कोरोना नियन्त्रणमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको सङ्क्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई सङ्क्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
छलफलमा प्रधानमन्त्री देउवाले सङ्क्रमणदर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्त दुरुस्त बनाउन पनि निर्देशन दिए । स्वास्थ्य मन्त्री विरोध खतिवडाका अनुसार कोभिडविरुद्धको खोप लगाउने कामलाई थप तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए ।
नागरिकको जीवन रक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो ।
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए ।
आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकै दिन ९६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।