सोताङमा माओवादी शुद्धीकरण अभियान सञ्चालन, पार्टी प्रवेश तीव्र
सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोताङ गाउँ समिति, सोलुखुम्बुले पार्टी शुद्धीकरण तथा सुदृढिकरणको कार्यलाई तीव्र पारेको छ । माओवादी सोताङ, पार्टी शुद्धीकरणको अभियान लिएर सोताङ गाउँपालिकाको वडा–वडासम्म पुगिरहेको छ ।
‘जसको नीति, उसको नेतृत्व’ भन्ने मूल नारासहित सञ्चालित पार्टी सुद्धीकरण तथा सुदृढिकरणको नेतृत्व कमिटी अध्यक्ष गोविन्द नाछिरिङले गरिरहेका छन् । पार्टीलाई थप सुदृढ र नीतिसम्मत चलाउनका लागि शुद्धीकरण तथा सुदृढिकरण अभियान चलाइएको अध्यक्ष नाछिरिङ बताउँछन् ।
अभियानमार्फत माओवादीसँग जोडिने नेताहरूको संख्या बढिरहेकाे अध्यक्ष नाछिरिङ बताउँछन् । ‘अन्य पार्टी त्यागेर माओवादीमा प्रवेश गर्नेहरूको संख्या पनि ठूलो छ,’ अध्यक्ष नाछिरिङले भने, ‘यो भनेको हाम्रो पार्टी सुदृढ हुँदैछ भन्ने कुराको प्रमाण हो ।’
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपादेखि नेकपा (एमाले) सम्मका दल त्यागेर माओवादीमा प्रवेश गर्नेहरूको संख्या बढिरहेको छ । विप्लवका पूर्वजिल्ला कमिटी सदस्य चन्द्रनाछिरिङ राई माओवादीमा प्रवेश गरेका छन् । वडा नं. २ का कांग्रेस नेता धनप्रसाद राईले पनि पार्टी त्यागेर माओवादीमा प्रवेशन गरेका छन् ।
यसैगरी कांग्रेस सोताङ गाउँ कमिटी सदस्य एवम् क्षेत्रीय प्रतिनिधि ङिमठिले शेर्पा, तरुण दल वडा सचिव डेन्डी शेर्पालगायतका नेताहरूले पनि माओवादीमा प्रवेश गरेका छन् । एमाले पार्टी त्यागेर कुमार श्रेष्ठलगायतका नेताहरूले पनि माओवादीमा प्रवेश गरेका छन् । उनीहरूसँगै सयौंको संख्याका नेता/कार्यकर्ताहरूले पनि आफ्नाे दल छाडेर माओवादीमा प्रवेश गरेका छन् ।
प्रवेशी नेता/कार्यकर्ताहरूको संख्या अझै बढ्ने अध्यक्ष नाछिरिङले बताएका छन् ।