अल्लो र भाङ्ग्राका सामानले नेपाल चिनाउँदै गणेश

गरे के हुँदैन ? गणेश ऐडी यो प्रश्न धेरैलाई सोध्छन् । उनी आफैले आफैसँग गरेको यही प्रश्नले उनलाई उद्यमको बाटोमा डोर्‍याइरहेको छ । गरेपछि पो सम्भव हुने रहेछ भन्ने कुरा गणेशको उद्योग ‘फरेस्ट्री हेम्प ब्याग’ले पुष्टि गर्छ पनि ।

काठमाडौँको बुढानीलकण्ठमा जस्ताले बनाएको यो उद्योगमा बन्ने सामान विश्वका धेरै देशमा रहेका व्यक्तिले प्रयोग गर्न पाएका छन् । बझाङको तल्कोटमा जन्मिएका गणेशलाई केही रमाइला त केही दुःख लाग्ने घटनाले उद्यमी बनाएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएका गणेशलाई सानो बेलामा आफ्ना इच्छा पूरा गरिदिने कोही थिएन । उनको परिवारलाई आधारभूत आवश्यकता पूरा गर्नै कठिन थियो ।

रेसाका बस्तु उत्पादन गर्दै
हेम्प (गाँजाको रेसा)को इतिहास लामो छ । मानिसले कपडा लगाउन सुरु गरेको समयदेखि नै गाँजा, अल्लो भाङ्ग्रो आदिका रेसाबाट बनेका लुगा लगाउने गरेको इतिहास छ । तातो, लामो र बलियो रेसा भएको बस्तु खोज्ने क्रममा हेम्प र अल्लोको प्रयोग शुरु भएको मानिन्छ । गणेश अहिले पनि आफू यस उद्योगप्रति आकर्षित हुनुलाई आफ्ना पिता पुर्खाबाट प्रेरित भएको ठान्छन् ।

हाते प्रविधिबाटै बुन्ने हेम्प र अल्लोको लुगा लगाएको सन्दर्भ उनले गाउँमा हुँदा प्रत्यक्ष अनुभव गर्न पाए । गणेश आफ्ना बाबु-बाजे लेकतिर जाँदा, कुनै महामारी र रोगबाट बच्न अल्लो र गाँजाको रेसाबाट बनेको लुगा लगाउने गरेको देख्दै हुर्केका हुन् । उनी स्वयमले बझाङमा यस्तै रेसाबाट बनेका लुगा ओछ्याएर, र बुनेको टालो बेरेर बाल्यकाल बिताएको बताउँछन् । अल्लोको लुगामा खाद्य पदार्थ र अनाज राख्ने र भाङ्ग्राको बोटबाट बनेको लुगा चाहिँ ओढ्ने, ओछ्याउने, गरेको उनी सम्झन्छन् । गणेशले बझाङकै सत्यवादी माविबाट ८ कक्षासम्मको पढाई पूरा गरे । विद्यालय जाँदा पनि भाङ्ग्राको लुगा नै लगाएर जाने गरेको सम्झना अझै पनि ताजै छ उनीसँग । ती सबै कपडा परम्परागत विधिबाट उनकै घरघरानामा बनेको हुन्थ्यो ।

तिनै सामानको व्यापार गर्ने योजना बन्नुको पछाडि चाहिँ रमाइला सन्दर्भ जोडिएका छन् । गणेश विद्यालय पढ्दा जिल्लास्तरको हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएका थिए । विद्यालय दोस्रो स्थानमा आएपछि काठमाडौँमा हुने प्रतियोगितामा सहभागी हुने अवसर पाए । त्यही सिलसिलामा गणेश पहिलोपटक काठमाडौँ आए । उनका एकजना आफन्त काठमाडौँमा नै बस्थे । उनले ती आफन्तलाई बझाङबाट भाङ्ग्राको लुगा ल्याइदिएको कोसेली ल्याइदिएका थिए । काठमाडौँमा भएको हाजिरीजवाफ प्रतियोगितामा गणेशको समूह तेस्रो भयो ।

खुसीयालीमा शिक्षकले उनीहरूलाई वसन्तपुर दरबार घुमाउन लगे । त्यो बेला गणेशले हेम्पबाट बनेको कपडाको ४ मिटरजती टुक्रा पट्याएर हातमै बोकेर गएका थिए । आवश्यक परिहालेमा ओढ्न, ओछ्याउन काम लाग्छ भनेर आफूले त्यो कपडा आफूसँगै लगेको उनी बताउँछन् । वसन्तपुर दरबार क्षेत्रमा भेटिएका एकजना विदेशी नागरिकले गणेशलाई ‘यो लुगा बेच्ने हो ?’ भनेर सोधेका थिए । गणेश सम्झन्छन्, ‘मैले उसको कुरा सुन्नासाथ बेच्ने हो भनिहाले । किनभने म घरबाट जम्मा ९९ रुपैयाँ लिएर काठमाडौँ आएको थिएँ ।’

उनले त्यो लुगाको मूल्य १ सय २० रुपैयाँ भने । ती विदेशीले पैसा दिए र कपडा लगे । उनले विदेशको पैसा चिनेका थिएनन् त्यही भएर नचिनेको पैसा लिन अन्कनाए । नजिकै रहेका सरले त्यो पैसा राख पछि म साटिदिन्छु भने । उनले केहीबेर पछि मात्र थाहा पाए ती विदेशीले उनलाई नेपाली होइन १ सय २० अमेरिकी डलर पो दिएका रहेछन् । त्यतिबेला एक डलर बराबर ३६ रुपैयाँ नेपाली हुने रहेछ । सरले साटेर उनको हातमा ४ हजार रुपैयाँ थमाइदिएको क्षण सम्झँदा उनी अहिले पनि खुसीले दङ्ग हुन्छन् । नेपाली १२० रुपैयाँमा बेच्ने सोचेको सामानबाट उनलाई ४ हजार रुपैयाँ मिलेको थियो ।

हो त्यही घटनाले आफूलाई भाङ्ग्रा र अल्लोको लुगाको व्यवसाय गर्न थप प्रेरित गरेको गणेश बताउँछन् । ‘त्यो रकम पाएपछि त मलाई कतिखेर घर गएर पढाई छोडेर यही व्यापार थालौँ जस्तो भइगयो नि’ २०४६ सालको यो प्रसंग आफ्नै उद्योग परिसरमा गणेशले मकालुखबरलाई सुनाए ।

त्यसपछि उनी बझाङ फर्किए । पढाई छोडेर भाङ्ग्रा र अल्लोको व्यापार गर्ने योजना परिवारलाई सुनाए । परिवारले पनि रोकटोक गरेन । गणेश भाङ्ग्राका १६ वटा कपडा बोकेर काठमाडौँ आए । उनी दिनहुँ एउटा कपडा बोकेर वसन्तपुर दरबार क्षेत्रमा जान थाले । त्यो सबै बेचिसक्दा उनलाई राम्रै आम्दानी भयो । उनी व्यापारमा पल्किए । भाङ्ग्रा र अल्लोको सामान गाउँबाट ल्याउँदै बेच्दै गर्न थाले । केही वर्ष गणेशले फाइबरको मार्केटिङको काम पनि गरे ।

यसको बजार राम्रो हुने बुझिसकेका गणेशले २०६२ सालमा ‘ फरेस्ट्री फाइबर’ नामको कपडा कारखाना खोले । तर कारखानामा उत्पादित कपडाले सोचेजस्तो बजार पाउन छोडेपछि गणेश निराश भए । कपडा नबिकेपछि उनले झोला बनाउन थाले । झोला पनि खास बिकेन । उनलाई यी झोला विदेश पठाउन पाए बिक्ने थियो कि भन्ने लाग्यो । तर विदेशी बजार खोज्ने कुनै माध्यम उनीसँग थिएन ।

त्यसपछि उनले काठमाडौँमा अङ्ग्रेजी सिक्ने ठाउँ खोज्न थाले । व्यापारबाट साँझ बिहानको गर्जो नै टार्न नसक्ने अवस्था सिर्जना भइसकेको थियो । अङ्ग्रेजी सिक्ने इन्स्टिच्युटमा ठाउँमा महिनाको ८ सय रुपैयाँ लाग्ने भनेपछि त्यो पनि उनको ‘गच्छे’ले भ्याएन ।

त्यसपछि उनले साथीकोबाट एउटा कम्प्युटर ल्याए । जहाँ उनले सन् २०१४ मा फेसबुक अकाउन्ट खोले । अङ्ग्रेजी सिक्दै उनी विदेशको बजार खोज्न थाले । त्यसपछि सन् २०१७ मा उनले आफ्नो कम्पनीको वेबसाइट बनाए । यो उनले उत्पादन गर्ने सामान विदेश निर्यात गर्नका लागि वरदान सरह भयो ।

अहिले उनको उद्योगले १ करोड ९० लाखमा भाङ्ग्रा र अल्लोको धागो उत्पादन गर्ने अत्याधुनिक मेसिन खरिद गरेको छ । यस मेसिनबाट धागो निकाल्दा कुनै रसायनको प्रयोग गर्नुनपर्ने उनी बताउँछन् । कोरोना महामारी अघिसम्म गणेशको उद्योगले वार्षिक २ करोड बराबरको हेम्प र अल्लोको सामान विदेश निर्यात गर्ने गरेको थियो । अहिले यो रकममा ४० प्रतिशतले कमी आएको छ । १ सय २० जनाभन्दा धेरै जनाले रोजगारी पाएका थिए । अहिले भने यो सङ्ख्या घटेको छ ।

जति पनि छ कच्चा पदार्थ
नेपालमा यस्तो लुगा बनाउने रेसाको कच्चा पदार्थ ४७ वटा जिल्लामा उत्पादन हुन्छ । १ लाख ८३ हजार हेक्टरमा लुगाको लागि रेसा बनाउने वनस्पति राम्रोसँग हुने जमिन रहेको उनी बताउँछन् । अहिले नेपालमा गाँजाको रेसाबाट कपडा बनाउने १ सय ९० वटा उद्योग चलिरहेको र तिनीहरूलाई कच्चा पदार्थ आफैँले उपलब्ध गराउने गरेको गणेशले बताए ।

नेपालमा १ सय ११ प्रकारका गाँजा पाइनेमा भाङ्ग्रा, भाङ्गो र बनाङ्गो गरी तीनवटा जातको गाँजाको रेसाबाट मात्र कपडा बनाउन सकिने गणेशले बताए । गणेश भन्छन् ‘यी तीनै जातका रेसा उत्पादनको उच्च सम्भावना भएको देश नै नेपाल हो । यहाँको उच्च पहाडी भेगको गाँजाको रेसाले मात्र कपडा बन्छ । तराई र गर्मी ठाउँको गाँजाको रेसाले बन्दैन । त्यसैले औद्योगिक क्रान्ति र लुगामा आत्मनिर्भर बन्न यी वनस्पतिको खेतीलाई कानूनी मान्यता दिनुपर्छ ।’

फाइबर कानुनी भएपनि बोट गैरकानूनी भएपछि व्यापार विस्तार गर्न समस्या भएको उनी बताउँछन् । यसरी हेम्प र अल्लोको बर्सेनि करिब ३ अर्ब बराबरको सामग्री विदेश निर्यात हुने र त्यसमध्ये ९३ करोड रुपैयाँ दुर दराजका किसानले पाउने भएकाले यसलाई अझै सहज र विस्तारित रूपमा लैजानुपर्ने माग गणेशको छ । आफ्नो उद्योगको उत्पादन ७० देशका मानिसले प्रयोग गर्ने गरेको उनको दाबी छ ।

तर गाँजा गैरकानूनी हुँदा आफ्नो उत्पादन पनि विदेशी उत्पादनको ‘लेवल’ लगाएर बेच्नुपर्ने बाध्यता रहेको गणेश बताउँछन् । गणेश व्यापारकै सिलसिलामा थाइलयाण्ड, हङकङ, इण्डिया, पाकिस्तान, भुटानलगायत देश घुमिसकेका छन् । नेपालको हेम्प भने सबैभन्दा धेरै निर्यात हुने देश पहिले जापान थियो तर अहिले त्यसलाई युरोप र अमेरिकाले उछिनेको गणेशले बताए । गणेश हेम्प एसोसिएसन अफ नेपालका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *