कांग्रेसको आगामी बाटो
नेपाली कांग्रेसको चौधौँ महाधिवेशन समापन भएको एक महिना हुन लागेको छ । नयाँ नेतृत्व चयन गरेर समापन भएको यो महाधिवेशन आफैँमा एक अवसर र चुनौतीको रूपमा देखा परेको छ । निकट भविष्यमा हुन गइरहेका तीन तहका निर्वाचन र त्योभन्दा अगाडि आसन्न राष्ट्रिय सभाका खाली स्थानको लागि हुन गइरहेको निर्वाचन हुँदैछ । चौधौँ महाधिवेशन पश्चात् कांग्रेस स्पष्ट भएको छ । कांग्रेसमा अब कुनै गुट रहेन । कांग्रेसभित्र दुईवटा वैचारिक समूह स्थापित भएका छन् । सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधित्व गरेको यथास्थितिवादी बिचार समूह र सभापतिको निर्वाचनमा पराजित शेखर कोइरालाले नेतृत्व गरेको परिवर्तनकारी तथा युवा जागृत बिचार समूह । पार्टी महाधिवेशन पश्चात् नेपाली कांग्रेसमा शेखर कोइराला समूहका अत्यधिक मत प्राप्त गरेका युवा गगन थापाको महामन्त्रीमा विजय हुनु र प्रकाशमान सिंहको जस्केलामा मात्रै टेकेर उभिएका विश्वप्रकाश शर्माको विजयले नेपाली कांग्रेसलाई परिवर्तनकारी तथा युवा जागृत बिचार समूहको नैतिक विजयको रूपमा हेर्न सकिन्छ । जितपश्चात् गगन र विश्वप्रकाशले युवा परिवर्तनकारी बिचारलाई कति बहसमा लैजान सक्छन् त्यो कुराले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्छ भने शेखरले आफूलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरामासमेत नेपाली कांग्रेसको भोलि निर्भर रहन्छ ।
सभापतिले प्राप्त गरेको हाराहारी ६० प्रतिशत र शेखरले प्राप्त गरेको ४० प्रतिशत मत नेपाली कांग्रेसको वास्तविक संरचना हो चौधौँ महाधिवेशनले निर्धारण गरेको । नेपाली कांग्रेसमा रूपान्तरण चाहने, नेपाली कांग्रेसलाई दुवो झैँ मौलाइरहोस् भनेर चिताउने, नेपाली कांग्रेस हरेक झुपडीको आशाको केन्द्र बनिरहोस् भनेर चाहने सबै नेपाली कांग्रेसका क्रियाशील सदस्यदेखि महाधिवेशन प्रतिनिधिसम्मले यो यथार्थलाई मस्तिष्कमा राखेर आगामी यात्रा तय गरेको खण्डमा नेपाली कांग्रेसमा परिवर्तनकारी शक्ति रक्तबीज भएर विकसित हुन्छ । नेपाली कांग्रेस त्यस्तो परिवर्तनकारी शक्ति बनोस् जसले अशिक्षालाई शिक्षामा, अन्धकारलाई उज्यालोमा, निराशालाई आशामा, दरिद्रतालाई सम्पन्नतामा, अविकासलाई विकासमा, अज्ञानलाई चेतनाले भरिपूर्ण ज्ञानमा रूपान्तरण गर्न सकोस्; नेपाली कांग्रेस हरेक पूजाको अभिन्न बस्तु पवित्र दुवो झैँ सदा मौलाइरहोस् र हरेक झुपडीमा शिक्षा, स्वास्थ्य, रोजगार, अवसर, न्याय, समृद्धि, हाँसो र खुसीको बाहक बनोस् भनेर चाहने हो भने नेपाली कांग्रेसको सत्ता पक्षले प्रतिपक्षको भूमिकामा रहेको परिवर्तनकारी बिचार समूहलाई विश्वासमा लिनु जरुरी छ । नत्र नेपाली कांग्रेसमा यथास्थितिवाद र परिवर्तनकारी सोच र समूहको बिचको संघर्ष द्वापरयुगको यदुबंशीको नाश भएझैँ नेपाली कांग्रेसको विनाशको कारण बन्नेछ ।
कांग्रेसमा अब कुनै गुट रहेन । कांग्रेसभित्र दुईवटा वैचारिक समूह स्थापित भएका छन् । सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधित्व गरेको यथास्थितिवादी बिचार समूह र सभापतिको निर्वाचनमा पराजित शेखर कोइरालाले नेतृत्व गरेको परिवर्तनकारी तथा युवा जागृत बिचार समूह ।
तत्काल विकसित परिस्थितिले राम्रो नतिजाले सजिने भविष्य देखाउँदैन । कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने हो भने बिचार समूहलाई तेजोवध गरेर सम्भव हुँदैन । देशले परिवर्तन खोजेको छ, देशवासीले परिवर्तन खोजेका छन्, मतदाताले परिवर्तन खोजेका छन् तर नेपाली कांग्रेसले परिवर्तनकारी बिचारलाई आफैँ भित्र त स्वागत गरेको छैन देशमा के परिवर्तन ल्याउँछ भन्ने सन्देश आम जनमानसमा जानेछ जुन आगामी तिनै तहको निर्वाचनका लागि प्रत्युत्पादक देखिन्छ । कांग्रेस जनजनको आशाको दियो हो, निस्पट्ट अन्धकारमा जुनकिरी हो, हरेक सुदामाको जीवन बदल्ने र हरेक द्रौपदीको चीरहरण रोक्ने कृष्ण हो, थिचोमिचो र अन्यायमा परेकाको लागि न्यायकी देवी हो, विचारविहीनहरूको लागि बिचार पुञ्ज हो तर के चौधौँ महाधिवेशन पश्चातको कांग्रेसले यी सबै भूमिका निर्वाह गर्न सक्छ । यो प्रश्नको जबाफ कांग्रेसले बोलेर होइन आफ्ना क्रियाकलापहरूबाट दिन सक्नुपर्छ ।
मुलुक चुनौतीहरूबाट घेरिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी, विपन्नता, अविकास, अन्यौलताले मुलुकलाई गाँजेको छ । नागरिकमा निराशा फैलिएको छ । उनीहरूलाई सपना देखाएर झुक्क्याउन र राज्यशक्ति कब्जा गर्न अनेक स्वार्थी समूहहरू लागिपरेका छन् । यस्तो परिस्थितिमा आम जनमानसमा सकारात्मक परिवर्तनको आशा जगाएर आगामी निर्वाचनको समयमा सही निर्णय गर्ने हौसला आम मतदाताहरूमा जगाउनु आजको नेपाली कांग्रेसको मुख्य अभिभारा हो । वैचारिक रूपमा विभक्त कांग्रेसले यो अभिभारा पुरा गर्न कदापि सक्दैन । चौधौँ महाधिवेशनमा आएको नतिजाले परिवर्तनकारी विचारधारालाई नेपाली कांग्रेसले संस्थागत गरोस् भन्ने सन्देश दिएको छ । परिवर्तनकारी बिचार निस्तेज हुँदै गएको कारण कांग्रेसले हिजो व्यवस्था परिवर्तन गरेतापनि अवस्था परिवर्तन गर्न सकेन । इतिहासले देखाएको छ जब शारीरिक शक्तिको प्रतिस्पर्धा हुन्छ शक्तिशालीले जित्छन् । जब जब बिचारको शक्तिसँग सैन्य, राजकीय वा अन्य कुनै शक्तिको प्रतिस्पर्धा हुन्छ तब तत्कालको लागि त सैन्य वा राजकीय शक्तिले जित्ला, तर अन्ततोगत्वा वैचारिक शक्तिकै विजय निश्चित हुन्छ ।
यसै सिलसिलामा २०६१ सालमा गरिएको भनिएको स्थानीय तहको निर्वाचनमा सबै राजनैतिक बिचारलाई घर भित्र बस्न लगाएर तत्कालीन राजाको सरकारले गराएको निर्वाचनमा सैन्य र राजकीय शक्ति त दरबार सँगै थियो तर जनता राजनैतिक बिचार बोकेका शक्तिसँग थिए शायद त्यो निर्वाचन सकिएको १ वर्षकै हाराहारीमा सैन्य र राजकीय शक्ति पराजित भयो र आज पर्यन्त त्यो शक्ति आफ्नो सान्दर्भिकता प्रस्ट्याउँदै छिमेकीका दैलो र जस्केला चहार्दै हिँडेको जगजाहेर नै छ । त्यसैले शक्तिमा हुनु मात्रै अन्तिम सत्य होइन, शक्तिमा हुनेले पृथक् बिचार समूहलाई कसरी व्यवस्थापन गर्छ त्यसले शक्तिमा हुनेको भोलिको निर्धारण गर्छ । हिजो परिवर्तनको नारा घन्काएर डाँडा पाखा, कान्ला र करेसावारि सजाउने नेपाली कांग्रेसले आफैँ भित्र अङ्कुरित हुँदै गएको परिवर्तनकारी बिचारलाई निमोठ्न लागिपर्छ भने त्यसले नेपाली कांग्रेसलाई कुन दिशातर्फ लैजाला त्यो सोचनीय विषय हो । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन राजाले सेना, प्रहरी, कर्मचारी र राजकीय शक्तिको प्रयोग गरी महाराजगन्जको तालिम केन्द्रभित्र खुम्च्याउन खोजिएकै थियो तर त्यो खुम्च्याइ किन अस्थायी भयो भने तत्कालीन दरबारले यथास्थितिवादको प्रतिनिधित्व गर्थ्यो र देउवाले परिवर्तनकारी बिचारको । राजकीय शक्तिको आडमा सेना र प्रहरी प्रयोग गरेर पत्रपत्रिका र आम सञ्चारका सबै माध्यमहरूमा सेन्सर गरेर केही समय त यथास्थितिवादले शासन गरे तर अन्ततोगत्वा परिवर्तनकारी विचार समूह विजयी भयो ।
देउवालाई तत्कालीन राजाले सेना, प्रहरी, कर्मचारी र राजकीय शक्तिको प्रयोग गरी महाराजगन्जको तालिम केन्द्रभित्र खुम्च्याउन खोजिएकै थियो तर त्यो खुम्च्याइ किन अस्थायी भयो भने तत्कालीन दरबारले यथास्थितिवादको प्रतिनिधित्व गर्थ्यो र देउवाले परिवर्तनकारी बिचारको । राजकीय शक्तिको आडमा सेना र प्रहरी प्रयोग गरेर पत्रपत्रिका र आम सञ्चारका सबै माध्यमहरूमा सेन्सर गरेर केही समय त यथास्थितिवादले शासन गरे तर अन्ततोगत्वा परिवर्तनकारी विचार समूह विजयी भयो ।
आज देशमा एउटा आवाज चर्को रूपमा उठेको छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्ने सन्दर्भमा । पृथ्वीनारायण को हुन कसैलाई बुझाउनु नपर्ला । शासकीय खुराफातभन्दा बाहिर गएर राष्ट्र निर्माणमा लागेका; न्याय, निसाफ, नैतिकता, सदाचार, दूरदर्शिताले भरिपूर्ण ओजस्वी शासक थिए पृथ्वी नारायण शाह । उनलाई सबैले सम्झिन्छन् । सम्मान गर्छन् तर उनकै वंशजले अदूरदर्शी तवरले शासन गर्न खोजेपछि जनता सडकमा ओर्लेर उनको राजकीय शक्ति खोसिदिएको तथ्यलाई समेत हृदयङ्गम गर्नुपर्छ आज नेपाली कांग्रेसको सत्तापक्षले । आफैँबिच विभाजित कांग्रेसले नेपाली मतदाताको मन र मत दुवै जित्न सक्दैन । आफूले गरेको सबै ठिक तर त्यही काम अर्कोले गरेको बेठिक भन्ने सोचले मानिसलाई दुर्योधन वा हिरण्यकशिपु बनाइदिन्छ । पौराणिक समयमा कंस र शिशुपालले पनि राज्य चलाएका थिए, युधिष्ठिर र रामले पनि राज्य चलाएका थिए । आज कलियुगमा पनि रामराज्य वा युधिष्ठिर राजको कुरा हुन्छ तर कंस राज र शिशुपाल राजको कल्पना कसैले गर्न सक्दैन ।
लोकतन्त्रको पहरेदार नेपाली कांग्रेसको मुख्य मालीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्नुभएको छ । फूलबारी सुन्दर देखिन फूलबारीका हरेक कुना काप्चा सफा, मिलेको हुनुपर्छ । ४० प्रतिशत भू-भाग बाँझै छाडेर सुन्दर फुलवारिको कल्पना गर्न सकिँदैन । कि त बाँझो भू-भागलाई फुलवारिको अंग मान्नु भएन कि त बाँझो भूभागलाई समेत समेट्न सक्नुपर्यो समग्र सुन्दरताको लागि । तब मात्रै फूलबारीको अवलोकन गर्ने, फूलबारीको सुन्दरतामा स्वर्गीयताको आभास सिर्जना गर्न सकिन्छ । कांग्रेस कम्युनिस्टहरू फुटेको कारणले नभई आफूभित्रको मेलमिलापको कारण बलियो, जनप्रिय र सशक्त बनेको हो भन्ने सन्देश दिन पनि कांग्रेसका सबै पक्ष न्यायोचित हिसाबले समेटिनु अत्यावश्यक छ र त्यो समेट्ने कार्यको सुरुवात सभापतिज्यूबाटै हुनुपर्छ ।
शक्तिको केन्द्रमा रहेका शक्तिपुञ्जका सल्लाहकार अनेक हुन्छन् । सल्लाहकारहरूका आ-आफ्नै स्वार्थ र प्राथमिकता हुन्छन् । उनीहरूले दिने सल्लाहलाई ग्रहण गर्नुभन्दा पहिले त्यसबाट उत्पन्न हुने सकारात्मक एवम् नकारात्मक परिणामको मूल्याङ्कन सल्लाह लिनेले गर्नुपर्छ । किनकि संयोगवश सल्लाहकारले दिएको सुझाव कार्यान्वयन गर्दा त्यसको नकारात्मक परिणाम आएमा कार्यान्वयन गर्ने नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्छ । हिजो राज्य शक्तिको श्रोत राजा थिए, सल्लाहकारहरूले दिएको गलत सुझावको परिणाम देशमा गणतन्त्र आयो । सल्लाहकारहरूले के गुमाए थाहा छैन तर राजसंस्था आज एकादेशको विषय भएको छ । २०७४ सालको निर्वाचनमा दुई तिहाइको नजिक बहुमत ल्याएर सरकारमा आसीन शक्तिशाली प्रधानमन्त्री केपी ओलीले सल्लाहकारले भनेका कुराहरूको मूल्याङ्कन नगरी सल्लाहकारकै भरमा निर्णय लिँदा केन्द्रीय सरकारको नेतृत्व त गुम्यो नै, यसका अलावा सातवटै प्रदेश सरकारबाट एमाले बहिर्गमन हुन गयो र आसन्न राष्ट्रिय सभाको निर्वाचनमा समेत ठुलो झट्का लाग्ने परिदृश्य विकसित हुँदै गएको यो पङ्क्तिकारले देखेको छ । यहाँ समेत सल्लाहकारले के गुमाए त्यो भन्न सकिन्न तर कुर्सी दाउमा ओलीजीको लाग्यो । तसर्थ राजनीतिमा कुनै बिचारलाई वर्जित गर्न खोज्नुभन्दा बिचारलाई सही स्थान दिएर आफूले पनि जित्ने, अन्य बिचारले पनि जित्ने, लोकतन्त्र र लोकतान्त्रिक शक्तिले पनि जित्ने र मुलुकले पनि जित्ने दूरदर्शी सोच नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले राखेमा सबैको हित हुने र नेपालकै जय हुने कुरा निर्विवाद छ ।