ओलीलाई भेट्दै प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् । संसद्को गतिरोध अन्त्यका लागि पहलस्वरूप प्रधान मन्त्री देउवा बालकोट जाने भएका हुन् ।

सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलकीअनुसार संसदीय समस्यालाई समाधानको एजेन्डा लिएर प्रधान मन्त्री देउवा ओलीनिवास बालकोट जान लागेका हुन् ।

पौडेलकीअनुसार दलहरूको आग्रहमा प्रधान मन्त्री देउवा ओलीलाई भेट्न राजी भएका हुन् । ‘संसद्‌मा लामो समययता गतिरोध छ । त्यसलाई हटाउन पहलसहित प्रधान मन्त्रीले एमाले अध्यक्ष ओलीसँग छलफल गर्न तयार हुनुभएको छ,’ पौडेलले भनिन्, ‘उहाँ चाँडै जानुहुन्छ ।’

यसअघि प्रधान मन्त्री देउवालाई सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलसहितका नेताहरूले ओलीलाई भेट्न आग्रह गरेका थिए । यसपछि देउवा बालकोट जान राजी भएका हुन् ।

एमालेले साउन २३ यता बसेको सबै संसद् बैठकहरू अवरोध गर्दै आएको छ । खासगरी साउन १४ गते आफ्नो दलले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाही सदर नभएको भन्दै एमाले सांसदहरूले संसद‌मा नाराबाजी गर्दै आएका छन् ।

एमाले सांसदहरूले विकल्पमा सभामुखले कारबाहीको सूचना टाँस गर्नुपर्ने वा आफैँले राजीनामा दिनुपर्ने बताउँदै आएको छ । यसपछि सत्तारुढ गठबन्धनले यसको समाधान खोजेको हो । यसकै प्रयासस्वरूप प्रधान मन्त्री देउवा ओलीलाई भेट्न जाने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *