प्रधान मन्त्री देउवाको भारत भ्रमण रोकियो
काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाको २५ पुस आइतबारबाट हुने भनिएको भारत भ्रमण रोकिएकाे छ । भारतको गुजरात सरकारले राज्यमा कोभिड-१९ को सङ्क्रमण दर बढेको कारण भाइब्रेन्ट गुजरात लगानीकर्ता सम्मेलन स्थगित गरेको घोषणा गरेसँगै प्रधान मन्त्रीको भ्रमण राेकिएकाे हो ।
उनी भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको गृह प्रदेशमा हुने १०औँ भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो । आइतबारदेखि प्रधान मन्त्री देउवाले भारत भ्रमण गर्ने विषयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । सो भ्रमण दलमा २५ सदस्यीय टोली रहने उल्लेख भएको थियो ।
परराष्ट्र मन्त्रालयले बिहीबार कोभिड-१९ को सङ्क्रमणका कारण जोखिम भएको भन्दै भ्रमण राेकिएको बताएको छ । पछिल्लो पटक प्रधान मन्त्री नियुक्त भएपछि उनको यो पहिलो भारत भ्रमण हुन लागेको थियो ।
भारतीय प्रधान मन्त्री मोदीको गृह प्रदेशमा १० जनवरीबाट हुने १०औँ भाइब्रेन्ट गुजरात सम्मेलनमा सहभागी हुन प्रधान मन्त्री गुजरात जाने तय भएको थियो । भ्रमणको दौरानमा प्रधान मन्त्री देउवाले भारतीय प्रधान मन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम थियो ।