ओलीलाई भेटेर के भने रामचन्द्रले ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । पौडेल ओली भेट्न बालकोट नै पुगेका हुन् ।

ओली–पौडेलबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । कुराकानीका क्रममा पौडेलले ओलीलाई संसद्को गतिरोध अन्य गर्न आह्वान गरेका थिए । सत्तारुढ दल नेपाली कांग्रेस नेता पौडेलले संसद्‌मा गतिरोध रहिरहँदा जनचासोका विषयहरूमा छलफल हुन नसकेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा ओलीले अदालत र संसद् मात्रै ‘प्याराजलाइज’ नभइ देश नै ‘डेडलक’ भएको प्रतिक्रिया दिएका थिए । उनले पेलेरै अगि बढ्ने नीति लिएका सभामुखका कारण संसद्‌काे गतिराेध रहिरहेकाे बताएका थिए । ओलीले सभामुखले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । यसपछि नेता पौडेलले यी यावत् परिस्थितिहरूले संविधानमाथि आक्रमण भइरहेको र त्यसलाई बचाउने जिम्मेवारी ठूला दलहरू र शीर्ष नेताहरूकाे हुनुपर्ने बताएका थिए । अन्त्यमा ओलीले भने, ‘रामचन्द्रजीको सुझावलाई सकारात्मक रूपमा लिएको छु ।’

नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार दुई नेताबीच सौहर्दपूर्ण वातावरणमा बातचीत भएको थियो । त्यसक्रममा पौडेलले ओलीलाई दोस्रो कार्यकालको लागि अध्यक्ष बनेकोमा बधाईसमेत दिएका थिए । एमसीसीलगायतका विषयमा भने कुराकानी नभएकाे नेम्वाङ्गले बताए ।

एमालेले लामो समययता संसद् अवरुद्ध गर्दै आएको छ । खासगरी माधवकुमार नेपालसहितका १४ जना आफ्ना सांसद्हरूलाई गरिएकाे कारबाही सभामुख अग्निप्रसाद सापकाेटाबाट सदर नभएकाे भन्दै सभामुखले नै राजीनामा दिनुपर्ने कि कारबाहीको सूचना टाँस गर्नुपर्ने माग एमालेले गर्दै आएको छ ।

साउन २३ गतेबाट एमालेले शुरू गरेको यो शृङ्खला एमालेले अझैसम्म जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *