सरकारको गति बढाउन देउवाका ९ निर्देशन !
काठमाडौँ । बिहीबार (आज) सिंहदरबारस्थित प्रधान मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिवहरूसँग प्रधान मन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन् । छलफलका क्रममा प्रधान मन्त्री देउवाले सरकारको गति कसरी बढाउन सकिन्छ भनेर सचिवहरूसँग सोधेको थिए ।
सचिवहरूले आ-आफ्ना भनाइ र विचार राखिसकेपछि देउवाले बुँदागत रूपमा ‘सरकारको गति यसरी बढाउन सकिन्छ’ निर्देशन दिएका थिए । सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनबारे सबै मन्त्री, सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरूलाई प्रधान मन्त्री देउवाले निर्देशन दिएका हुन् ।
प्रधान मन्त्री देउवाले देशमा लगानी आवश्यक रहेकाे र त्यसका लागि सम्बन्धित व्यक्तिहरू जुट्नुपर्नेदेखि कर्मचारीको क्षमता वृद्धि गर्नुपर्नेसम्मका निर्देशन दिएका छन् ।
यस्ता प्रधान मन्त्रीका ९ निर्देशन:—
१.जलविद्युत, पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।
२. अत्यावश्यक सेवाहरू जनताको घर दैलोमा पुर्याउने सरकारको दायित्व भएकाले त्यहीअनुसार काम गर्नुपर्छ ।
३. विकास निर्माणका परियोजनाहरूकाे गति बढाउन आवश्यक झन्झट हटाउने र कानूनी समस्या भए त्यसमा पनि सुधार गर्नुपर्छ ।
४. कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रबन्ध प्रभावकारी रूपमा अघि बढाउनुपर्छ ।
५. कर्मचारीको क्षमता वृद्धि गरेर विकास आयोजना कार्यान्वयन पक्षलाई चुस्त बनाउनुपर्छ ।
६. राष्ट्रिय गौरवका आयोजनाको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्नेगरी अनुगमन र मूल्याङ्कन संयन्त्र बनाउनुपर्छ ।
७. सम्भावित लगानीका क्षेत्रहरू पहिचान गरी निर्यातलाई बढाउनेगरी परियोजनाहरु अघि बढाउनुपर्छ ।
८. स्वदेशी र विदेशी लगानीकर्ताहरूलाई लगानीमा प्राेत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि बढाउनुपर्छ ।
९. जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरूलाई चुस्त र दुरुस्त बनाउनुपर्छ ।