प्रभु बैंकको साधारण सभाद्वारा १२ प्रतिशत बोनस सेयर पारित
काठमाडौँ । प्रभु बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। विभिन्न निर्णयहरू पारित गर्दै उक्त साधारण सभा सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौँ बबरमहलस्थित बैंकको प्रमुख कार्यलयमा सभा आयोजना गरिएको थियो।
सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूची पारित गरेको छ। सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्ष २०७७/७८ को एकीकृत वित्तीय विवरण पारित गरेको छ।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोहि आर्थिक वर्षमा कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
बोनश शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुग्ने भएको छ।
त्यस्तै सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने, एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ती गर्ने र समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णयलाई पारित गरेको छ ।
देशका विभिन्न स्थानमा शाखा रहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयहरू सहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढि ग्राहकलाई सेवा पुर्याइरहेको छ।