उत्तर गयामा श्राद्ध गर्नेको भिड (तस्बिरहरु)
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा रहेको कान्तिभैरव उत्तरबाहिनी (उत्तर गया) मा पितृ मोक्षका लागि श्राद्ध गर्नेको भिड लागेको छ ।
भारतको काशी, गयालगायतका धार्मिक तीर्थस्थलमा श्राद्ध गर्न जानुअघि यस ठाउँमा श्राद्ध गरेर गएमा पुण्य कमाइने धार्मिक विश्वास रहिआएको छ । यस कारण पनि यहाँ पौष औँसीका दिन श्राद्ध गर्नेको भिड लाग्ने गर्दछ ।
यस दिनलाई गया मौनी दर्शश्राद्धमको नामले समेत चिनिन्छ । तीर्थश्राद्ध गर्दा श्रद्धालुले पितृ मोक्षका लागि जौको पिठोबाट बनाइएको पिण्ड दान गर्ने गर्दछन् ।
उत्तर गया क्षेत्रको नामले प्रसिद्ध यस क्षेत्रमा पौष कृष्ण औँसीका दिन पितृलाई पिण्ड र तर्पण दिनाले सबै पितृहरू मोक्ष हुन्छन् भन्ने विश्वासका साथ हरेक वर्ष तिर्थालुहरुको यहाँ भीड लाग्ने गर्दछ । गत पौष १५ गते पूर्व राजा ज्ञानेन्द्र शाह पनि यहाँ आएर तिर्थ श्राद्व गरेका थिए ।
भारत वर्षका चार गयामध्ये भारतमा तीन गया छन् भने नेपालमा रहेको एक गया ‘उत्तर गया’ हो । आजै नुवाकोटको बेत्रावतीमा पनि श्राद्ध गर्ने भक्तजनको भिड लाग्ने गर्दछ । बेत्रावती क्षेत्र पनि उत्तर गयाको नामले प्रसिद्ध छ ।