राष्ट्रिय सभा चुनाव : प्रदेश १ मा राप्रपाले माग्यो एमालेसँग एक सिट

काठमाडौँ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा तीन सिटका लागि ८ जनाको उम्मेदवारी परेको छ । प्रदेश १ मा जीत्न सक्ने झिनो आशा एमालेलाई छ । तर, त्यसका लागि एमालेले राप्रपासँग गठबन्धन गर्नुपर्ने र सत्ता गठबन्धनका केही मतदातालाई प्रभावमा पार्नुपर्ने हुन्छ ।

प्रदेश १ मा पाँच दलीय गठबन्धन र एमालेको मतभार नजिक छ । यस कारण पनि राप्रपाको निर्णयले अर्थ राख्छ । यो प्रदेशमा जम्मा मतभार ९ हजार ३४८ छ । ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख रहेको यो प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनको ४ हजार ६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेसँग ४ हजार ५२४ मतभार छ ।

साथसाथै सत्ता गठबन्धनमा जोडिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग प्रदेशमा एक सांसद छन् । एक सांसदको ४८ मतभार हुन्छ । १२० मतभार रहेको राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ ।  एउटा सिट दिए बाँकी दुई सिटमा एमालेलाई सहयोग गर्ने राप्रपाको प्रस्ताव छ ।

राप्रपाका नेताहरूले एमालेसँग सहकार्यको विषयमा छलफल भइरहेको बताएका छन् । ‘एमालेसँगको सहकार्यको ढोका खुलै छ । हाम्रो एक जना उम्मेदवारलाई सहयोग गर्ने अवस्था रह्यो भने सहकार्य हुन सक्छ’ राप्रपाका एक नेताले भने ।

एमालेकै प्रदेश १ की सांसद आशारत्न जबेगुले पनि राप्रपासँगको सहकार्यका विषयमा छलफल भइरहेको बताइन् । राप्रपासँग सहकार्य भयो भने एमालेका जितका लागि धेरै मेहनत गर्न नपर्ने उनको भनाइ छ । ‘गठबन्धनले असर गरेकै छ । तथापि, राप्रपासँग सहकार्य भयो भने हाम्रै दुई चार जना साथीहरूले फटाइ गर्नुभएन भने हामी जित्छौँ नत्र हारिन्छ । यही बुझाई हाम्रो छ ।’

एमालेका सांसदहरु नैनकला ओझा, अगम बान्तवा र परशुराम मेघी गुरुङको चार वर्षे पदावधि सकिएपछि चुनाव हुन लागेको हो । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसकका गोपाल बस्नेतले खुल्लातर्फ, नेकपा (एकीकृत समाजवादी)का जयन्ती राईले महिलातर्फ र जनता समाजवादीका हेमराज राईले अपाङ्गता र अल्पसङ्ख्यकतर्फ उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेले खुलातर्फ गुरु बराल, महिलामा सुमित्रा भण्डारी र अपाङ्गता भएका वा अल्पसङ्ख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ । राप्रपाबाट अम्बरबहादुर बिष्टले खुलातर्फ र रन्जु प्याकुरेल महिलातर्फ उम्मेदवारी दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *