आफ्नोपन हराउनु अर्थात् बाटो बिराउनु
सुर्खेत । जिन्दगीको पहिलो सर्त हो बाँच्नु । बाँच्नकै लागि गर्नुपर्ने अनेक कर्म छन् । संघर्ष, परिश्रम मेहनत, आर्जन, जीविकोपार्जन जिन्दगीसँगै जोडिएर आउने कुराहरू हुन् ।
सुर्खेतको वीरेन्द्रनगर-५ चिसापानीका कृष्ण गन्धर्व र वीरेन्द्रनगर-३ तातापानीका गोरे गन्धर्वको जिन्दगीलाई हेर्दा एकातिर बाँच्ने संघर्ष र अर्कातिर आफ्नो पहिचान र संस्कृतिको जगेर्नालाई देख्न सकिन्छ । कृष्ण ६६ वर्षका भए । उनी सारंगी रेट्न थालेकै ६ दशक हुन लाग्यो । घरमै रेट्न थालेको सारंगी उनका लागि जीविकोपार्जन र लालनपालनको साधन एकातिर र पुर्खादेखिको परिचयको जगेर्ना गर्ने साधन बनेको छ ।
आजभोलि पहिलेजस्तो टाढा-टाढा जान सक्दैनन् उनी । त्यही भएर वीरेन्द्रनगर बजारका विभिन्न ठाउँमा सारंगी रेट्दै गीत गाउँदै गरेका भेटिन्छन् । ‘मेरो धेरै समय यही सारंगी बजाएरै बित्ने गरेको छ,’ उनले भने, ‘बुढो भएपछि अरू काम गर्न सकिँदैन आफूसँग भएको यही एउटा सिप हो । यसकै भरमा गुजारा चलाउँदै आएको छु ।’
२०५६ सालमा दाङबाट बसाई सराई गरेर सुर्खेत आएका कृष्णका तीन छोरा र तीन छोरी छन् । तर छोराछोरी बिहे भएपछि फरक-फरक ठाउँमा छुट्टिएर बसेका छन् । जुनी जुनी नछुट्टिने कसम खाएर बिहे गरेकी श्रीमतीले उनलाई छोडेर गएको २२ वर्ष भयो । छोराछोरी छुट्टिएपछि उनी एक्लै भएका छन् । त्यही भावनालाई गीतमा बुनेका छन् कृष्णले । झण्डै २२ वर्ष पहिला श्रीमती बित्दाको पीडा उनी सारंगीको भावुक धुनमार्फत अरूसमक्ष पोख्छन् र केही भएपनि मन हलुको भएको महसुस गर्छन् ।
पुस्तौँदेखिको साइनो रहेको सारंगीले अहिले पनि उनको जीविकोपार्जन र परिचय धानेको छ । तर पछिल्लो समयमा सारंगी एक्लिएको महसुस उनले गरेका छन् । युवा पुस्ताले सांरगीबाट धुन निकाल्ने सिपबाट विमुख हुन थालेसँगै सारंगी लोप हुने अवस्थामा पुगेको उनको अनुभव छ । ‘मैले बच्चादेखि नै यही सारंगी बजाउँदै आएको छु,’ उनले भने, ‘तर अहिलेका तन्नेरीको ध्यान अचेल सारंगीमा छैन । मोबाइल फोनका कारण उनीहरूले यसमा ध्यान नै दिँदैनन् ।’
२०१२ सालमा जन्मिएका कृष्णले राजपरिवारको स्वागतमा थुप्रै पटक सांस्कृतिक कार्यक्रममा सहभागी भएको सुनाए । तत्कालीन राजा महेन्द्र, वीरेन्द्रलगायत दाङ आउँदा थुप्रै सांस्कृतिक कार्यक्रममा सहभागी भएको उनको स्मरणमा अझै पनि ताजै छ । ‘राजपरिवारबाट पुरस्कार समेत पाएको छु । सुर्खेतमा पनि राजा वीरेन्द्र आउँदा सांस्कृतिक कार्यक्रमको लागि हामी गएका थियौँ । पहिला त यस्ता थुप्रै कार्यक्रम हुन्थे बोलाउँथे तर अहिले त त्यस्तो छैन’ कृष्णले भने ।
राजपरिवारलाई मात्र होइन गाउँमा जिम्दार, ठेकेदार, मुखिया तथा अन्य विशिष्ट व्यक्तिहरूलाई सारंगीको धुन र गीत सुनाएर मनोरञ्जन दिलाएको उनी बताउँछन् । भन्छन्- ‘अहिले बुढा भइयो आफूले चाहेको सबै गर्न सकिँदैन जमना पनि फेरियो अब पुराना कुराहरू बिस्तारै हराउँदैछन् । सारंगी बजाउँदा पनि कसैले सुन्दैन । यसको संरक्षणमा कसैले पनि चासो दिएको जस्तो लाग्दैन छैन । यस्तो देख्दा दुःख लाग्छ ।’
कृष्ण जस्तै भोको पेट भर्न र संस्कृति बचाउन हिँडेका अर्का पात्र हुन् वीरेन्द्रनगर-३ तातापानीका गोरे गन्धर्व । उनी दिनहुँ जसो वीरेन्द्रनगरका विभिन्न स्थानमा गीत गाउँछन् । हालैको एक दिन वीरेन्द्रनगर-७ मा उनी भेटिए । काँधमा सेतो बोरामा गाउँबाट गीत गाएर उठेको दाल, चामल र तरकारी बोकेर घरतर्फ फर्किँदै थिए उनी ।
७२ वर्षीय गोरेले १३ वर्षको हुँदादेखि सारङ्गी रेट्दै आफ्नै लयमा दुख सुखका गीत सुनाउन थालेका हुन् । उनले पोख्ने वेदनाका भाका सुन्नेले गहभरि आँसु झार्ने गरेका कयौँ अनुभव संगालेका छन् । ७२ वर्षको हुँदा पनि घरघरमा पुगेर सारंगी रेट्ने र गीत गाउने गर्दै आएका छन् । ‘७ पुस्तादेखि जग्गाजमिन, लालपुर्जा केही पनि छैन । सम्पत्तिको नाउँमा यही एउटा सारंगी हो । १३ वर्षको हुँदादेखि यही सारंगी रेट्दै परिवारको गुजारा चलाउँदै आएको छु’, उनले भने ।
गोरेका श्रीमती, ३ छोरी र २ छोरा छन् । एउटी छोरीबाहेक सबैको बिहे भइसक्यो । सारंगीबाहेक गोरेको आम्दानीको श्रोत भनेको सरकारले दिने सामाजिक सुरक्षा भत्ता हो । तीन जनाको परिवारलाई सामाजिक सुरक्षा भत्ताले मात्र पुग्दैन । त्यही भएर पनि उनलाई आफ्नो पुस्तैनी साथी सारंगी लिएर घरघर पुग्नुको विकल्प छैन ।
यस्तै पछिल्लो समय सारङ्गीको धुन समाजले भुल्दै गएको र युवा पुस्तामा सारङ्गीको माया कम हुँदै गएकोमा दुवै गन्धर्व चिन्तित छन् । कुनै समय समाजमा दुःख पीडाका कथा, परदेशीका पिडा, माया प्रीतिका कुरा गाउँदै सुनाउँदै हिँडेको उनीहरू बताउँछन् । गन्धर्वहरूले पुस्तौँदेखि पहिला पहिला गाउँघरमा पुगेर नै देश विदेशका घटनालाई, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनिसरा, मल्लार, कर्खा, असारेलगायत भाकामा सुनाउँदै हिँड्ने गरेको इतिहास आफ्नै आँखा अगाडी नै बिरानो बन्दै गएकोमा उनीहरू दुवै दुःखी थिए । आफ्नोपन हराउनु र बाटो बिराउनु नहुने उनीहरूको सुझाव छ ।