माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने
काठमाडौँ।माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । आठौँ राष्ट्रिय महाधिवेशनको आठौँ दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बसेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्य समितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी कमिटी बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया शुरू गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो १ बजेसम्म बन्द सत्र स्थगित गरिएको छ । स्थायी कमिटीबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्द सत्रमा प्रस्तुत गर्ने भएका छन् ।