के स्मार्ट लकडाउनको तयारी भएको हो ?

काठमाडौँ । मुलुकमा कोभिड-१९ सङ्क्रमण ह्वात्तै बढेपछि सरकारले स्मार्ट लकडाउनको तयारी अघि बढाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सो विषयमा छलफल भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाकाअनुसार बैठकमा ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा छलफल गरिएको स्वास्थ्यमन्त्री खतिवडाले बताए ।

मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरूलाई कसरी अझ चुस्त दुरुस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरूको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका बिरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुस्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो ।’

कोरोना नियन्त्रणमा कुनै कसर बाँकी नराख्न प्रधान मन्त्रीको निर्देशन
प्रधान मन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । देउवाले सीसीएमसीसीको बैठकमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

उनले यसको सङ्क्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्त दुरुस्त बनाउन र सङ्क्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराए । । सङ्क्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधान मन्त्रीबाट निर्देशन भएको मन्त्री खतिवडाले जानकारी दिए ।

बैठकमा प्रधान मन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थमन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री नारायण खड्का, मुख्यसचिव, प्रधानसेनापतिलगायत सीसीएमसीका अधिकारीहरू सहभागी थिए ।

के हो स्मार्ट लकडाउन ?
स्मार्ट शब्द पछिल्लो समय सूचना-प्रविधिसँग जोडिएका कुराहरुमा प्रयोग गर्ने गरिन्छ । जस्तै, स्मार्ट कार्ड, स्मार्ट राहदानी, स्मार्ट लाइसेन्स, स्मार्ट शौचालय आदि । तर, सूचना-प्रविधिभन्दा पनि जनजीवनसँग जोडिएको लकडाउन कसरी स्मार्ट हुन्छ त ?

स्वास्थ्यमन्त्री खतिवडा स्वास्थ्यको मापदण्डलाई कडाइका साथ लागु गरेर आर्थिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने योजनालाई स्मार्ट लकडाउनरुपमा अर्थ्याउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *