सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झपड हुँदा केही कार्यकर्ता घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा भएको झडपका क्रममा ६ जनाभन्दा बढी जनमत पार्टीका कार्यकर्ता घाइते भएका हुन् ।
झडपका क्रममा प्रहरीले गोली चलाएको थियो । धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाभन्दा बढी कार्यकर्ता घाइते भएका हुन् ।
घाइते हुनेहरूमा नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह रहेका छन् । घाइतेमध्ये वैजनाथको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । पटक-पटक बाटो खुलाउन आग्रह गर्दा पनि बाटो नखुलेपछि बाध्य भएर प्रहरीले गाेली चलाएको प्रहरीकाे जिकिर छ ।
सीके राउतले भने आफूहरूकाे शान्तिपूर्ण आन्दाेलनका क्रममा प्रहरी दमन भएकाे बताएका छन् ।
जनमत पार्टीले चुनावकेन्द्रित गतिविधि बढाएको छ । खासगरी मधेसकेन्द्रित भएको पार्टीले चुनाव जित्न भन्दै चन्दा सङ्कलन कार्यसमेत शुरू गरेको छ । पृथकतावादी गतिविधि गरेकाे भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई ओली नेतृत्वको सरकारले नै मूलधारको राजनीतिमा समाहित गराएको छ ।