प्रचण्डलाई प्रश्न- कमरेड ! शान्तिपूर्ण प्रतिस्पर्धाबाट ‘समाजवाद’ आउँछ ?
काठमाडौँ । ‘…पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार गर्ने कुरामा केन्द्रित हुनेछ’ भन्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा ‘काउन्टर’ दिँदै माओवादी नेता लेखनाथ न्यौपानेले जिरह गरे, ‘शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ ।’
उनी यत्तिमै रोकिएनन्, थपे- ‘उहिल्यै १९५६ मा बदनाम भएको खुश्चोवी लाइनअनुसार जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन हो । तत्काल वा कार्यनीतिक रूपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अवलम्बन गर्नु केही हदसम्म ठिक मान्न सकिन्छ, तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थी नै हुन आउँछ ।’
त्यसो त विश्व कम्युनिष्ट आन्दोलनमा पनि क्रान्ति र समाजवाद कसरी आउँछ ? भन्नेबारे पटक–पटक विवाद र बहस भएको इतिहास छ । कतिपय विश्लेषकहरू यो सम्बन्धित देश वा क्षेत्रको तात्कालिक परिवेशमा भरपर्ने बताउँछन् भने वामपन्थी नेताहरू ‘आफैँ ठिक, आफ्नै ठिक’ भन्ने सतहमा उक्लिरहन्छन् ।
‘समाजवाद’ नेपाली प्रायः दलहरूले उठाउने राजनीतिक एजेन्डामध्ये पर्छ । तर, नेपालको सन्दर्भमा कसरी समाजवाद आउँछ/हुन्छ भन्नेबारे भने प्रमुख वामपन्थी नेताहरू नै अन्कनाउँछन् । यस्तो अवस्थामा समाजवादका एजेन्डा बोक्ने वामपन्थी नेताहरूमाथि नै ‘वाम-पन्थ’बाट विमुख भएको आरोपहरू लाग्ने गरेका छन् ।
त्यसो त समाजवादलाई लिएर वामपन्थी नेताहरू, त्यसमा पनि एउटै दलका नेताहरूबीच नै पनि कुरा नमिल्ने अवस्था आइरहन्छन् । वर्तमान अवस्थामा नेपाली राजनीतिक वृत्तमा हेर्ने हो भने यसको उदाहरण नेकपा (माओवादी केन्द्र) स्वयम हो । संघीयता, धर्मनिरपेक्षता, समावेशीतासँगै समाजवादी क्रान्तिको एजेन्डा नछोड्ने माओवादी अहिले समाजवाद आउने बाटो के र कुन हो (?) भन्नेबारे अन्योलग्रस्त बनेको छ । यसकै एक उदाहरण हो, न्यौपानेको १० बुँदे फरक मत ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद शान्तिपूर्ण बाटोबाट खोज्नुपर्ने बताइरहँदा अन्य नेताहरूले शान्तिपूर्ण बाटोबाट समाजवाद नआउने जिकिर गरिरहेका छन् । प्रचण्डको यो भनाइ गलत रहेको पुराना वामपन्थी नेता तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि बताउँछन् । शान्तिपूर्ण बाटोबाट समाजवादी क्रान्ति हुन्छ भन्नु अथवा समाजवाद नै आइहाल्छ भन्नु चाहिँ ढँटुवाहरूको चाल हो,’ अध्यक्ष केसीले भने ।
शान्तिपूर्ण बाटोबाट समाजवाद आउँदैन भन्ने कुरा विश्व कम्युनिष्ट आन्दोलनमा नै पुष्टि भइसकेको नेता केसीको जिकिर छ । रुस, चीनलगायतका देशहरूमा यसको पुस्ट्याइँ भइसकेको उल्लेख गर्दै नेता केसी थप्छन्, ‘‘विश्वका कम्युनिष्ट सरकार हुने देशहरूले पुष्टि गरिसकेका छन् । शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति हुन्छ भन्नु कांग्रेसको बाटो हो । न समाजवाद आएको थियो, न आउने नै छ । यो त खाली जनताको अगाडि ठिक्क हुने बाटो मात्रै हो ।’
उसो त वामपन्थी दलबाट छुट्टिएर बनेका नयाँ दलहरूले पनि आफ्नो राजनीतिक बाटो ‘वाम–पन्थ’ नै रहेको दोहोर्याउँछन् । तर, उनीहरू विज्ञानमा अमिवा टुक्रिएर अमिवा नै बनेजस्तो भएका छन् । एमाले टुक्रिएर बनेको एकीकृत समाजवादी होस् वा माओवादीबाट टुक्रिएर बनेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा । सबै दलहरू समाजवाद वा वैज्ञानिक समाजवादको सन्दर्भमा अमिवाकै प्रसङ्गजस्ता हुन् ।
ती दलहरू, जो आफ्नो राजनीतिक एजेन्डामा समाजवादलाई छुटाउँदैनन् । उनीहरूले समाजवादलाई कमाइखाने भाँडो बनाएको आरोप पनि लाग्ने गरेको छ । यी र यस्तै कारणले अहिले आम धारणा नै बन्दै गएको छ- ‘समाजवाद भनेको दलहरूको कमाइखाने भाँडोजस्तो हो । उनीहरू समाजवाद भन्छन्, समृद्धि भन्छन् । जनतालाई लोभ्याउँछन्, झुक्क्याउँछन् चुनावमा भोट बटुल्छन् । जब सत्तामा पुग्छन्, अनि समाजवाद कता, समृद्ध कता सबै आ-आफ्नै धुनमा मस्त हुन्छन् ।’
शान्तिपूर्ण बाटोबाट ‘समाजवाद’ सम्भव छ ?
नेपालको सन्दर्भमा वास्तविकता बताउँदा समाजवाद भनेको के हो (?) भनेर स्वयम् समाजवादको एजेन्डा बोक्ने दलका नेताहरूलाई पनि थाहा छैन । जनताको हिसाबबाट कुरा गर्ने हो भने त समाजवाद कुन चरीको नाम हो (?) भन्ने नै अवस्था हो ।
हुन पनि समाजवादबारे दलहरूको स्पष्ट कार्यक्रम छँदा पनि छैन । ‘नेपालको सन्दर्भमा कस्तो समाजवाद चाहिन्छ, कसरी यो आउँछ वा समाजवादी क्रान्ति कसरी सफल हुन्छ (?) भन्नेबारे समाजवादबारे आँक्ने दलका नेताहरूलाई नै थाहा छैन,’ जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्, ‘न एमालेलाई थाहा छ, न माओवादीलाई, न कुनै अन्य दललाई नै थाहा छ ।’
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य नेता केसीको भनाइसँग सहमत छन् । ‘भनाइमा समाजवाद, गराइमा अर्कै छ । कसरी जनताले थाहा पाउँछन् समाजवादबारे ? जनताहरू त समाजवाद के हो भन्ने चरणमै छन् ।’
प्रचण्डले भनेको बाटोबाट प्रचण्डले नै भनेको समाजवाद नआउने विश्लेषण विश्लेषक आचार्यको पनि छ । ‘शान्तिपूर्ण बाटो वा चुनाव लडेरै आउने भनेको चाहिँ लोक कल्याणकारी समाजवाद हो,’ विश्लेषक आचार्य भन्छन्, ‘तर, अन्तर्राष्ट्रिय मान्यता प्राप्त समाजवाद भने आउँदैन । यसको छुट्टै इतिहास छ ।’
प्रचण्डले भनेको समाजवाद, अन्तर्राष्ट्रिय मान्यता प्राप्त समाजवाद भनेको उल्लेख गर्दै उनी थप्छन्, ‘त्यो चाहिँ यो बाटोबाट आउँदैन । विश्वको अभ्यासबाट पनि यो प्रमाणित हुन्छ ।’