राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने
उम्मेदवारविरुद्ध आज उजुरी
काठमाडाैँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची-१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।
मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ । सवारी साधन घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ ।
यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी लिने भएको छ । उम्मेदवार बन्न अयोग्य रहने कुनै कारण भए जोसुकैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आज विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारमाथिको उजुरी र मनोनयनपत्र उपर भोलि र पर्सी जाँचबुझ गर्ने आयोगको कार्यतालिका छ । २३ गते दिउँसो ३ बजेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । पुस २४ गते उम्मेदवारलाई नाम फिर्ता गर्न समय दिएको आयोगले २५ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ ।
माघ १२ गते १९ पदका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा मंगलबार सातै प्रदेशमा गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।