गोजीसँग हारेको रोजी
बलिउड कलाकार राजेश खन्ना एक लाख प्रतिस्पर्धीबाट छानिए । पाँच दशकअघि उनले बाँचेको त्यो युग देख्नेहरू अहिले मिथक मान्छन् । बलिउडका बादशाह सलमान खानका पिता सलिम खानलाई आफ्नो छोराको स्टारडमप्रति कतिको गर्व लाग्छ ? भनेर सोध्दा उनले भनेछन्- ‘छोड्दिनुस् म राजेश खन्नाको चकचकी देखेको मानिसका अगाडि सलमानले कमाएको ख्यातिका विषयमा कुनै टिप्पणी गर्न चाहन्न ।’ त्यसो भए राजेश खन्नाले कस्तो स्टारडम पाए ? केही उदाहरण यस्ता छन् ।
– त्यो समयमा भारतका सैलुनहरूमा ‘राजेश खन्ना कट’ कपाल प्रख्यात थियो । सामान्य कपाल काट्दा पचास पैसा तिर्नुपर्थ्यो भने खन्ना कटको रेट ३ रुपियाँ ५० पैसा थियो ।
– राजेश खन्नालाई ज्वरो आएको समाचार बाहिर आयो भने प्रशंसकहरू उनको फोटो हातमा लिएर पानी छम्कँदै पङ्खा हम्कन्थे ।
– उनी सुटिङमा जाँदा पार्किङमा राखिएको सेतो कार फर्कँदा पुरै रातो भएको हुन्थ्यो । राजेश खन्नाले पाउने माया त्यो भाग्यमानी कारले यसरी पाउँथ्यो कि ठिटीहरूले लगाएको लिपस्टिकको डामले गाडीको रङ्ग परिवर्तन हुन्थ्यो ।
– एकपटक उनलाई पायल्स भयो । उपचारपछि आरामका लागि रिपोर्टमा बसे । राजेश रिपोर्ट पुग्नुअघि नै बाँकी कोठाहरू पुरै बुक भइसकेका थिए । बुक गर्ने अरू कोही नभएर सिनेमाका निर्माता, निर्देशक थिए । जो स्क्रिप्ट र सम्झौता पत्र बोकेर चाकरीमा हाजिर थिए ।
– राजेश खन्नाको सिनेमा हेर्न फिल्म हल जानु र डेटिङमा जानु महिला दर्शकका लागि एउटै मनोभाव थियो । पुरुष प्रशंसकहरू, हिरोले कुटाई खाएको दृश्य आएमा हल नै तोडफोड गरेर चरम आशक्तिको परिचय दिन्थे ।
– समकालीन अभिनेत्रीहरूलाई राजेश खन्नासँग सिनेमा खेल्न पाउनु भनेको अनमोल उपहार हुन्थ्यो ।
अभिनेता र नेताको आयु उस्तै हो । युग बोकेका यी नायकले केही वर्षअघि गुमनाम मृत्यु अँगाले । जीवनको उत्तरार्द्धमा एक्लो जीवन बाँचे । पत्नी र प्रेमिका त जोडे तर धर्मपत्नी जुरेनन् । उनले बाँचेको जीवन फगत सिनेमाको कहानी बन्यो । त्यो स्टारडममा ग्रहण लाग्नुको मूल कारण थियो- खराब व्यक्तिको संगत । मान्छे शिखरमा पुगेपछि जोगिनुपर्ने खराब संगतबाट हो । जब मानिसको कुर्कुचोले जमिन बिर्सन्छ, त्यसपछि उसको ओरालो यात्रा कसैले रोक्न सक्दैन । कसैको अनुपस्थितिमा राम्रो प्रशंसा हुनु नै उसको जीवनको कमाइ हो । यहुदी भएको अभियोगमा जर्मनीबाट आइन्स्टाइन खेदिएपछि त्यहाँका विद्वानहरूले भनेका थिए- ‘जर्मनी आज युद्धमा हारेको छ ।’
नेता र अभिनेताको नियति उही हो । टाकुरामा उभिएर ठूलो हुने होइन । उसले प्रभाव कस्तो छोड्छ भन्ने विषय प्रधान हुन्छ । वर्तमान विश्व राजनीति लोकतन्त्रका नाममा निरंकुशताको महाअभियानमा अघि बढेको छ ।
नेता र अभिनेताको नियति उही हो । टाकुरामा उभिएर ठूलो हुने होइन । उसले प्रभाव कस्तो छोड्छ भन्ने विषय प्रधान हुन्छ । वर्तमान विश्व राजनीति लोकतन्त्रका नाममा निरंकुशताको महाअभियानमा अघि बढेको छ । देशभन्दा व्यक्तिको महत्त्वाकाङ्क्षा अग्रभागमा देखिएको छ । विश्वका सर्वशक्तिमान् देश अमेरिका, चीन, रुस, भारत, ब्राजिल मात्र हैन, नेपाल, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तानजस्ता साना मुलुक व्यक्तिको छायामा परेका छन् । डोनाल्ड ट्रम्प, सी जिनपिङ, भ्लाडिमिर पुटिन र नरेन्द्र मोदी मेनियाको ग्रहणले भविष्य कता लाने हो, ठेगान छैन । ‘म नै राज्य हुँ’ भन्ने लुइस सोर्हौंका अवतारहरू विश्व राजनीतिमा सलह बनेर उदाएका छन् । अहिले जस्तै विवेक कम, दम्भ बढीको आयतन बढ्दै गयो भने थुप्रै राजनीतिक नेताहरू अभिनेता राजेश खन्नाको गन्तव्यमा पुग्ने निश्चित छ । मूलधारका राजनीतिक पार्टीहरूको महाधिवेशन धमाधमसँग सम्पन्न भयो । विडम्बना प्रतिनिधिको रोजीभन्दा नेताको गोजी महाधिवेशनमा बिक्यो । विशुद्ध राजनीतिज्ञ नभएर नेताका हुक्के, ढोकेले पदको बाजी मारे ।
तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह र अमेरिकी पूर्व राष्ट्रपति सिनियर बुसबीच जापानको एउटा कार्यक्रममा भेट भयो । सिनियर बुसले सोधे- ‘अमेरिकी राष्ट्रपति जुनियर बुस तपाईँलाई कस्तो लाग्छ ?’ मनमोहनले छोटो मीठो जवाफ दिए- ‘ठिकै लाग्छन् ।’ बाउ बुसले थपे- ‘यदि उनीमा कुनै कमजोरी पाउनु भयो भने मैले दिएको संस्कार भनी नठान्नुहोला ।’ नेताको व्यवहार त्यो देशको भविष्य हो । हैन भने आफ्नै शक्तिशाली छोरासँग बाउ किन सशङ्कित हुनुपर्थ्यो र ?
अरू त अरू सार्कका निर्धन राष्ट्र नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान, मालदिभ्स र श्रीलङ्काको राजनीति सबै खालका निकृष्ट गतिविधिबाट निसृत देखिन्छन् । गुट, झूट, लुटको प्रभुत्व चिनीमा गुलियो टाँसिँदाझैँ अटल सत्य बनेका छन् । शास्त्र भन्छ- ‘क्रोधले बुद्धि, अहङ्कारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान, पापले मनुष्यता र अकर्मण्यताले भविष्य सिद्ध्याउँछ ।’ विश्वका सर्वशक्तिमान् देश मात्र नभई हाम्रै देशका मुखियाहरूको गतिविधि साँच्चै अशिष्ट, असभ्य लाग्छ ।
जुन शासकले विषपान गरी अमृत ओकल्छ, त्यही शासकले राज्यको सञ्चालन राम्ररी गर्न सक्छ । राजनीति गर्नेले निद्रामा पनि बिउँझनु पर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कलाई चैतन्य बनाउनु पर्छ । गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन र रहस्य लुकाउने क्षमता सुरक्षित राख्न आवश्यक छ ।
कोरोना त एउटा निहुँ मात्र हो, शासकहरूको हठ कोरोनाभन्दा डरलाग्दो हुन्छ । कम्बोडियामा चस्मा लगाएका मानिस बुद्धिजीवी हुन्छन् भनेर छानी छानी मान्छे मारिएको इतिहास छ । जातीय हेलाकै भरमा हिटलरले ६० लाख यहुदीलाई ग्यास चेम्बरमा हाले । ग्यालिलियो ग्यालीली पृथ्वी गोलो छ भनेर अडान नछोड्दा मारिनु पर्याे । अरू त अरू नेपालकै कृषि प्राविधिक कृष्णलाल अधिकारीले मकैमा लाग्ने ‘राता टाउके’ खुम्लेका विषयमा लेखेकै निहुँमा राणाको अविवेकी बन्दुकले मानव चोला गुमाउनुपर्याे । सत्ता र शक्तिको उन्माद विचित्रको हुन्छ । अँध्यारो रोपेर उज्यालो खोज्नु उनीहरूको दैनिकी हो । यही कारण पवित्र राजनीतिलाई अपराधको बर्को ओढाएर तातो तावामा उफारेर भुङ्ग्रोमा पार्ने खुरापाती खेल बनाइएको छ । सफल राजनीतिज्ञ कस्तो हुनुपर्छ ? नीति भन्छ- ‘राजरस महजस्तो गुलियो र स्वादिलो हुँदैन । जुन शासकले विषपान गरी अमृत ओकल्छ, त्यही शासकले राज्यको सञ्चालन राम्ररी गर्न सक्छ । राजनीति गर्नेले निद्रामा पनि बिउँझनु पर्छ । अस्वस्थ हुँदा पनि मस्तिष्कलाई चैतन्य बनाउनु पर्छ । गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन र रहस्य लुकाउने क्षमता सुरक्षित राख्न आवश्यक छ ।’
नेपालका नेता पुलपुलिएका बच्चाजस्तै हुन् । चुनौती उनीहरूको शब्दकोशमा छैन । किलोका किलो मालाको अभिनन्दन, चुनाव नामको एकदिने खान्तेपिन्ते फेस्टिबलबाट चुनिएका यिनीहरूका लागि राजनीति योग्यताविनाको अनन्त जागिरे बुटी हो । यही अयोग्यताको प्रदर्शनकै परिणाम देशको अवस्था धान कुट्ने मिलको फित्ताजस्तै सधैँ एकै ठाउँ घुमिरहेको छ ।
चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्- ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैनन् ।’