित थियो ‘जम्प’ जुत्ता । नाम जम्प भएर के गर्नु, उफ्रिनु त परको कुरा भतभती पोलेर, घाउ बनाएर हिँड्नै पनि सकस हुन्थ्यो । मोजालाई छिद्र पारेर औँलाका टुप्पाहरू जुत्ताका भित्री भित्तामा रगेडिन्थे । पानीफोकाहरु उठ्थे, फुट्थे अनि चहर्याउनेगरी पोल्दथे ।

बालाई भन्न त कहाँ साहस थियो र । पहिलो चरण आमालाई भनसुन लगाउनु पर्थ्यो ।
“आमा, मोजा प्वाल पर्‍या छ ।” एकैचोटी जुत्ताको कुरा झिक्दा अप्ठेरो पर्ला भनेर कुरा मोजाबाट सुरु गर्नु उत्तम हुन्थ्यो ।
“के भो त । जुत्ताभित्र लाउनी कुरा हो । प्वाल पर्‍या नि कल्ले थापाउँछ र ।” आमा झर्किनु हुन्थ्यो ।
“प्वालबाट बुडिऔँला निस्केर जुत्ताले घाउ बनाछ ।” आमाको सहानुभूति पाउने आशामा म पिलपिलाउँदो अनुहार बनाएर खुट्टा देखाउँदै भन्थेँ, “यी हेर्नु त ।”
“आss यस्ता जाबो घाउ । यी हाम्रो घाँस काट्दा हँस्सेले यत्रा ठूल्ठूला घाउ बनाछ ।” आमा आफ्ना हातका घाउहरू देखाउँदै भन्नु हुन्थ्यो, “त्यो छुसी जुत्ताले बना घाउ जुत्तैले बिसो हुन्छ ।”
मलाई डाँको छोडेर रुन मन लाग्थ्यो तर रुन सक्दिनथेँ । पाँचसय रूप्पेभन्दा बढी नै पर्ने छालाको जुत्ता मैले लगाउन पाउँदिन भन्ने जानीसकेको थिएँ । तर प्लास्टिकको जुत्ता लगाएर हिँड्न पनि मलाई गाह्रो भैसकेको थियो ।

पोहोर पाँच कक्षामा पुगेदेखि नै लागेको नयाँ जुत्ता लगाउने धोको अब भने यो साल पुरा होला जस्तो भएको थियो । छ कक्षामा पुग्दा मेरो व्रतबन्ध हुने भयो । व्रतबन्ध हुनु भनेको जनै लगाउनु र कपाल खौरिनु मात्र हैन, मामाले नयाँ लुगा ल्याइदिनु पनि हो । घरकाले पनि केही बढी मन फुकाएर लुगा किन्दिनु हो । मलाई सारा आउना पाहुनाका अगाडी नांगै बनेर जोगीजसरी “भिक्षाम् देही” भन्न पनि सजिलै लाग्यो किनकि मेरो ध्यान त मामाले के के लुगा ल्याइदिनु हुने हो भन्नेमा थियो । अरू लुगाहरू जेसुकै हुन् त्यति चासो थिएन । केवल एउटा लुगामा भने मेरो मनभित्र कुतूहल मडारिन थालेको थियो । जुत्ता कस्तो होला ?

बुडा मान्छेहरूले मात्र लगाउने जस्तो डिजाइनको गोल्डस्टार जुत्ता मजस्तो फुच्चेलाई पनि सुहाउने साइजमा आउन थालिसकेको रहेछ । भैँसीले जिब्रो सर्लक्क माथि लगेर नाकको प्वाल चाट्दाखेरि बन्ने थुतुनोजस्तो थुतुनो भएको गोल्डस्टार जुत्ताले मलाई जीवनमा कहिल्यै नदिएको सुखानुभूति दिएको थियो त्यसदिन । पुर्नेका बाले लगाएको जस्तो जुत्ता अब भने मेरा खुट्टामा पनि आइपुगेका थिए ।

व्रतबन्धका सारा रीत भ्याइसकेर नयाँ लुगा लगाउने बेला आएपछि मेरो आँखाले त्यस्तो मनमोहक दृश्य देखे जुन दृश्य मैले केवल दिनरात खुल्ला आँखाहरूले देख्ने सपनामा मात्र देखेको थिएँ । मेरा एकजोर गोडाहरूले त्यसदिन छालाका जुत्ता लगाउने मौका पाए । गोडाका पनि आँखा हुँदा हुन् त खुसीका आँसुले मोजा भिज्ने थिए होलान् । तर मामाले छालाका जुत्ता लगाउने बेलैमा रोकेर भन्नुभयो, “यो घरमा किन्दिएको जुत्ता स्कुल जाँदा लगाउनु । आज त मामाले किन्दिएको जुत्ता लगाउनु पर्छ ।”

त्यसपछि मेरो हर्षको सीमा नै रहेन । के अर्को जोर पनि छ जुत्ता ?
भन्न त केट्केटि मान्छे, दिनभरि व्रतबन्ध गर्ने जग्यमा भोकभोकै बसेर नातागतले रिँगटा लाग्यो होला भने अरूले । तर मेरा आँखाहरू त मामाको झोलाबाट सुस्तरी आफ्नो अनुहार देखाउँदै निस्किएको गोल्डस्टार जुत्ता देखेर तिरमिराएका थिए ।
बुडा मान्छेहरूले मात्र लगाउने जस्तो डिजाइनको गोल्डस्टार जुत्ता मजस्तो फुच्चेलाई पनि सुहाउने साइजमा आउन थालिसकेको रहेछ । भैँसीले जिब्रो सर्लक्क माथि लगेर नाकको प्वाल चाट्दाखेरि बन्ने थुतुनोजस्तो थुतुनो भएको गोल्डस्टार जुत्ताले मलाई जीवनमा कहिल्यै नदिएको सुखानुभूति दिएको थियो त्यसदिन ।
पुर्नेका बाले लगाएको जस्तो जुत्ता अब भने मेरा खुट्टामा पनि आइपुगेका थिए ।

ººº

छालाको जुत्ता त स्कुल जाँदा लगाउन पाइहालियो । वर्षैभरी स्कुल र घर मात्र गर्ने बबुरोले मामाले ल्याइदिनु भएको गोल्डस्टार जुत्ता कतिबेला कहाँ जाँदा लगाउनु र । त्यसैले जुत्ता सात कक्षा पुग्दासम्म पनि नयाँ थियो । तर सात कक्षा पुगेपछि भने एकदिन मलाई जुत्ता लगाएर केही टाढा जाने मौका मिल्यो । गाउँकै एकजना दाइको साथी लागेर फिल्म हेर्न भनेर निस्किएँ । छतभरी मान्छे, भित्र पनि मान्छे कोचेर हिँडेको गाडी सुत्केरी महिलाझैँ ढलक ढलक गरेर गाउँको बाटो छिचोल्दै थियो । छतको एउटा छेउमा आफ्ना दुई खुट्टा झारेर पछाडि पट्टिको डन्डी बलियोगरी समातेर यात्रारत थिएँ म । मेरा आँखाहरूले बाहिर देखिने दृश्यहरू भन्दा बढी आफ्नै चिटिक्क परेका जुत्ता हेरिरहेँ ।

बजार आइपुग्ने बेलामा आर्मी क्याम्पको चेकपोस्टमा गाडी रोकियो ।
“ल सबैजना झर्नुस्, पर चेकिंग छ”, बसको सहचालकले भन्यो ।
आफ्ना झोलीगुन्टा बोकेर सिटमा बसेका, भित्र खाँदिएर उभिएका र छतमा बसेकाहरू सबै चेकिङको लाइनमा उभिए । सेनाले बसमा ड्राइभरबाहेक कसैलाई बस्न दिएन । लगभग सय मिटर परबाटै सकी नसकी सबैजना निरीह बनेर आफूलाई निर्दोष साबित गर्न लहरै अगाडि बढेँ ।

कसैका लुगाफाटा, कसैका घ्युका सिसी, कसैका तरकारीका पोका, कसैको त अझ पर्सबाट कन्डमकै प्याकेट पनि बाहिर निकालेर चेकिङ गरेर पठाउँदै थियो एउटा मास्क लगाएको सैनिक । के सोच्थे खै उनीहरू, बम, गोली, बन्दुक वा अरू केही डकुमेन्ट बोकेर माओवादीहरू त्यहाँ लाइन लाग्ने थिए र ? खैर, उनीहरूको कर्मकाण्ड नै थियो होला । लाइन सर्दै सर्दै जाँदा चेकिङमा पर्ने मेरो पालो आयो । म बबुरो फिलिम हेर्न हिँडेको फुच्चे, फ्यास्स परेको सर्ट र पाइन्टमा अलिक नयाँ देखिने जुत्ता लगाएर । न त झोला न त खल्तीमा पर्स । पाइन्टको गोजीमा पचासको एउटा नोट बोकेर हिँडेको मलाई छामछुम गर्नुपर्ने, निगरानी गर्नुपर्ने नै के थियो र । तर अचम्म, अरूभन्दा बेग्लै उभ्याएर मसँग सोधपुछ शुरु भयो ।
“घर कहाँ हो तेरो ?” च्याप्प कठालोमा समातेर आर्मीले सोध्यो ।

मेरो ओठ काँप्न थाल्यो । जिब्रो लटपटियो । म लाचार भएर साथी आएको गाउँको दाइलाई मुन्टो घुमाएर खोज्न थालेँ । आफ्नो चेकिंग भइसकेर दाइ अगाडी बढिसकेछन् । उनी त अझ बढी लाचार देखिन्थे । त्रास र कुतूहलको रङ्ग पोतिएको अनुहारले फर्की फर्की मलाई हेर्दै हेर्दै गाडी चढ्ने ठाउँतिर सोझिँदै थिए उनी ।

“घर कहाँ हो भन्दैनस् ? कसले किन्देको तँलाई यो जुत्ता ?”
“घर तुप्चे ।” थर्थराएको ओठले यत्ति भन्न सकेँ । घुटुक्क थुक निल्न खोजेँ, तर मुखमा निल्न पुग्ने थुकै रहेनछ ।
हातमा लिएको सानो काँडा भएको लट्ठीले मेरो जुत्तामा हानेजस्तो गरी गोलीगाँठामा हान्दै आर्मीले फेरि सोध्यो, “कसले किन्देको यो जुत्ता ?”
“मामाले ।” मेरो शब्द र सास लट्ठीको प्रहारसँगै निस्कियो, र सायद भित्री कट्टुमा पनि थोरै डर तुरुक्क रसायो ।
“हीरानाथ मामाले ?”
म जिल्ल परेँ । थोरै हिम्मत बटुलेर भनेँ, “हैन ।”
“हीरानाथ काका कहाँ छ तेरो ?”
“को हीरानाथ काका ?” भन्ने आशयको प्रश्नवाचक भाव अनुहारमा लिएर मैले आर्मीका आँखामा हेरेँ ।
“तेरो गाउँको काका हीरानाथ ।” उसले यो फुच्चेबाट गाउँकै माओवादी नेताका बारेमा केही थाहा पाउन सकिएला कि भन्ने आइडिया लगाएको थियो । तर मलाई के थाहा यो सब । रसिला आँखाले त्रस्त भएर मैले आर्मीलाई हेरिरहेँ । उसले अरू लाइनमा उभिएकालाई पनि गिजोल्न बाँकी नै भएर होला, मेरो कठालोमा समातेर धक्का दिँदै भन्यो, “आज लगाएर जा, तर आइन्दा यो जुत्ता लगाएर नहिँड् है ।”

मैले आज्ञाकारी बनेर मुन्टो हल्लाएँ ।
बसको छतमा उक्लिँदा पनि बेस्सरी चित्त दुख्यो । मैले कुटाई खाएँ, दुःख यो थिएन, दुख त मैले आफ्नो मन परेको जुत्ता लगाउन नपाउने भएर लाग्यो ।

ººº

एक बिहान खानासाना खाइवरी चिसै हातले पाइन्टको पछाडि पुछ्दै स्कुलतिर लागेँ । खासै धेरै मान्छेहरू त थिएनन् बाटोमा । तर स्कुलमा प्रार्थनाको घण्टी लाग्नु अगाडि नै स्कुलको चौरमा रबरको चुंगीको गोल हानी खेल्ने अभिलाषा बोकेर म अरूभन्दा पनि छिट्टै स्कुल पुग्ने ध्याउन्नमा बाटो लागेँ । बाटोमा घर पर्ने स्कुलका साथीभाइ मलाई खिसीको हाँसो लिएर हेर्दै थिए, मानौँ म एक अज्ञानी हुँ जसलाई सबैले थाहा पाइसकेको खबर नै थाहा छैन ।

खबर रहेछ नेपाल बन्दको । न त पत्रिकामा छापिने, न त रेडियोमा बज्ने तर पनि यो बन्दको खबर कहाँबाट आउँदो हो सबैसम्म ? हिजै राति हाम्रै गाउँभन्दा माथिको जंगलमा भिडन्त भएर केही माओवादीहरू मारिएको भएर माओवादीले गण्डक क्षेत्र बन्दको आयोजना गरेको रहेछ ।

“तँ मात्र जा स्कुल, तँलाई कालो कुकुरले पढाउँछ, सरहरू त आउँदैनन् होला,” एकजना साथीले बाटोमै सुनाएपछि मलाई यी शब्दहरू कर्णप्रिय लागेर आए । खाना खानु अगाडी नै थाहा पाउन पाएको भए त मलाई सिङ्गै बिदाजस्तो लाग्दो हो त्यो दिन । भात खाएर, स्कुलको लुगा लगाएर आधा बाटो जति पन्ध्र मिनेट हिँडिसकेपछि मलाई त्यो बिदा पनि पुरै बिदा जस्तो लागेन । तैपनि खुशी खुशी घर फर्किएँ ।

त्यो दिनैभरी गाउँमा खासखुस खसखुस चलिरह्यो । माथि गाउँको सरकारी स्कुलमा संस्कृत विषयको प्रश्नपत्र च्यात्न गएका माओवादीहरू भिडन्तमा परेका रे । कतिजना मरेको त थाहा छैन रे । यस्तै कुराहरू भइरहे । दिउँसोतिर गाउँकै केही ठूला केटाहरू भिडन्त परेको ठाउँमा हेर्न भनेर जान लागेका थिए । मलाई पनि कुतुहुलले उनीहरूकै पछिपछि माथि गाउँतिर डोहोर्यायो । लगभग एक घण्टाको उकालो चढेपछि माथिल्लो गाउँ र तल्ल्को गाउँको बिचमा पर्ने जंगलको एउटा खोल्सोनेर रगतका टाटाहरू देखिए । केही बुट्यानहरू माडिएका थिए । मैले परैबाट एउटा परिचित लाग्ने जुत्ता देखेँ । गोल्डस्टार जुत्ता । जसको साइज र डिजाइन हेर्दा केही पहिले तिनीहरू पुर्नेका बासँगै हाम्रो स्कुलको आँगनबाट छिटो छिटो मास्तिर लागेका थिए ।

मैले जड भएर निकैबेर त्यो शान्त घटनास्थल नियालिरहेँ ।
नभन्दै भोलिपल्टबाट पूर्ने स्कुल आउन छोड्यो । पूर्नेका बा हाम्रो स्कुलमा आएको भोलिपल्ट देखि बिहानको प्रार्थनामा ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति’ भनेर राष्ट्रिय गान गाउन छोडिएको थियो । खाली अँग्रेजी प्रेयर मात्र भनेर कक्षामा पस्नु पर्थ्यो । बन्द हुनुअघि प्रार्थनामा उभिएर सबैले राष्ट्रिय गान गाउँदा पूर्ने भने चुपचाप उभिई मात्र रहन्थ्यो । ऊ हामीले जस्तो ठूलो आवाजमा ‘राखुन् चिरायु इशले, प्रजा फैलियोस्…’ भन्दैनथ्यो । राष्ट्रिय गान भन्दा भन्दै बिच्चैमा आउने जोस पूर्नेलाई चाहिँ किन नआएको होला ?

“पार्टीको अर्कै गीत हुन्छ, यो त राजाको गीत हो । आफ्नै दाइ मार्नेको गीत गाउन हुन्न भनेर बाले भन्नु भाछ ।” पूर्ने भन्थ्यो ।
हाम्रो मनसम्म पनि नआउने कुरा पूर्नेको मुखसम्मै आइपुग्थ्यो । मलाई अचम्म लाग्थ्यो अनि डर पनि ।
आज त्यही पूर्ने स्कुल आउन छोडेको थियो ।
निकैदिन पछि पूर्ने नजिकैको सरकारी स्कुल पढ्न थाल्यो रे भन्ने खबर आयो । कहिल्यै नहाँस्ने, धीर अनि गम्भीर पूर्नेको जीवन बाको मृत्युबाट मोडियो ।
“बोडिंग स्कुलहरू सब खारेज हुन्छन्”, सँगै पढ्दाताका पूर्ने यस्तो भन्ने गर्थ्यो, “त्यसपछि सबजना सरकारी स्कुल पढ्नुपर्छ ।”
तर आज पूर्नेमात्र सरकारी स्कुल पढ्न गएको थियो ।

बैसट्ठी त्रिसट्ठीको आन्दोलन पछि देशमा लोकतन्त्र आयो । त्रास र आतंकको छाया पनि हटेर गएको थियो । एसएलसी सकेर म पनि काठमान्डू लागेँ । नयाँ युग नै आएझैँ भएको थियो । दोहोरो भीडन्तका खबरहरू आउन छोडेका थिए । बाटोबाटोमा चेकिङका नाममा नागरिकको हुर्मत लिने काम बन्द भएको थियो । मोबाइल फोन हातहातमा आउन थालेको थियो । माओवादीले रिपिटर टावर बमले उडाइदिएपछि महिनौँ फोन सम्पर्क विहीन हुने ठाउँहरूमा अब तार नचाहिने सीडीएमए फोन पुग्न थालेको थियो । मानौँ हामी डरलाग्दो सपनाको ऐँठनमा छटपटिएर निदाइरहेका थियौँ । अकस्मात् उज्यालो बिहान आयो र हामी शान्त भएर ब्युँझियौँ । एकछिन अघिसम्म अत्त्याएको सपना हामीले तत्कालै बिर्सियौँ ।
तर बिर्सेको थिएन होला पुर्नेले ।

बाको मृत्युपछि पूर्ने भन्थ्यो रे, उसको बाको शहादतको बदला कमान्डर बनेर लिने छ अरे । तर खबर आउन छोडेर हो वा आफैँले चासो नदिएर हो त्यसपछि मलाई पूर्नेको बारेमा केही थाहा लागेन ।
वार्ता र शान्ति सम्झौतापश्चात् माओवादी खुला भएर आए । प्रचण्ड, बाबुरामहरूले खरानी रङ्गको उस्तै उस्तै सर्ट पाइन्ट लगाएर सँगै नारिएर भाषण गर्ने आमसभामा बर्षौंपछि मैले पूर्नेलाई देखेँ ।

माओवादीको महाधिवेशन हुँदै रहेछ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा । म कामविशेषले शहर निस्किँदा देखेँ । तर त्यहाँ मैले मेरो बालसखा पूर्नेलाई देखिनँ । सायद ऊ केही हप्ता अघिनै त्यही ठाउँको अलि तल्लोपट्टि भृकुटीमण्डपमा थियो कि ? जहाँ काँग्रेसको महाधिवेशन भएको थियो ।

ऊ निधारमा रातो फित्ता बाँधेर फर्याक फुरुक्क गर्दै हिँडेको थियो । मलाई चिनेर ऊ मुसुक्क हाँस्यो । हात मिलायो । सोच्यो होला, यो काँग्रेस पनि पार्टीको कार्यक्रममा आएछ । तर दशौँ वर्ष एउटा मिथक झैँ बनेर बसेका प्रचण्ड अनि कहिल्यै सेकेण्ड नभएका भनिएका, एसियाकै सबसे ट्यालेन्ट मान्छे भनेर सानैदेखि सुन्दै आएका बाबुराम कस्ता होलान् भन्ने जिज्ञासा भएर हेर्न हरकोही खुल्लामंच पुग्न भिडभाडले नसकेर जमलसम्म भएपनि पुगेका थिए ।

त्यसदिनको संक्षिप्त कुराकानीमा पूर्नेले भन्यो, ऊ स्वयमसेवक हो रे । अनि ऊ वाईसीएलमा पनि छ रे आजभोलि । जेहोस् उसका बाले के सपना देखेका थिए कुन्नि, केही हदसम्म भएपनि पूरा भएको सन्तुष्टि उसका आँखामा मैले देखेको थिएँ ।

त्यसपछि त बेलाबेलामा काठमान्डुका विभिन्न ठाउँमा पूर्नेलाई देख्ने क्रम जारी रह्यो । कहिले ऊ बागबजारमा चन्दाको प्याड बोकेर हिँडेको देखियो, कहिले ऊ शहीद परिवारका नाममा सम्मान खाँदै गरेको देखियो । कुरैकुरामा एकदिन पूर्नेले भन्यो, “हाम्रो प्रमाणीकरण हुन लाग्या छ, मचाहिँ स्वैच्छिक अवकाश रोजेर पैसाको प्याकेज लिन्छु होला ।”
मैले अचम्मका आँखाले हेरेर सोधेँ, “तँ जनमुक्ति सेना पनि थिइस् ?”

उसले फिस्स हाँसेर आँखा झिम्क्याएको थियो ।
पूर्नेले शहीद परिवारको राहत पनि बुझ्यो, स्वैच्छिक अवकाशको पैसा पनि बुझ्यो । उसले चन्दा पनि उठायो । बाले देखेको सपनाको एक एक ब्याज उठायो । उसले बाको शाहदतको बदला गनीगनी लियो । सानोमा मैले देखेको पूर्ने आज अर्कै भएको थियो । उसमा उसका बाको निष्ठा लेस पनि बाँकी थिएन ।

बिस्तारै समयले गति बढाउँदै गयो । आज माओवादीका गोडामा गोल्डस्टार जुत्ता देखिँदैन । न त उनीहरू खरानी रङ्गका खाकी सर्ट लगाउँछन् । माओवादीको महाधिवेशन हुँदै रहेछ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा । म काम विशेषले शहर निस्किँदा देखेँ । तर त्यहाँ मैले मेरो बालसखा पूर्नेलाई देखिनँ । सायद ऊ केही हप्ता अघि नै त्यही ठाउँको अलि तल्लोपट्टि भृकुटीमण्डपमा थियो कि ? जहाँ काँग्रेसको महाधिवेशन भएको थियो ।

गाउँमा धेरै खेत नहोला, तर शहरमा त जग्गा जोडेकै थियो पूर्नेले । एकदिन मैले पूर्नेको फेसबुकमा एउटा फोटो देखेँ । बाले संस्कृतको प्रश्नपत्र जलाउँदा आर्जन गरेको शहादतको बदला ऊ नयाँ घरमा रुद्रीपूजा लगाएर लिँदै थियो । मैले उसको त्यो फोटोमा लभ रियाक्ट गरिदिएँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *