दशकपछि ब्युँतँदै गुरुकुल

काठमाडौँ । नेपाली रङ्गमञ्चको मुख्य थलोमध्ये एक गुरुकुल नाटकघर ब्युँतिने भएको छ । बन्द भएको एक दशकपछि गुरुकुल पुनः खुल्ने भएको हो । सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा, कमलमणि नेपालजस्ता धेरै कलाकार जन्माउने आरोहण गुरुकुल नाटकघर रङ्गकर्मी सुनिल पोखरेलले विस. २०५९ मा स्थापना गरेका थिए । व्यवस्थापकीय कारणले यो नाटक घर बन्द भएको थियो ।

काठमाडौँ महानगरपालिकाले थापागाउँस्थित ‘कुञ्ज थिएटर’को भाडा एक वर्षका लागि तिरिदिने भएपछि त्यही ठाउँमा पुनः ३० पुसदेखि गुरुकुल खुल्न लागेको हो । जहाँ नाटक ‘डल्स हाउस’ अर्थात् ‘पुतलीको घर’ मञ्चन गरिनेछ ।

गुरुकुल स्थापनाका बखत केशव स्थापितको नेतृत्वमा रहेको काठमाडौँ महानगरपालिकाले सहयोग गरेका थियो । जतिबेला पनि नाटकघरको एक वर्षभन्दा बढीको भाडा महानगरले तिरिदिएको थियो । ब्युँतन लागेको गुरुकुललाई समेत काठमाडौँ महानगरपालिकाले कुञ्जलाई तिर्नुपर्ने एक वर्षको भाडा तिरिदिएको छ ।

राम्रोसँग चलिरहेकै बेला गुरुकुल नाटकघर अचानक बन्द भयो । बन्द हुने कारण सुनिल आफू स्वयम्लाई मान्छन् । ‘मैले व्यवस्थापकीय जिम्मा लिन नहुने थियो । र, यही मेरो व्यवस्थापनको ज्ञानको अभावमा गुरुकुल बन्द भएको थियो‘ । ‘कलाकार लहड सनकमा चल्छ, व्यवस्थापन लहड सनकमा चल्दैन रहेछ । खै के भयो त्यो बेला बन्द गरियो । अब भने म व्यवस्थापनको कुनै पनि काम हेर्नेवाला छैन । निर्देशन र कलाकारितामा मात्रै ध्यान दिनेछु’ उनी भन्छन् ।गुरुकुल सञ्चालनका लागि सरकारको असहयोग पनि एक कारण रहेको आरोप लाग्ने गरेको छ । यसबारे सुनिल अलि भिन्नै तर्क गर्छन् । भन्छन्, ‘ गुरुकुल सरकारले गरेर सुरु गरेको होइन । हामीले सुरु गरेको हो । र हामीले नै चलाउन नसकेर बन्द गरेका हौँ ।’ अचानक बन्द हुँदा दर्शक र विद्यार्थीलाई पनि ठुलो चोट पुगेको थियो । उनकाअनुसार सञ्चालकलाई पनि त्यति नै गाह्रो भएको थियो जति दर्शकलाई भएको थियो । अझ सुनिललाई त यसले धेरै नै मानसिक तनाव पनि दियो । ‘डिप्रेसनमै जाने अवस्थासम्म आयो’ सुनिल सम्झन्छन् ।

सिक्ने त गल्ती गरेरै रहेछ । त्यो गल्ती सिकाइ भयो उनलाई । अचानक गुरुकुल बन्द गर्नुपर्दा चर्को मानसिक तनावमा परेका सुनिललाई डिप्रेसनबाट बाहिर आउन किताबले मदत गर्‍यो । उ बेला जीवन सकिएछ भनेर सोच्नु मूर्खता भएको उनी अहिले सोच्छन् । ‘गुरुकुल थियो र बन्द भयो । बन्द नै भयो त के भयो ? बन्द भयो र त सात आठ वटा अरू नाटक घर खुले भन्ने लाग्छ उनलाई ।

‘कहीँ न कतै त राम्रो भयो नि । एउटा मान्छे महत्त्वपूर्ण हुँदैन । काम महत्त्वपूर्ण हुन्छ । सुनिल पोखरेलले काम गर्न बन्द गर्‍यो त के भयो अर्को आउँछ नि ।’ उनी अहिले धेरै चिन्तित हुँदैनन् । उनी आफ्नो समय कम भएकोले काममा फर्किएको बताउँछन् । अब धेरै भए दुई दशकको सक्रिय जीवन रहेको सोचेका उनले बाँकी समय काममा बिताउने निर्णय गरेका छन् ।

अहिले उनको उद्देश्य नै नाटकको मर्यादा र संस्कार केन्द्रित रहेर काम गर्नेछ । सुनिल देशको लागि या नाटकमा केही होला भनेर आफूले काम नगरेको बरु आफूले फगत आफूलाई मन परेको काम गरेको बताउँछन् । अब पनि मन कै काम गर्न वा भनौँ आफ्नै मन खुशी बनाउन भनेर सुनिल गुरुकुल ब्युँताएको उनी बताउँछन् ।

‘यो ठुलो ब्रह्माण्डमा हामी समुन्द्रको एक सानो थोपा हौ त्यो थोपा नभएर पनि केही फरक पर्दैन, भएर पनि केही फरक पर्दैन । तर समुद्र बन्छ, त्यही थोपा थोपाबाट’ भन्ने पत्रकार किशोर नेपालको भनाइले आफूलाई डिप्रेसनबाट बाहिर आउन सहयोग गरेको सुनिल बताउँछन् । ‘सफलता र असफलता जीवनका पाटा हुन् यसमा आतिनु र मातिनु दुवै बेकार छ । सुनिलको जीवनमा एउटा वेग आउन जरुरी थियो र यो सब भयो ।’ उनको बुझाइ परिपक्व र यथार्थपरक सुनिन्छ ।

सामाजिक सञ्जाल र सम्पर्कका अन्य माध्यमबाट समेत टाढिएर उनी दुई वर्षभन्दा बढी घरभित्रै बसे । फेरि एक दिन लाग्यो अब पनि यसरी हुँदैन । उनले ‘डिस्कभर योरसेल्फ’मार्फत रंगकर्ममा होमिन चाहने विद्यार्थीलाई पढाउन थाले । १३ वटा ब्याचका विद्यार्थीलाई पढाइसकेपछि उनी अब गुरुकुल पुनः सुचारु गर्ने लगभग अन्तिम चरणमा पुगेका छन् ।

गुरुकुल ब्युँताउनेसँगै सुनिलको अर्को सपना नाट्य कलेज खोल्ने छ । एकदेखि दुई वर्षभित्र स्नातक तहसम्म पढाइ हुने नाट्य कलेज सञ्चालनको तयारीमा छ सुनिल नेतृत्वको टिम । अहिले पाठ्यक्रम बनाउने काम चलिरहेकोमा यो कलेज छिट्टै नै सुरु गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *